जलजलामा १५ हजार बढी रोपनी सार्वजनिक जग्गा अतिक्रमण

पर्वत, ९ पुस ।

पर्वतको जलजला गाउँपालिकामा १५ हजार रोपनीभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण भएको छ । गाउँपालिकाले एक वर्षसम्म गरेको अध्ययनका क्रममा १५ हजार २८२ रोपनी सार्वजनिक जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरेको पाइएको हो । सार्वजनिक जग्गाको अतिक्रमण बढ्दै गएपछि गाउँपालिकाले आफ्नो सीमाभित्रका सार्वजनिक जग्गा संरक्षणको तयारी थालेको छ ।

गाउँपालिकाको वडा नं. २, ३, ४, ७ र ८ मा स्थानीय बासिन्दाले सार्वजनिक जग्गा आफूखुशी भोगलचन गर्दै आएका हुन् । सार्वजनिक जग्गा खोजी अभियानका क्रममा मालढुङ्गा–बेनी सडक छेउ तथा कालीगण्डकी किनारमा मात्रै ठूलो परिमाणमा अतिक्रमण गरिएको पाइएको गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए ।

‘कतिपय जग्गामा आरसीसी भवनसमेत बनाइएको छ’, उनले भने, ‘कसरी हुन्छ त्यसलाई फिर्ता ल्याउने अभियानमा गाउँपालिका जुटेको छ ।’ धेरैजसो जग्गा राजमार्गसँग जोडिएको, कालीगण्डकी नदी किनारमा रहेको र त्यहाँ व्यक्तिले कब्जा गरेको पाइएको उनले बताए ।

कालीगण्डकी करिडोरअन्तर्गतको मालढुंगा-बेनी सडकछेउ, मिलनचोक, बारीबेनीलगायत स्थानका जग्गामा व्यक्तिले भवन बनाएका छन् । यस्ता जग्गा केन्द्र सरकारसँगको समन्वयमा फिर्ता ल्याएर भाडामा लगाउने, सार्वजनिक आम्दानी लिने गरी उपयोग गर्ने र विपन्नलाई आयआर्जनका लागि उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।

पालिकाका सूचना अधिकारी लीलाधर सुवेदीका अनुसार पहिलो चरणमा भेटिएको जग्गा व्यवस्थापनपछि दोस्रो चरणमा अरू वडाको जग्गा पनि खोजी गरिने भएको । यो क्षेत्रको बढी मूल्यवान भएकाले पहिलो चरणमा खोजेका हौं, उनले भने, यसको व्यवस्थापनपछि अरू वडातिर लाग्छौँ ।

धेरैजसो सार्वजनिक जग्गा बेवारिस भएकाले त्यसको खोजी गरी छिट्टै व्यवस्थापन गर्न गाउँपालिकाले दीर्घकालीन योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

गाउँपालिकाले आन्तरिक आम्दानी बढाउन सार्वजनिक जग्गामा नगदे बाली लगाउने, उद्योगधन्दा खोल्नेलगायत काममा समेत उपयोग गर्ने योजना बनाएको छ । त्यसका लागि कर्मचारी व्यवस्थापन गरिसकेको उनले बताए । गाउँपालिकाले आफ्नै भूसेवा कार्यालयसमेत सञ्चालनमा ल्याएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close