भीड रोक्न पानीको फोहोरा फाल्ने गाडी पोखरामा, लागत छ करोड

पोखरा, १७ पुस ।
सामान्यतया भीड नियन्त्रण गर्न प्रहरीले अहिलेसम्म लाठी, ढाला प्रयोग गर्दै आईरहेको छ । अब भिड नियन्त्रणका लागि पानीको फोहोरा प्रयोग गरिने भएको छ ।
लाठी ढाला भन्दा पानीको फोहोरा प्रयोग गरेर भीड नियन्त्रण गर्न सजिलो हुने भएका कारण फोहोरा ल्याइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । भीड नियन्त्रणमा वैज्ञानिक विधि प्रयोग गर्नका लागि फोहोरा प्रयोग गर्न लागिएको रेग्मीले बताए ।
लाठी चार्ज गर्दा, मानिसलाई नियन्त्रणमा लिंदा मानिस घाईते हुने सम्भावना बढी हुने पानीको फोहोराले छिटो हुल तितरवितर हुने, मानिसहरू घाइते हुने सम्भावना कम हुने रेग्मीको विश्वास छ ।
यता, प्रहरी प्रधान कार्यालयबाट पोखरा ल्याइएको गाडीसहितको उक्त फोहोरा हान्ने मेशिनको मूल्य करिब छ करोड पर्ने रेग्मीले जानकारी दिए । उक्त मेसिनमा सात हजार चार सय लिटर पानी अट्ने क्षमता छ ।
मान्यतया दुई लेनको बाटोमा उक्त गाडी सजिलै गुडाउन सकिन्छ । अहिले प्रदेश प्रहरी कार्यालयमा उक्त मेसिन प्रयोग गर्नका लागि पाँच जना प्रहरीको छुट्टै टिम बनाइएको छ ।