नेत्रहीन संघले विश्व ब्रेल दिवस मनायो

पोखरा, २१ पुस ।

बे्रल लिपिका आविष्कारक लुइस ब्रेलको २१२ औं जन्मजयन्ती तथा विश्व ब्रेल दिवसको अवसरमा विभिन्न कार्यक्रम भएको छ । जनवरी २१ का दिन विश्व ब्रेल दिवस मनाइँदै आएको छ ।

सन् १८०९ जनवरी ४ मा फ्रान्सको कुप्रवेमा दृष्टियुक्त जन्मिई तीन वर्षमा दृष्टिशक्ति गुमाएका लुइस ब्रेलले ब्रेल लिपिको आविष्कार गरेका थिए । नेपालमा जङ्गबहादुर बोगटीले विक्रम संवत २०१८ सालमा नेपालमा ब्रेल भित्र्याएका थिए ।

यस अवसरमा कास्की नेत्रहीन संघले स्वस्थ्य सचेतना, माक्स, सेनिटाइजर तथा बे्रल सामग्रीहरु स्लेट, स्टाइलस, ब्रेल पेपर, दृष्टिविहीनमैत्री क्रिकेट ब्याट र बल र लुँडो वितरण गर्यो ।

हेल्पिङ हेन्डसको सहयोगमा पोखराको अमरसिंह मावि. दृष्टिविहीन शाखा र कुँडहर आधारभूत विद्यालय दृष्टिविहीन शाखामा सचेतना तथा सामग्री वितरण गरिएको हो । यस कार्यक्रमबाट १०० जना दृष्टिविहीनहरु लाभान्वित भएको दावी गरिएको छ ।

कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले दृष्टिविहीनहरुको पहुँच र जीवन यापनका लागि कास्की नेत्रहीन संघ र महानगरपालिका बीचको सेतु भई अनुभूति गर्नलायक परिवर्तन गर्न चाहेको बताए ।

संघका अध्यक्ष श्रीकान्त सापकोटाले ब्रेलको व्यापक विकास र दृष्टिविहीनहरुको मातृलिपिका रुपमा रहेको ब्रेलको मान्यता र प्रयोगमा थप पहल गर्नुपर्नेमा जोड दिए ।

संघका राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खुमराज शर्माले दृष्टिविहीनहरुको विचार अभिव्यक्ति र स्वतन्त्रताको प्रतीक ब्रेल लिपि र दृष्टिविहीनमैत्री प्रविधि विकासमा दिलो ज्यान दिएर लाग्ने बताए ।

संघका अध्यक्ष सापकोटाको अध्यक्षता भएको कार्यक्रममा संघका सहसचिव सुनीता ज्ञवाली, श्रवण दृष्टिविहीन पुष्पराज रिमाल, हेल्पिङ हेन्डसका अध्यक्ष दिनेश कुमार थापालगायतले बोलेका थिए ।

कार्यक्रममा गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान आकस्मिक विभागका इन्चार्ज डा. अङ्गना पराजुली र मेडिकल अफिसर सुदेसना अधिकारीले दृष्टिविहीनहरुका लागि माक्स लगाउने तथा हात धुने तरिका र कोभिडबाट बच्ने उपायका बारे प्रशिक्षण दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close