सेनाको ‘एकीकरण पदयात्रा’को टोली धादिङ पुग्यो

पोखरा, २३ पुस ।

नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले शुरु गरेको ‘एकीकरण पदयात्रा’ आज धादिङ पुगेको छ ।

गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट लगेको दीप र झण्डा बोर्लाङ्घाटमा पुगेर धादिङस्थित नेपाली सेनाको देवीदत्त गणलाई हस्तान्तरण गरेको थियो ।

बोर्लाङबाट आज हिँडेको सेनाको टोली बुङ्कोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङ्गा, रानीपौवा, कालोढुङ्गा, खहरे, चरङ्गे पौवा, चरङ्गेमा पुगेर बसेको छ ।

पदयात्रा देवीदत्त गणका प्रमुख सेनानी दिनेश कार्कीले नेतृत्व गरेका थिए । चरङ्गेस्थित शान्तिकालिका आधारभूत विद्यालयमा आएपछि गाउँबासी र जनप्रतिनिधिको टोलीले स्वागत गरेको थियो ।

त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख शम्भु थापा र नेत्रावती डबजोङमा गाउँपालिकाका प्रमुख दुर्गाकुमार शाक्यले सेनाको टोलीलाई स्वागत गरेका थिए ।

पदयात्राको टोलीले बिहीबार कटुञ्जे, पन्ध्रकोषे, थर्पु हुँदै भर्याङ-भुरुङसम्मको यात्रा गरी नुवाकोटमा रहेको जबरजङ्ग गणलाई हस्तान्तरण गर्नेछ । दीप र झण्डासहित काठमाडौंँको पल्टन यही पुस २७ गते पृथ्वीजयन्तीका दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।

गोरखा, धादिङ , नुवाकोट हुँदै काठमाडौंँसम्म उक्त पदमार्गको दूरी २६ कोस छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट र विसं १८२५ मा काठमाडौँ राज्य जितेका थिए । त्यसक्रममा उनी दर्जनौँ पटक गोरखादेखि नुवाकोट हुँदै काठमाडौँसम्म ओहोर-दोहोर गरेको इतिहास छ ।

पदमार्ग, कोट, गण र किल्लाहरु सम्वद्र्धन, संरक्षण तथा सम्वर्द्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रमअन्तर्गत पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने उद्देश्यले पदयात्रा शुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close