पत्रकार महासंघकी उपाध्यक्ष भण्डारी पुरस्कृत

पोखरा, २७ मंसिर ।
नेपाल पत्रकार महासंघकी उपाध्यक्ष विमला भण्डारी पुरस्कृत भएकी छन् । उनी मित्र मिलन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी हुन् । पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाले सातौं वार्षिक साधारण सभामा पत्रकार भण्डारीलाई पुरस्कृत गरेको हो ।
पत्रकार भण्डारीलाई पोखरा महानगरपालिकामा सहकारी शाखाका दर्ता अधिकारी अनिल कार्की, संस्थाका अध्यक्ष रमण पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए । पुरस्कारको राशि २५ हजार रुपैयाँ नगद र सम्मानपत्र रहेको छ ।
सम्मानपछि भण्डारीले पत्रकारिताको १९ बर्षे यात्रामा कहिल्यै पनि पुरस्कारका लागि काम नगरेको बताइन् । बेला मौकामा समाजका अन्य क्षेत्रले कामको मूल्याङ्कन गरेर सम्मान गर्दा निकै हौसला बढ्ने र काम गर्न थप उत्साह बढ्ने स्पष्ट पारिन् ।
उक्त अवसरमा सहकारीले सामाजिक व्यक्तित्व सम्मानबाट उपभोक्ता मञ्च गण्डकीका संयोजक कपिलनाथ कोईरालालाई सम्मान गरेको छ । यस्तै संस्थाका उत्कृष्ट कर्मचारी कुलदीप पौडेल सम्मानित भए ।
यसैगरी सहकारीले नेपाल रेडक्रस सोसाईटी कास्कीले बनाउन लागेको अत्याधुनिक रक्तसंचार केन्द्रका लागि एक लाख ११ हजार १११ नगद सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष रमण पौडेलले नेपाल रेडक्रम सोसाईटी कास्कीका उपसभापति डण्डराज पौडेललाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
कार्यक्रममा प्रमुख अतिथि कार्कीले मित्र मिलन सहकारीले अत्यन्तै प्रभवकारी ढंगले प्रगति विवरण पेश गरेको भन्दै प्रशंसा गरे । कृषिको कामलाई निरन्तरता दिन उनले आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, उपभोक्ता मञ्च गण्डकीका संयोजक कपिलनाथ कोईराला, नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति डण्डराज पौडेल, छिमेकी सहकारीको तर्फबाट नारायण पहारी, संस्थाका कानुनी सल्लाहकार जनकल्याण पराजुली लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष रमण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारी अधिकृत किरण अधिकारीले स्वागत, सचिव कुशल पौडेलले सञ्चालन र संगीता रेग्मी सुवेदीले सहकारी सात सिद्धान्त वाचन गरेकी थिइन् ।