सांसद मनाङे पत्नीको बयान, ‘सम्बन्धविच्छेद दिएनन्, गाडीमा मूर्ती हालेर पठाइदिए’

पोखरा, ३ पुस ।
चोरी मुद्धाको अभियोगमा पक्राउ परेकी दिछेन डोल्मा लामाले जिल्ला अदालत कास्कीमा इन्कारी वयान दिएकी छन् । उनी गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे पत्नी हुन् । उनले चोरी गरेको भनिएको सामग्री नौ वर्ष अघि काठमाडौं बस्दा आँफैले किनेको बयान दिएकी छन् ।
यस्तै, मंसिर ९ गते प्रहरीले आफू बस्दै आएको माइतीघरको खानतलासी गरी आफैले किनेको तीन वटा मूर्ती बरामद गरेर पक्राउ गरेपछि चाँदीको अम्खोरा पनि चोरेको भनेर प्रहरीमा उजुरी परेको थाहा पाएकी बताएकी छन् ।
पछिल्लो समय पतिसँग सम्बन्ध राम्रो नरहेको र आफूले सम्बन्ध विच्छेद माग्दा मनाङेले नमानेको उनको बयान छ । उनले जाहेरी अनुसारका सामग्री चोरी नगरेको तर श्रीमानले नै गाडीमा हालेर पठाइदिएको बताएकी छन् ।
लामाविरुद्ध गत मंसिर ९ गते मनाङेका स्वकीय सचिव रोनित गुरुङले चोरी मुद्धामा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दरखास्त दिएका थिए । सोही जाहेरीका आधारमा हेटौंडास्थित माइतीमा रहेकी दिछेनलाई त्यहाँको प्रहरीले पक्राउ गरी कास्की प्रहरीलाई हस्तान्तरण गरेको थियो ।
असोज २१ गते आफू काठमाडौं गएको र त्यसपछि माइती जाँदा श्रीमान रिसाएको उनले बताएकी छन् । ‘मलाई छालासम्बन्धी रोग लागेको कारण म उपचार गराउन भनि असोज २१ गते काठमाडौं गएको हुँ । आफन्तको घरमा ८/९ दिन बसेर उपचार गराएपछि माइतिमा वृद्ध आमा हुनुभएकोले आमा समेतको आफन्तलाई भेट्न जान्छु भनि असोज ३० गते मकवानपुरस्थित माइतीघरमा गएको हुँ । म माइती गएको पतिले राम्रो मान्नुहुँदैनथ्यो’, उनले वयानमा भनेकी छन् ।
‘मनाङेले चाहिँ रिसाएर तिमी आमा-छोरा अब मेरो घरमा नआउनू, त्यहीँ, बस, म तिमीहरुको सबै सामान पठाइदिन्छु भनि कात्तिक ७ गते राति म र मेरो छोराको सबै लत्ता कपडासहित मैले पूजा गर्ने गरको तीन वटा भगवानको मूर्तीसमेत राखेर बोलेरो गाडीमा छ, सात जना मानिस लगाएर पठाइदिनुभएको रहेछ । त्यसैले मैले सामान मिलाएर राख्नुको साथै मूर्तीहरु माइतीघरको पूजा कोठामा राखी पूजा गर्दै गरेको अवस्थामा मंसिर ९ गते प्रहरी आएर खानतलासी गरी उल्लेखित तीन थान मूर्ती बरामद गरेर मलाई पक्राउ गरेपछि मात्र उल्लेखित लगायत चाँदीको अम्खोरा रोनित गुरुङको कोठाबाट मैले चोरी गरेर लिएको भनि म विरुद्ध प्रहरीमा उजुरी परेको भन्ने थाहा पाएको हुँ’, उनले बताएकी छन् ।
सांसद मनाङेको प्रतिक्रिया यस्तो…
सांसद मनाङेले भने स्वकीय सचिवको कोठाबाट अम्खोरा, चाँदीको सातवटा अम्खोरा र बहुमूल्य धातुको बुद्ध, रिम्पोछे र लाक्पा चिनिसेको पाँच थान मूर्ती चोरी गरेको थाहा पाएको बताएका छन् । स्मरण रहोस्, श्रीमतीविरुद्ध जाहेरी परेपछि मनाङेले आफूले नै श्रीमतीलाई पक्राएको बताएका थिए ।
सामाजिक सञ्जालमार्फत उनले भनेका थिए, डेढ महिनाबाट हामी अलग थियौं, बिचमा श्रीमतीले कसैको चोरी गरी बदमासी गरेको थाहा पाएपछि मैले कास्की जिल्ला प्रशासनलाई कारबाही गर्न माग गरी अहिले पक्राउ गरेको हो ।
आफू सांसद भएता पनि परिवारका जोसुकैले बदमासी गरेपछि कडाभन्दा कडा कारवाही गर्नुपर्ने उनको माग छ । मनाङे पत्नी लामाले वयानमा भने अनुसार मूर्ती गाडीमा हालेर पठाएको कुरा उनले इन्कार गरेका छन् ।
धरौटीमा छाड्न आदेश
थुनछेक वहसपछि जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराइको इजलासले शुक्रबार नै उनलाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।
‘अदालतका शाखा अधिकृत नीलप्रसाद पनेरुका अनुसार फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ विद्यमानता देखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई नीजबाट ५० हजार रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक ग्यारेण्टी लिई तारेखमा राख्नू’, भन्ने आदेश भएको छ ।