गण्डकी प्रदेशको विशेष अधिवेशन आजदेखि, अविश्वासको प्रस्ताव आउला ?

पोखरा, २१ पुस ।

गण्डकी प्रदेशको विशेष अधिवेशन आज सुरु हुँदै छ । दिउँसो १ बजे विशेष अधिवेशन सुरु हुने भएको हो । प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रस र जनता समाजवादी पार्टीले माग गरेपछि विशेष अधिवेशन आह्वान गरिएको हो । पहिलोपटक बोलाइएको बैठकमा जनसरोकारका विषयमा छलफल हुने जानकारी प्राप्त भएको छ ।

संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशससभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार नेपाली कांग्रेसका १५ र जसपाका दुई सांसदले विशेष अधिवेशन माग गर्दै निवेदन दिएका थिए । जसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले पुस २१ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन् ।

गण्डकी प्रदेश सरकारमा ६० जना सांसद छन् । जसमध्ये सभामुख बाहेक ३९ जना नेकपाका छन् । नेकपाका पनि ओली पक्षका २७ र प्रचण्ड-माधव पक्षका १२ जना छन् । नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जसपाका २ जना सदस्य छन् ।

विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव आउने चर्चा चले पनि अझै निर्क्यौल हुन सकेको छैन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनसंगै गण्डकीमा पनि मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव आउने चर्चा छ । यसमा प्रतिपक्षी नेपाली कांग्रेस मौन बसेपछि र जनमोर्चाका सांसदले मुख्यमन्त्रीकै साथ नछाडेपछि यो चर्चा सेलाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले मुख्यमन्त्री समेत रहेका गुरुङलाई प्रदेश इन्चार्जबाट हटाउने निर्णय गरिसकेको छ ।

मुख्यमन्त्री गुरुङले भने आफ्नो क्याविनेटका दुई मन्त्री वर्खास्त गर्न लागेको चर्चा चलेको छ । उनले आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरलाई हटाउने हटाउने तायरी गरेको बताइएको छ । मुख्यमन्त्री गुरुङले मिलेर जानुपर्छ भनिरहेका बेला केन्द्रको दवावमा मन्त्रीहरु ह्टाउन लागेको बुझिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close