आज शतबीज छर्ने दिन, शतबीज भनेको के हो ?
पोखरा, २८ मंसिर ।
आज बालाचतुर्दशी । पोखराको विन्ध्यवासिनी मन्दिर, घार्मीको हरिहर गुफा, काठमाडौको पशुपतिनाथ लगायत देशभरका शिवालयमा दिवंगत पितृको सम्झनामा शतबीज छरिँदैछ ।
मार्गकृष्ण पक्षको चतुर्दशी अर्थात् बालाचतुर्दशीको बिहान परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्ने गरिन्छ ।
बालाचतुर्दशीमा पाशुपत क्षेत्रको १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छरिन्छ ।
गएराति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन गरी रात बिताएपछि आज विहानै शतविज छरेर दिवगंत आत्माको मुक्तिको कामना गरिन्छ ।
धर्मग्रन्थका अनुसार शतबीजमा सय गेडा धान चढाउने भनिए पनि हिजोआज धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो गरी सप्तबीज छर्ने गरिन्छ ।
शतबीज भनेको के हो ?
नेपालीमा ‘शतम्को’ अर्थ सय र ‘बीज’ को अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ ।
यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन् । यसैगरी शतबीजमा आफ्नो स्थानीय फलफूल पनि मिसाइन्छ । यस अवसरमा नेपालका विभिन्न स्थानबाट आएका भक्तजनहरूको बिहानैदेखि काठमाण्डौको पशुपतिनाथको मन्दिरमा सतबीज छर्न ठूलो भीड लाग्छ ।
आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन १०८ शिवलिङ्गा कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप मन्दिर, किराँतेश्वर मन्दिर आदि ठाउँमा सतबीज छरिन्छ ।
प्रचलन अनुसार मंसिर कृष्ण त्रयोदशीका दिन राति भक्तजनहरूले पशुपतिनाथको मन्दिर वरपर बसी दिवंगत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन र लोक झाँकीका साथै दोहरीगीत गाएर रात बिताउँछन् ।
सुरूमा सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका गणेश नजिकआइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गर्दछन्।