समाचार

माघ ७, २०७७ बुधबार

पोखरा, ७ माघ ।

पोखराको रानीपौवास्थित ग्लोवल कलिजियटको रजतजयन्ती समारोह बुधबार सम्पन्न भएको छ । गतवर्ष शुरु भएको रजतजयन्ती एक वर्षभरि विविध कार्यक्रम गर्दै यसवर्ष समापन गरिएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको शिक्षा नीति समयसापेक्ष परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापाले वर्तमान शिक्षा नीति समग्रमा राम्रो भए पनि केही न केही सुधारको आवश्यकता देखिएकाले यसतर्फ सम्बन्धित क्षेत्र र निकायको ध्यान जान आवश्यक रहेको बताए ।

उनले विद्यार्थीहरुलाई अन्य विषयसंगसंगै सामाजिक विज्ञान पनि सिकाउन आवश्यक रहेको स्पष्ट पारे । कुनै पनि विद्यार्थीले आफ्नो जन्मस्थान, आफूले अध्ययन गरेको विद्यालय र आफ्ना गुरुलाई भुल्न नहुने उनले बताए ।



पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले सामुदायिक विद्यालयहरुको स्तरोन्नतिका साथै गुणस्तरीय शिक्षाका लागि सबैले ध्यान दिनुपर्ने खाँचो औंल्याए ।

हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्माले नेपालका सामुदायिक विद्यालयहरु समाजले खोजेको शिक्षा दिन असक्षम रहेको बताए ।
प्याव्सन कास्कीका अध्यक्ष प्रेम शर्माले शिक्षा क्षेत्रमा जे काम भए पनि विद्यार्थी केन्द्रित हुनुपर्नेमा जोड दिए ।

शिक्षाविद् डा. कृष्ण केसीले नीतिविहीन राजनीतिले शिक्षा क्षेत्र प्रभावित बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले समयले माग गरे बमोजिम को शिक्षा नीति बनाउन आवश्यक रहेको स्पष्ट पारे ।

अर्का शिक्षाविद् डा. अनिल सुवेदीले परम्परागत शिक्षा नीतिले अबको समाज अघि बढ्न नसक्ने भन्दै शिक्षा नीति परिवर्तन गर्न आवश्यक रहेको बताए ।

ग्लोवल कलिजियटका प्राचार्य बाबुराम पन्तले अहिलेको शिक्षा नीतिले आफूहरुको गतिलाई समस्या पारेको बताए । उत्कृष्ट विद्यालयको नमुना प्रस्तुत गर्दै प्राचार्य पन्तले विद्यालयको सबैभन्दा महत्वपूर्ण खम्वा शिक्षक हो भन्ने बुझ्नुपर्नेमा जोड दिए ।

शिक्षाविद् तथा विद्यालयका पूर्व प्राचार्य हरिनारायण उपाध्यायले अबको शिक्षा प्रविधिपूर्ण र प्रयोगात्मक हुनुपर्ने भन्दै यसका लागि सरकार र सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको बताए ।

कार्यक्रममा विद्यालयका अभिभावक गणेश थापा, पूर्व शिक्षक आकाश लामिछाने, पूर्व विद्यार्थी ई.निरज खड्का, विद्यार्थी आयुष्मा भण्डारी लगायतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पद्यराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपप्राचार्य वेदप्रसाद शर्मा, सञ्चालन शिक्षकद्धय नेपाल प्रकाश अधिकारी र वसन्ती वस्नेत र सरस्वती वन्दना पूर्व विद्यार्थी रीतु लामाले प्रस्तुत गरेकी थिइन् ।

उक्त अवसरमा पूर्व कर्मचारीद्धय राधिका थापा र दिलबहादुर खड्का, शिक्षक विनोद अधिकारी, पूर्व विद्यार्थी रीतु लामा, शिक्षक डा. नगेन्द्रबहादुर भण्डारी, पूर्व प्राचार्य हरिनारायण उपाध्यायलाई सम्मान गरिएको थियो ।

[caption id="attachment_12748" align="alignnone" width="780"] विद्यालय प्रांगणमा निर्माण गरिएको सरस्वती देवीको प्रतिमा अनावरण गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापा ।[/caption]

रजतजयन्ती अवसरमा विद्यालय हातामा निर्माण गरिएको सरस्वती देवीको प्रतिमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. थापाले अनावरण गरेका थिए ।

उक्त अवसरमा कास्कीका तीन वटा सामुदायिक विवालय ईन्द्रायणी आधारभूत विद्यालय, जनज्योति प्रावि र सीताराम माविलाई एकएक थान मल्टिप्रिन्टर हस्तान्तरण गरिएको थियो ।

यसैबीच रजतजयन्ती अवसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको विद्यालयले जनाएको छ ।

[caption id="attachment_12750" align="alignnone" width="780"] विद्यालयकी पूर्व विद्यार्थी तथा गायिका रीतु लामालाई सम्मान गरिंदै ।[/caption]