अवैध क्रसर उद्योगमा जिल्ला प्रशासन र प्रहरी कै मिलेमतो !

सुरेशराज अधिकारी
पोखरा, २५ मंसिर ।
पर्वत जलजला गाउँपालिका अध्यक्ष यमबहादुर मल्ल आफूले बन्द गरेका क्रसर उद्योग पनि प्रहरी र प्रशासनसंगको मिलेमतोमा सञ्चालन भएको बताएका छन् ।
गण्डकी भ्वाइससंग कुरा गर्दै उनले आफूले बन्द गराएको उद्योग पनि सञ्चालन भइरहेको बताए । उनले अवैध क्रसर उद्योग आफूहरुले बन्द गराए पनि आफूहरुको निर्देशन प्रहरी र प्रशासनले नमानेको स्पष्ट पारे । उनले भने, ‘हामीलाई अवैध क्रसर बन्द गराउन केही अप्ठ्यारो छैन । तर हामीसंग सुरक्षा छैन । सुरक्षाकर्मी र प्रशासनले हामीले भनेको मान्दैनन् ।’
बागेश्वरी ब्लक उद्योग क्रसर उद्योगको नाममा संचालन गरेको भन्दै उनले त्यसलाई केही समय अघि बन्द गरिएको भए पनि प्रशासनसंग मिलेर घरिघरी सञ्चालन गर्ने काम भइरहेको बताए ।
घरेलु कार्यालयमा दर्ता नभई आइई लगायतका मापदण्ड पनि पूरा नभएका क्रसर उद्योग संचालनमा भइरहेको र यसमा प्रशासनकै मिलेमतो रहेको अध्यक्ष मल्लले स्पष्ट पारे ।
जलजला गाउँपालिकामा रहेका अवैध ब्लक उद्योग र क्रसर उद्योगहरु आफूहरुले बन्द गराएको उनले जानकारी दिए ।
तर मध्यपहाडी लोकमार्ग निर्माणका लगि संचालनमा ल्याएको क्रसर उद्योगमार्फत आयोजना भन्दा बाहिर पनि सामान बेचिएको उनले दावी गरे । यस विषयमा प्रहरी र प्रशासनलाई खबर गर्दा यस्ता गतिविधि नरोकिएको उनले दुःखेसो पोखे ।
यता, जिल्ला प्रशासन कार्यालय पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले राष्ट्रिय गौरवको आयोजनाका लागि क्रसर सञ्चालन गरिएको तर अन्यत्र कतै सामान बेच्ने काम नभएको दावी गरे ।
प्रजिअ रेग्मीले पछिल्लो समयमा गृहमन्त्रालयले पत्र काटे अनुसार नै सबै क्रसरको अनुगमन गरेर मन्त्रालयमा फाइल पठाइएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख विश्वराज अधिकारीले अवैध काम गरेको भेटिएमा कावाही गर्ने बताए । उनले जिल्ला भित्र अवैध क्रसर उद्योग नभेटिएको दावी गरे ।