गण्डकीका मन्त्रीहरु हरिबहादुर चुमान र लेखबहादुर थापालाई वर्खास्त गर्ने मुख्यमन्त्रीको तयारी

पोखरा, १७ पुस ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनसंगै त्यसको प्रत्यक्ष असर सबै प्रदेशमा परेको छ । सात वटा प्रदेशमध्ये प्रदेश नं. २ बाहेक अन्य सबै प्रदेशमा राजनीतिक विवाद उत्कर्षमा पुगेको छ । केही प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेश नं. १ का केही सांसद बर्खास्त समेत भएका छन् । बागमती प्रदेशमा संसदीय दलको नेता नै परिवर्तन भएका छन् ।

यता, नेकपाको राजनीतिक विवादबाट गण्डकी प्रदेश पनि अछुतो छैन । पार्टी विभाजनसंगै गण्डकीमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव चलेको थियो । गण्डकीमा पनि नेकपाका छुट्टाछुट्टै भेला, संसदीय सदको बैठक चलिरहेको छ ।

यसैक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो क्याबिनेटका दुई मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेको बताइएको छ । गुरुङले आफ्नो क्याबिनेटका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरलाई बर्खास्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

चुमान र थापा नेकपा प्रचण्ड-नेपाल समूहमा छन् । प्रचण्ड-नेपाल समूहमा लागेका उनीहरु केपी ओली समूहको खुलेर बिरोधमा लागेपछि आफ्नो समूहबाट वर्खास्त गर्न दवाव मुख्यमन्त्रीलाई पर्दै आएको थियो ।

६० जना प्रदेशसभा सदस्य रहेको गण्डकी प्रदेशमा स्वतन्त्रबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे्) सहित नेकपाका ४० सदस्य छन् । गत पुस ५ गते प्रतिनिधिसभा विघटनपछि २७ जना प्रदेश सांसद नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली समूहमा देखिएका छन् ।

प्रदेश संसदको सभामुख नेत्रनाथ अधिकारीसहित १३ जना नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहमा छन् । गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री चुमान र कृषि मन्त्री मगरले ओलीको साथ छाडेका छन् ।

रामबहादुर थापा बादल समूहका चुमान प्रचण्ड-नेपाल समूहमा सक्रिय रुपमा लागेका छन् । उनी सो समूहको जिल्लास्तरीय भेलाहरुमा सहभागी हुँदै आएका थिए ।

आफ्नो समूहको साथ छोडे पनि उनीहरुलाई मिलाएर सँगै लैजाने मुख्यमन्त्री गुरुङको सोंच रहेपनि आफ्नो समूहको दवावले दुई जना मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेको बताइन्छ ।

पुस २१ गते प्रदेशको विशेष अधिवेशन बोलाउने प्रदेश सरकारको योजना छ । विशेष अधिवेशनको अवस्था आंकलन गरेर उनीहरुलाई वर्खास्त गर्न लागिएको बताइन्छ । गण्डकीमा नेपाली कांग्रेसका १५, राष्ट्रिय जनमोर्चाको ३ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।

अन्य प्रदेशमा जस्तै गण्डकीमा पनि सत्ता सञ्चालनका लागि नेपाली कांग्रेस महत्वपूर्ण ठानिएको छ । नेपाली कांग्रेस एक्लैले सत्ता सञ्चालन गर्न पनि सक्ने अवस्था छैन ।

यस्तो अवस्थामा कांग्रेसले नेकपाको जुन समूहलाई साथ दिन्छ त्यो समूहले नै सत्ता सञ्चालन गर्ने निश्चित छ । यसका लागि नेपाली कांग्रेसले हालसम्म मुख खोलेको छैन । कांग्रेसका सांसदहरुले पार्टीको केन्द्रीय नीति, निर्देशन र प्रदेशको अवस्था हेरेर निर्णय लिने बताउँदै आएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अहिले नै कांग्रेसले हतारो गरिहाल्न नहुने बताएका छन् । उनले भनेका छन्, ‘गण्डकीमा कांग्रेसको नेतृत्वमा सरकार आउन पनि सक्छ । अहिले नै हतार गर्न हुँदैन ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close