कार्कीनेटामा जन्मियो ‘बाघपाइला’, विकृति-विसंगति विरुद्ध खरोरुपमा उत्रने प्रण

पर्वत, २९ मंसिर ।

पर्वतको फलेवास नगरपालिकाको वडा नं. १ कार्कीनेटाबाट बाघपाईला साप्ताहिक पत्रिकाको प्रकाशन शुरु गरिएको छ । ग्रामिण पर्यटन, भौतिक पूर्वाधारको विकाससँगै समाजका विभिन्न क्षेत्रमा हुने विकृति-विसंगतिका विरुद्ध खवरदारी गर्ने पत्रिकाको लक्ष्य छ ।

यसैगरी जनताको सुख, शान्ति र समृद्धिका लागि सक्रिय पत्रकारिता गर्ने उद्देश्य पत्रिकाको रहेको प्रकाशन संस्थाले जनाएको छ ।
फलेवास नगरपालिकाका मेयर पद्मपाणि शर्माले पत्रिकाको विमोचन गरे ।

उक्त अवसरमा मेयर शर्माले पत्रिकाले ग्रामिण भेगमा ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा मघत गर्ने विश्वास व्यक्त गरे । साथै पत्रिकाले स्थानीय क्षेत्रको विकास र समृद्धिका लागि सहयोगी भूमिका निर्वाह गर्दै रचनात्मक आलोचना गर्नुपर्ने खाँचो औंल्याए ।

उनले प्राकृतिक र धार्मिक दृष्टिले निकै महत्व बोकेको बाघपाईला, डहरे देउराली, अन्धाअन्धी लगायतका क्षेत्रमा पर्यटनको विकास गर्ने फलेवास नगरपालिकाको योजना रहेको स्पष्ट पारे ।

वडाध्यक्ष बाबुराम शर्माले सीमित स्रोत साधनका बाबजुूद स्थानीय निकायमा बाटो, खानेपानी लगायतका पूर्वाधारसँगै धार्मिक र पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जुटेको जानकारी दिए । उनले काम गर्नेक्रममा भएका त्रुटी र कमजोरीलाई निर्धक्क भएर सकारात्मक ढंगले देखाइदिन पत्रिकासंग अनुरोध गरे ।

अर्का वडाध्यक्ष गंगानारायण श्रेष्ठले बाघ पत्रिकाले जनपक्षीय ढगले रचनात्मक पत्रकारिता गरेर स्थानीय तह र देशकको गौरव बढाउने काममा हातेमालो गर्न आग्रह गरे । वडाध्यक्ष श्रेष्ठले सत्य, तथ्यमा आधारित समाचारले व्यक्ति, समाज र देश सुधारमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै गलत र पित पत्रकारिताले व्यक्ति, समाज र राष्ट्रलाई धरासायी बनाउनेतर्फ सचेत रहन आग्रह गरे ।

तत्कालिन कार्किनेटा गाविसका पूर्वअध्यक्ष भवदत्त शर्माले बागपाइला क्षेत्र धार्मिक, ऐतिहासिक महत्व बोकेको भए पनि यस क्षेत्रको उचित संरक्षण र विकाससँगै प्रचारप्रसारतर्फ चासो नदिंदा ओझेलमा परेको गुनासो गरे ।

सराङ्कोट साप्ताहिकका प्रधान सम्पादक यदूनाथ बञ्जराले देश र समाजमा भएका विकृति-विसंगति नियन्त्रण गर्दै पारदर्शी कायम गर्न हरेक कार्यक्रम र योजना पारदर्शी हुनुपर्ने बताए ।

रेडियो कास्कीका स्टेशन म्यानेजर कमल बरालले हरेक विकृति र विसंगतिका विरुद्ध निडर भएर कलम चलाउन आग्रह गरे ।

पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक पद्म श्रेष्ठले विकासको प्रशस्त सम्भावना बोकेर पनि ओझेलमा पारिएका क्षेत्रको पहिचान गर्दै विकास र समृद्धिको ढोका खोल्ने पत्रिकाको उद्देश्य रहेको बताए ।

उनले पत्रिकाले हरेक क्षेत्रमा हुने सकारात्मक कामलाई प्रोत्साहन गर्दै जुनसुकै क्षेत्रमा जोसुकैले भए गरेका विकृति विसंगति विरुद्ध खरोरुपमा आवाज बुलन्द गर्दै जनपक्षीय पत्रकारिता गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बालकलाई सहयोग

कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख शर्माले पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक श्रेष्ठलाई नगद ११ हजार रुपैयाँ हस्तान्तरण गरे ।

उक्त रकम ब्रेन ट्यूमर पीडित फलेवास नगरपालिका वडा नं. १ का तीन वर्षका बालक ऋदम शर्माको उपचारका लागि सहयोग गरिएको हो । यसैगरी फनपा १ का इण्डियन आर्मीमा कार्यरत सागर श्रेष्ठ (विपिन) ले नगद पाँच हजार, अनुष्का एण्ड आयुष्मा कस्मेटिक पसलकी अनिता श्रेष्ठले एक हजार रुपैयाँका साथै पत्रिकाको तर्फबाट पाँच हजार रुपैयाँ थप गरिएको बताइन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close