समाचार

माघ १०, २०७७ शनिबार

पोखरा, १० माघ ।

प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज नेपाल बन्द आयोजना गरेको छ । बन्दको प्रभाव पोखरामा आंशिकरुपमा परेको छ ।

भित्रि सडकहरुमा फाट्ट फुट्ट सवारी चलेका छन् । मूल सडक भने प्रायः खाली देखिन्छ । सम्भावित घटना हुन नदिन पोखराका मुख्य चोकहरुमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

पोखराबाट लामोदूरीका कुनै पनि सवारी साधन छुटेका छैनन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले कुनै पनि सवारी साधन नचलाइएको जानकारी दिए ।

यस्तै पोखरामा चल्ने कुनै पनि नगर बसहरु नचलाइएको पोखरा यातायात प्रालिका प्रवन्ध निर्देशक अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए । यस्तै पोखरामा अत्यावश्यक बाहेकका भाडामा ट्याक्सीहरु पनि चलेका छैनन् । भित्रि सडकमा किराना पसल, औषधि पसलबाहेक बाहिरका कुनै पनि पसलहरु खुलेका छैनन् ।

सुरक्षालाई ध्यानमा राख्दै कास्कीमा करिब ७०० सुरक्षाकर्मी खटाइएको कास्की प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । नेपाल प्रहरीलाई सशस्त्र प्रहरीले पनि साथ दिएको उनले बताए ।

नेकपाका पार्टीका तेस्रो वरियताका नेता धर्मेन्द्र बास्तोला ‘कन्चन’ पक्राउ गरेको विरोधमा पार्टीले नेपाल बन्द आह्वान गरेको हो ।

प्रहरीको विशेष ब्यूरोको टोलीले बास्तोलालाई अघिल्लो साता ललितपुरबाट पक्राउ गरेको थियो । कन्चन केन्द्रीय समिति सचिवालय सदस्य हुन् । उनीसँगै ब्युरो सदस्य विवेक र विशाल पनि पक्राउ परेका थिए ।