कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने अभिभारा युवाको काँधमा : पूर्वमन्त्री विक

पोखरा, १५ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व मन्त्री जगतबहादुर सुनार विश्वकर्माले शीर्ष नेताहरुका कारण पार्टी संकटमा परेको नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने अभिभारा युवाहरुको काँधमा आएको बताएका छन् ।
पोखरा महानगरपालिका वडा नं. १८ वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई संबोधन गर्दै पूर्वमन्त्री विश्वकर्माले पार्टीका शीर्ष तहका नेताहरु आत्मेकिन्द्रत भएर निहीत स्वार्थमा लाग्दा नेपालको कम्युनिष्ट आन्दोलनमा संकट आउनु दुर्भाग्यपूर्ण भएको दुःखेसो पोखे ।
उनले अहिले पार्टीले लिएको जनताको बुहदलीय जनबादको नीति, विचार, सिद्धान्त र मूल्य मान्यतालाई आत्मसाथ गरेर नै नेपालको कम्युनिष्ट आन्दोलनले उचाई हासिल गरेकाले यसलाई नै निरन्तरता दिनुपर्नेमा जोड दिए ।
‘पार्टीको अहिले लिएको नीति विचार र सिद्धान्तको सहपिना पुष्टि भएर विश्व कम्युनिष्ट आन्दोलनमा नेपालले बनाएको विशिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने चुनौतीलाई पूरा गर्न सबै युवाहरु एकवद्ध भएर अघि बढ्न आवश्यक छ’, उनले भने ।
पार्टीका केन्द्रीय सदस्य दिपक पौडेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई काम गर्न नदिने, घेराबन्दी गर्ने, असहयोग गर्ने र भएका कामहरुको पनि सकारात्मक प्रचार नगर्ने जस्ता गतिविधि बढ्दै जाँदा आजको दुर्भाग्यपूर्ण स्थिति आएको बताए । उनले सहि र गलतको फैसला गर्ने जिम्मा जनताको भएको स्पष्ट पारे ।
वडा कमिटी अध्यक्ष पुस्कल बहादुर थापाले सराङ्कोटबासीको साथमा सराङ्कोट वडा कमिटी सदैव रहने बताए ।
उनले अहिलेको परिस्थितिमा प्रधानमन्त्री ओलीले गरेको निर्णय स्वागतयोग्य रहेको भन्दै युवाहरु एकवद्ध भएर विकास र समृद्धिको बाटोमा नै अघि बढ्नुपर्ने खाँचो औंल्याए ।