प्रहरीलाई प्रविधि, स्रोतसाधन र सुविधायुक्त बनाउन आवश्यक : मन्त्री चुमान

पर्वत, ३ पुस ।

गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले प्रहरी संगठनलाई समयानुसार प्रविधियुक्त एवं दक्ष जनशक्ति युक्त बनाउन आवश्यक रहेको बताएका छन् । उनले यति गर्न नसके देशमा आईपर्ने विभिन्न विपद्हरूबाट जनधनको क्षति न्यूनीकरण गर्न नसकिने स्पष्ट पारे ।

पर्वतको कुश्मास्थित जिल्ला प्रहरी कार्यालय पर्वत र प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङद्वारा संयुक्त रुपमा संचालित विपद् व्यवस्थापन सम्बन्धी अभ्यास कार्यक्रममा उनले गण्डकी प्रदेश प्रहरीलाई प्रविधि, श्रोत साधन र सुविधायुक्त बनाई नागरिकमैत्री सेवा प्रवाहका हिसाबले देशकै नमूना प्रदेश प्रहरी बनाउनेतर्फ गण्डकी प्रदेश सरकारले ध्यान दिएको बताए ।

शान्ति सुरक्षा तथा अमनचयनको सवाल सबै सरोकारवाला निकायसँग सम्बन्धित भएकाले यसप्रति सबैले जिम्मेवारीबोध गर्नुपर्नेमा मन्त्री चुमानको जोड छ ।

गण्डकी प्रदेशअन्तर्गत वार्षिक रुपमा प्राकृतिक विपद्का कारण हुने ठूलो जनधनको क्षतिलाई मध्यनजर गर्दै यसबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षाकर्मीहरूको पूर्वतयारी स्वरुप उक्त अभ्यास कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म, बागलुङको उद्धार टोलीले भीरबाट खसेका मानिसहरूको उद्धारमा गरिने कारबाहीको नमूना प्रर्दशन गरेका थिए ।

सोही अवसरमा मन्त्री चुमानले जिल्ला प्रहरी कार्यालय पर्वतका भौतिक संरचनाहरूका साथै जिल्ला कारागार पर्वतको समेत निरीक्षण एवम् अवलोकन गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केदारनाथ शर्मा, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विक्रमबहादुर चन्द, पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूसमेत सहभागी थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close