ओलीले संसद विघटन गरेर ज्ञानेन्द्र शाहको झझल्को दिए : प्रमुख सचेतक गुरुङ

पोखरा, १३ पुस ।

नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर ज्ञानेन्द्र शाहको झझल्को दिएको बताएका छन् ।

उनले संविधान च्यातेर संकटकाल लगाउने खेलमा प्रधानमन्त्री ओली लागेको भन्दै यस्ता गतिविधिलाई कदापि सफल हुन नदिने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश समितिद्धारा आयोजित पत्रकार सम्मेलनामा नेता गुरुङले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले संसद विघटन गरेको बताए ।

‘राजनीतिमा विभिन्न विकल्प हुँदा हुँदै पनि प्रधानमन्त्री ओलीले हठात संसद विघटन गर्ने निर्णय लिनुभयो । उहाँलाई यो संसद विघटन गर्ने अधिकार छैन’, उनले भने ।

उनले संसद पुनःस्थापनाबाहेक अन्य कुनै विकल्प नभएको भन्दै यसमा सर्वोच्च अदालत संविधानको मर्म र भावना विपरीत जान नसक्ने दावी गरे ।

नेपालमा विदेशी चलखेल र हस्तक्षेप बढिरहेको भन्दै आएका नेता गुरुङले चिनिया नेताहरुको नेपाल आगमनले भने नेपालको राष्ट्रिय स्वाधीनता थप सुदृढ हुने प्रतिक्रिया दिए ।

नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदमा समेत स्पष्ट बहुमत हुँदा हुँदै प्रधानमन्त्रीले हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गर्नु विडम्वना भएको बताए ।

उनले आफ्नो पार्टी अझै पनि संविधानको रक्षा गर्न र जनता सामू गरेका वाचाहरु पूरा गर्न प्रतिवद्धता रहेको स्पष्ट पारे ।
पत्रकार सम्मेलन पार्टीका गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेको अध्यक्षतामा भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close