लायन्सद्धारा पिएन क्याम्पसको नेपाली विभागलाई फर्निचर सहयोग

पोखरा, २७ पुस ।
पोखराको सबैभन्दा पूरानो र विद्यार्थीको हिसावले देशकै ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पस अन्तर्गतको नेपाली विभागलाई फर्निचर प्रदान गरिएको छ । सामाजिक क्षेत्रमा काम गर्ने विश्वकै ठूलो संस्था लायन्स क्लब इन्टरनेशनल ३२५ बी १ अन्तर्गतको जोन १११ ले सोमबार फर्निचर हस्तान्तरण गरेको हो ।
फर्निचर सामग्रीमा पुस्तकालयमा पुस्तक राख्न मिल्ने नौ वटा फलामको र्याक रहेको छ । उक्त र्याकमा नेपाली विभाग अन्तर्गतको पुस्तकालयमा रहेका पुस्तकहरु राखिनेछ । सहयोग र्याकको लागत ७३ हजार रुपैयाँ रहेको लायन्सकी जोन चियर पर्सन हीरा भट्टराईले जानकारी दिइन् ।
जोन चियर पर्सन भट्टराईको पहलमा जोन अन्तर्गत रहेका चार वटा लायन्स क्लव लायन्स क्लब अफ पोखरा गण्डकी, पिस टाउन, गुडवील र कालीगण्डकीको आर्थिक सहयोगमा र्याक हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोकाले क्याम्पसमा र्याक सहयोग गरेर जोन १११ र सम्बन्ध लायन्स क्लबले सह्रानीय कार्य गरेको बताए ।
उनले देशकै ठूलो क्याम्पसमा लायन्स जोडिन पाउनु आफैमा सुखद् शुरुआत भएको भन्दै भोलिका दिनमा पनि सहकार्य गरेर अघि बढ्न सकिने स्पष्ट पारे ।
गभर्नर रोकाले क्याम्पसमा विभिन्न सहयोगका साथै रक्तदान र वृक्षरोपण जस्ता महत्वपूर्ण काम गर्न सकिने भन्दै यसका लागि अग्रसर रहन जोन अन्तर्गतका क्लवहरुलाई निर्देशन दिए ।
पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले क्याम्पसको विकास लायन्ससंग सहकार्य गरेर अघि बढ्न सकिने बताए ।

पृथ्वीनारायण क्याम्पस नेपाली विभागका विभागीय प्रमुख प्रा. डा. कुशुमाकर न्यौपानले लायन्सको सहयोग अत्यन्तै महत्वपूर्ण भएको भन्दै यो सहयोग पूर्णरुपमा उपयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा लायन्सका पिआरो इन चिफ रामबहादुर बसेल, कलस्टर प्रमुख शारदा शर्मा लगायतले लायन्सको गतिविधिबारे चर्चा गरेका थिए ।
जोन १११ का चियर पर्सन हीरा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव अफ गण्डकीका अध्यक्ष गायत्री पराजुलीले स्वागत, गुडवील लायन्सका अध्यक्ष निराजन थापाले धन्यवाद ज्ञापन, गुडवीलका पूर्वअध्यक्ष भीमप्रसाद पौडेलले कार्यक्रम सञ्चालन, पिस टाउन लायन्सका अध्यक्ष सरला तिमिल्सिनाले क्लवहरुको बारेमा जानकारी र कालीगण्डकी लायन्सकी अध्यक्ष मीरा पौडेलले ध्वजाको अविवादन सुनाएकी थिइन् ।