होमबहादुर गुरुङ मृत्यु प्रकरण : हत्या कि आत्महत्या ? (यस्तो छ घटनाक्रम)

सुरेशराज अधिकारी
पोखरा, २३ मंसिर

तनहूँको एक होटल परिसरमा मृत भेटिएका एक युवकको मृत्यु हुनुको कारण अझै खुल्न सकेको छैन । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. १ स्थित होटल सुमिरा एण्ड लजमा कार्यरत गोरखाका होमबहादुर गुरुङको शव होटल नजिकै भेटिएको थियो । एक साता बितिसक्दा समेत घटना अझै रहस्यमय छ ।

विगत ३ वर्ष अघिदेखि गुरुङ होटल सुमिरामा काम गर्दै आएका थिए । गुरुङको चप्पल उनको कोठामा नै भेटिएको थियो । होटलको तलाबाट गुरुङ खसेको सिसिटिभी फुजेटमा देखिन्छ । यसैलाई आधार बनाएर गुरुङका परिवारजनले हत्या भएको दावी गरेका छन् । तर प्रहरीले भने सिसिटिभी फुटेजमा मान्छेले फालेको नदेखिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार शवको टाउकोमा गम्भीर चोट लागेको छ । घटनाको विषयमा सुक्ष्म अनुसन्धान भैरहेको उनले बताए ।

मंसिर १७ गते बेलुका अबेरसम्म होटलमा आएका पाहुनालाई गुरुङले खाना खुवाएका थिए । भोलिपल्टै अर्थात मंसिर १८ बिहान ८ बजे होटल परिसरमा उनको शव भेटिएको थियो । शवको अनुहारमा र टाउकोमा चोट लागेका कारण ‘हत्या कि आत्महत्या’ भन्ने विषय शंकास्पद रहेको डिएसपी तिमिल्सिनाले बताए ।

आफन्तको यस्तो दावी

गुरुङ खसको भनिएको होटलको तलाको सिसिटिभी फुटेजमा घरको रेलिङ भन्दा बाहिरको मात्र तस्बीर कैद हुने गरेर जडान गरिएको छ । गुरुङ खस्न भन्दा लगभग ३० मिनेट अघिबाट रेलिङबाट कम्मर भन्दा माथिको ज्यान रेलिङ बाहिर र भित्र लैजाने भैरहेको सिसिटिभी फुटेजमा कैद भएको देखिन्छ ।

रेलिङ भित्र बाहिर गर्नेक्रममा गुरुङ तल खसेको देखिएको परिवार र अनुसन्धानमा खटिएका प्रहरीको दावी छ । तर गुरुङ खस्ने बेलामा तन्नाले फालेको तस्वीरर कैद भएको मृतका दाइ प्रकाश गुरुङको दावी छ ।

तर प्रहरीले तन्ना जस्तो देखिने गुरुङले लगाएको हुट रहेको दावी गरेको छ । होटलमा भएको अन्य सिसिटिभि क्यामेरामा पनि कोही हिंडेको नदेखिएको कारण प्रहरीले होम बहादुरको आत्महत्याको अनुमान गरेको छ ।

तीन जना विरुद्ध जाहेरी

मृतका दाजु प्रकाशले होटल संचालक र कर्मचारी मिलेर आफ्नो भाइको हत्या गरेको भन्दै तीन जना विरुद्ध किटानी जाहेरी दिएका छन् ।
होटल सञ्चालक सुनिलबहादुर अधिकारी क्षेत्री, कामदार अर्जुन अधिकारी र रामचन्द्र घर्ती विरुद्ध आइतबार किटानी जाहेरी दर्ता गराएका हुन् ।

मंसिर १८ गते नै घटनाको अनुसन्धान लागि प्रहरीले होटलको सिसिटिभी फुटेज, होटलका कर्मचारी, होटल सञ्चालक, होटलका पाहुना सबैलाई नियन्त्रणमा लिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close