चुनावमा होमिएका हरिराज पन्त : ‘उद्योगी व्यवसायीको हर-क्षणमा साथ दिने नेता’

पोखरा, २२ पुस ।

पोखराको मौसम निकै चिसो छ । सबैलाई चिसो अनुभूति भइरहेको छ । तर उद्योगी व्यवसायीलाई यो चिसोले कत्ति पनि छोएको छैन । कारण हो, पोखरा उद्योग वाणिज्य संघको चुनाव । यहि पुस २५ गते संघको नयाँ नेतृत्व, पदाधिकारी र कार्यसमिति सदस्य चयन गर्न निर्वाचन हुँदैछ । यसका लागि उम्मेदवारहरु व्यस्त छन् ।

यो चिसोले नेपाल वितरक महासंघका महासचिव एवं पोखराका सफल व्यवसायी हरिराज पन्तलाई कत्तिपनि छोएको छैन । एक सातादेखि उनी दिन, रात, भोक, तिर्खा, निद्रा केही नभनी चुनावी मैदानमा खटिएका छन् । उनीमाथि आफूमात्र होइन, आफ्नो पूरै टिमलाई जिताउने दायित्व छ । संघको कार्यसमितिमा रहेर एक कार्यकाल सफल रुपमा पूरा गरेका उनी पुनः सदस्य पदमै चुनाव लडेका छन् ।

पन्त संघमा रहेर उद्योगी व्यवसायीको हक हित र पोखराको समस्यामा धेरै काम गर्न बाँकी रहेको बताउँछन् । यसका लागि उनी भावी राणनीति बनाउन उद्योगी, व्यवसायीसंग भेटघाट र छलफलमा व्यस्त छन् ।

अधिकृत विक्रेता संघ सफलतापूर्वक हाँकेको अनुभव भएकाले पन्त जिम्मेवार र गम्भीर व्यक्तित्व भएको चर्चा छ । ‘अहिले पनि नेपाल वितरक महासंघको महासचिवसमेत भएर काम गरिरहेका हुनाले उहाँले उद्योगी व्यवसायीका समस्यालाई नजिकबाट बुझ्नु भएको छ’, नेपाल वितरक महासंघका अध्यक्ष सुरेश अधिकारी भन्छन्, ‘अझ एक कार्यकाल सदस्य भएर काम गरिसकेकाले संघको बारेमा पनि राम्रै जानकार हुनुहुन्छ ।’

उम्मेदवार पन्त उद्योगी व्यवसायीको समस्यामा निकै गम्भीर भएको आफूले महसूस गरेको अधिकारीले बताए । उनी भन्छन्, ‘पन्त अधिकृत विक्रेता संघ (ड्याप) को अध्यक्ष भएर काम गर्दा पनि प्रभावशाली छाप छोड्न सफल हुनुभएको छ । त्यसैले पोखराका उद्योगी व्यवसायीले पनि उहाँको क्षमतासंग प्रभावित छन् ।’

‘पन्तले आफ्नो कामप्रति असाध्यै प्रतिवद्ध भएर लाग्ने र जे काममा हात हाले पनि त्यो काम सफलतापूर्वक र कुशलतापूर्वक गर्ने गर्नुहुन्छ’, पोखराका एक सफल व्यवसायी मनोज श्रेष्ठ भन्छन्, ‘हरिजी पोउवासंघका लागि एउटा खम्वा हो । उद्योगी व्यवसायीको हर क्षणमा साथ दिने नेता हो ।’

‘पन्त आफू त सजिलैै जित्नुहुन्छ । तर पूरै टिम जिताउने उहाँको जिम्मेवारी हो । सम्भवतः संघको यो चुनावमा उहाँको टिमले नै जित्न सक्ने देखिन्छ’, श्रेष्ठ भन्छन् । टिमले गरेको प्रतिवद्धता र टिममा भएका अनुभवी व्यक्तित्व नै चुनाव जित्ने आधार भएको उनले बताए ।

उम्मेदवार पन्तले लायन्स पनि हाँकिरहेका छन् । आफ्नो व्यवसाय पनि सफलतापूर्वक सञ्चालन गरिरहेका छन् । साथै अन्य संघसंस्थामा पनि सक्रिय छन् । लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाएका पन्त व्यापार व्यवसायको क्षेत्रमा राम्रैसंग भिजेका छन् । उनी हक्की स्वभावका मानिन्छन् । आफ्ना साथीभाई तथा उद्योगी व्यवसायीमा परेको समस्यालाई आफ्नै जस्तो गरी संवोधन गरिदिन्छन् ।

पन्तको टिममा को-कुन पदमा छन् ?

संघको आशन्न चुनावमा अध्यक्ष पदमा नारायण कोइराला, वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, वाणिज्यतर्फको उपाध्यक्षमा अर्जुन पोखरेल र उद्योग तर्फबाट चिनु गुरुङ, महासचिवमा सुरेन्द्रमान विजुक्छे, कोेषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्रीले उम्मेदवारी मनोनयन गराएका छन् । यसमा वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापति निर्विरोध निर्वाचित भइसकेका छन् ।

यस्तै संघको कार्यकारिणी सदस्यमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा कुमारी मुना बाँस्तोला, दिनेशचन्द्र बाँस्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी, सुदन बहादुर कोइरालाका साथै एशोसिएट सदस्यमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी मिराज छन् । यीमध्ये एशोसिएट सदस्यमा हरिहर सापकोटा निर्विरोध भइसकेका छन् ।

यस्तो छ पन्तको टिमको प्रतिवद्धता

संघको नयाँ टिमका लागि कोइराला प्यानलले विभिन्न ११ बुँदे प्रतिवद्धता समेत जनाएको छ । प्यानलले कोरोना भाइरसले निम्त्याएका विषमतालाई चिर्दै व्यवसायीहरुको हित रक्षा गर्ने, संघले अंगिकार गरेको शिक्षा, स्वास्थ्य, पर्यटन सहरको रुपमा अझ विकसित बनाउन र कृषिको आधुनिकीकरण गर्नेतर्फ थप पहलकदमी गर्ने प्रतिवद्धता जनाएको छ ।

यसैगरी पोखराको फुटपाथ व्यापार र पार्किङ समस्या समाधानका लागि पहल गर्ने पनि कोइराला टिमको प्रतिवद्धता छ । स्टार्ट अफ विजनेसलाई प्रवर्द्धन र अनुसन्धानात्मक गतिविधिलाई समेटेर युवाहरुलाई व्यवसायमा ल्याउने, साना र ठूला लगानी गरेर व्यवसाय गर्ने सबै व्यवसायी र उद्योगीलाई संघमा समेट्ने, उद्योगी र व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तनमा सक्रिय रहने सो टिमको प्रतिवद्धता छ ।

यस्तै, उद्योगी व्यवसायीहरुमा प्रतिस्पर्धी क्षमता विकास गराउन र उत्पादनको बजारीकरणमा सघाउन तालिम, भ्रमण र गोष्ठीको व्यवस्थापन गर्ने, संघको सचिवालयलाई अझ सुदृढिकरण गर्दै सदस्यको घरघरमै आवश्यक सेवा र सुविधा पुर्याउने, अग्रजको सम्मान र सदस्यको चाहना बमोजिमका कार्यक्रम अघि बढाउने, कोरोनाले धराशायी बनेको पर्यटन र यातायात क्षेत्रको पुनर्उत्थान गर्न सरोकारवालासंग सहकार्य गर्ने र नेपाल उद्योग वाणिज्य महासंघसंगको सम्बन्ध र सहकार्यलाइ अझ बलियो बनाउने कोइराला टिमको प्रतिवद्धता छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close