वैवाहिक वार्षिकोत्सवमा युवा व्यवसायी पनेरु दम्पत्तिले गरे रक्तदान
पोखरा, २७ मंसिर ।
आफ्नो वैवाहिक वार्षिकोत्सवमा पोखराका एक युवा व्यवसायी दम्पत्तिले रक्तदान गरेका छन् । १३औं वैवाहिक वार्षिकोत्सवको अवसरमा यी दम्पत्तिले रक्तदान गरेका हुन् ।
युवा व्यवसायी डिल्लीराम पनेरु र उनकी धर्मपत्नी कोपिला पोखरेलले तेस्रो पटक रक्तदान गरे । १३औं वर्ष अघि विवाह गरेका पनेरु दम्पत्तिले वैवाहिक वार्षिकोत्सको अवसरमा प्रत्येक वर्ष रक्तदान गर्दै आएका छन् । डिल्लीराम पनेरुले १०औं पटक रक्तदान गरिसकेका छन् । दम्पत्ति नै संगै भएर रक्तदान गरेको यो तेस्रो पटक हो ।
कोरोना महामारीमा रगतको अभाव हुन नदिन लायन्स क्लब अफ पोखरा युनियन टाउनले आयोजना गरेको रक्तदान कार्यक्रममा उनीहरुले रक्तदान गरेका हुन् ।
डिल्लीराम पनेरु मदिरा व्यवसायी समिति कास्कीका महासचिव समेत हुन् । धेरैले जन्मदिनमा रक्तदान गर्ने गरेको भए पनि आफूहरुले नयाँ सन्देश प्रवाह गर्न र रक्तदानको सचेतना फैलाउन वैवाहिक वार्षिकोत्सवमा रक्तदान गरेको पनेरुले बताए ।