प्रदेश नं. १ ले जित्यो प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि

दाङ, १९ पुस ।

विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गर्दै प्रदेश नं. १ ले प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ । दाङको लमही क्रिकेट मैदानमा भएको फाइनलमा प्रदेश नं. १ ले दिएको १०६ रनको लक्ष्य पछ्याउने क्रममा एपीएफले सात विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो ।

लक्ष्य पछ्याउने क्रममा एपीएफले खराब सुरुवात गरेको थियो । ३२ रनको योगफलमा पाँच शीर्ष ब्याटस्म्यान पेभेलियन फर्किसकेका थिए । ज्योति पाण्डे १४, राजमती ऐरी ०, इन्दु बर्मा सात, सरिता मगर छ तथा सोनु खड्का एक रन बनाएर पेभेलियन फर्किए ।

दबाबमा पाँचौ नम्बरमा ब्याटिंगमा आएकी ममता चौधरी र सातौँ नम्बरमा आएकी करुणा भण्डारीले अर्धशतकीय साझेदारी गर्दै टिमलाई जितको आशा दिलाए ।

जितका लागि अन्तिम ओभरमा १३ रन आवश्यक रहंदा पहिलो बलमा दुई रन बनाएपछि ममता चौधरी रन आउट हुँदै पेभेलियन फर्किईन् । ममता र करुणा बीच ६४ रनको साझेदारी टुट्यो । संगीताले कप्तान सिता राना मगरलाई पाँचौ बलमा स्टम्प आउट गरिन् । ओभरमा मात्र छ रन खर्चिएपछि एपीएफ छ रनले पराजित हुन पुग्यो ।

ममता चौधरीले ३४ तथा करुणा भण्डारीले अवीजित २६ रन बनाएता पनि टिमलाई जितसम्म पुर्याउन सकेनन् । प्रदेश नं. १ को बलिंगमा कप्तान रुबिना क्षेत्री र अलिशा खडीयाले समान दुई विकेट तथा संगीता राई ले १ विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिंग रोजेको प्रदेश नं. १ ले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १०५ रन बनाएको थियो । ब्याटिंगमा ओपनर अप्सरी बेगमले सर्वाधिक ३५, काजल श्रेष्ठले अविजित २९ तथा कप्तान रुबिना क्षेत्रीले १८ रन योगदान दिए । यस्तै अप्सरी बेगम र कप्तान रुबिना क्षेत्रीले ५८ रनको ओपनिंग साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए ।

एपीएफको बलिंगमा कप्तान सिता राना मगरले सर्वाधिक तीन विकेट हात पारिन् भने करुणा भण्डारीले एक विकेट हात पारिन् ।
उपाधिसहित प्रदेश नं. १ ले पाँच लाख रुपैयाँ र उपविजेता एपीएफले तीन लाख रुपैयाँ हात पार्यो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close