घार्मीको ओमकारेश्वरमा शतबीज छर्नेको घुइँचो

घार्मी, २८ मंसिर ।

पोखराको धार्मिक तथा पर्यटकीय क्षेत्र घार्मीको ओमकारेश्वर महादेव मन्दिर परिसरमा शतबीज छरिएको छ । वालाचतुर्दशीको अवसरमा ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै शतबीज छर्ने कार्यक्रम आयोजना गरेको थियो ।

स्थानीय, अर्मला, पुरञ्चौर, सार्दीखोला, हेम्जा, हरिपाउँ, कुरेचौर र पोखराका विभिन्न क्षेत्रबाट पुगेका श्रद्धालु भक्तजनले आफ्ना दिवंगत पितृको सम्झनासहित भगवान शिवको आराधना गरी शतबीज छरेका थिए ।

स्थानीय सीता पौडेलको घरबाट भजन कीर्तनसहित फूलको डोली मन्दिर परिसरमा ल्याएपछि डोली सँगसँगै शतबीज छर्नेको घुइँचो लागेको थियो ।

साँझसम्म पनि मन्दिरमा पूजा गर्ने र शतबीज छर्न भक्तजन पुगेकोे समितिका अध्यक्ष टीकाराम पौडेलले बताए ।

कोरोना महामारीका कारण अघिल्ला वर्षहरुमा जस्तो तामझाम नगरिएको समितिले जनाएको छ ।

स्थानीय भजन मण्डलीले साँझसम्म भजन कीर्तन गरेका थिए । शतबीज छर्न पुगेकाहरुले त्यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमश्रृंखलासहित पोखराको समेत दृश्यावलोकन गरेका थिए ।

त्यस क्षेत्रमा पुगेका भक्तजनहरुले घार्मीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सुझावसमेत दिएका छन् ।

घार्मीमा पछिल्ला दिनमा दृश्य अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु पुग्ने गर्दछन् । बालाचतुर्दशी, र शिवरात्रीमा यसक्षेत्रमा धार्मिक मेला लाग्दै आएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close