कास्कीका दुई क्रसर उद्योग बन्द, कुन-कुन हुन् ?

सुरेशराज अधिकारी

पोखरा, २७ मंसिर ।

कास्कीमा मापदण्ड विपरीत सञ्चालन भएका दुई क्रसर बन्द गरिएको छ । पोखरा महानगरपालिका वडा नं. ३२ मा सञ्चालित स्ट्रोङ गग्रिगेट एण्ड ब्लक उद्योग र माछापुच्छ्रे गाउँपालिका वडा नं. २ मा निर्माण हुँदै गरेको फेउसरा बराहा क्रसर उद्योग बन्द गरिएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालका अनुसार मापदण्ड विपरीत सञ्चालन भएका यी दुई उद्योगलाई बन्द गर्न निर्देशन दिइएको छ ।

अनुगमन टोलीले जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिकालाई उद्योग बन्द गराउन पत्रचार गरेको हो । क्रसर उद्योगहरू दर्ता र कारबाही लगायतको सबै प्रक्रिया गर्ने अधिकार स्थानीय निकायलाई छ ।

मापदण्ड विपरीत सञ्चालन भएर पनि अनुगमन टोलीको निर्देशन नमानेपछि बन्द गराउन निर्देशन दिइएको बताइन्छ ।

जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्री नेतृत्वको अनुगमन टोलीले मापदण्ड विपरीतका उद्योगलाई सबै कागजपत्र लिएर प्रशासनमा उपस्थित हुन निर्देशन दिएको थियो ।

अनुगमनका क्रममा कास्कीमा सञ्चालित सबै क्रसर उद्योग मापदण्ड विपरीत पाइएको थियो । राष्ट्रिय गैरवको आयोजनाका लागि सञ्चालित र दर्ता प्रक्रियामा रहेका उद्योगलाई भने प्रशासनले रोकेको छैन । टोलीले मंसिर १२ गतेदेखि कास्की जिल्लामा विभिन्न चरणमा दर्जन क्रसर उद्योगमा अनुगमन गरिएको थियो ।

क्रसर अनुगमन पश्चात् पुनः क्रसरको नयाँ कार्याविधि ल्याउने बारे छलफल चलिरहेका कारण अन्य क्रसर उद्योगलाई कावाहीमा प्रक्रिया अघि नबढाइएको प्रजिअ ढकालले जानकारी दिए ।

यता, क्रसर व्यवसायीले पनि राज्यले एकोहोरो मापदण्ड बनाएको भन्दै मापदण्ड सच्याउन माग गरिरहेका छन् । उद्योग संचालन गर्दा मापदण्ड नै नभएको र अहिले एकतर्फ मापदण्ड ल्याएर समस्यामा पार्ने काममात्र भएको उद्योगीहरुले गुनासो गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close