युवाहरुको दावी, ‘गाँजा लागुऔषध होइन, जडिबुटी हो’

पोखरा, १२ पुस ।
गाँजाको कानूनी अवरोध हटाउन माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ । उच्च अदालत पोखरादेखि शुरु भएको र्याली जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगेर पुनः उच्च अदालतमै आएर टुंगिएको थियो ।
र्यालीमा सहभागीले गाँजा चुरोट भन्दा हानिकारक छैन, गाँजाको कारण जेल चलान गरिएका ९ हजार नेपालीलाई तुरुन्त रिहाइ गर, हिमाल पहाड तराई समृद्ध नेपाल गाँजा फलाई, गाँजा लागुऔषध होइन, जडिबुटी हो लगायतका नारा लेखिएका पम्पलेट बोकेका थिए ।
सामाजिक संजाल फेसबुकबाट जोडिएका समूहबाट र्याली आयोजना गरिएको र्यालीका संयोजक रिगेन्द्र गिरीले बताए ।
गाँजालाई लागुऔषध भन्दा पनि जडिबुटीको रुपमा प्रयोग गर्नुपर्ने सहभागीको माग थियो ।