‘उज्यालो गण्डकी प्रदेश घोषणा’ अभियान शुभारम्भ

पोखरा २५ मंसिर ।

उज्यालो गण्डकी प्रदेश घोषणा अभियान मुस्ताङको लोमन्थाङबाट शुरुआत गरिएको छ । राष्ट्रिय विद्युत प्रशारण लाइन नपुगेको मुस्ताङको विभिन्न तीन गाउँपालिकामा चार सय सोलार जडान गरी उज्यालो गण्डकी प्रदेशको घोषणा अभियान शुरु गरिएको हो ।

लोमन्थाङ गाउँपालिका, लो घेकर दामोदर कुण्ड गाउँपालिका र बारागुङ मुक्ति क्षेत्रमा रहेका गाउँका ४ सय घरधुरीमा सोलार जडान गरी उज्यालो गण्डकी प्रदेश घोषणा गरिएको हो ।

गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले लोमन्थाङस्थित सामुदायिक भवनमा जडान गरिएको सोलार वत्ति उद्घाटन गरी उज्यालो गण्डकी प्रदेश घोषणा अभियानको थालनी गरेका हुन ।

उक्त अवसरमा मन्त्री बस्नेतले अबको दुई वर्ष भित्रमा गण्डकी प्रदेशलाई उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने उद्देश्य अनुरुप सरकार अघि बढेको बताए । राष्ट्रिय प्रसारण लाइन पुर्याउन नसकिने गाउँमा सोलार वत्तिबाटै घरमा उज्यालो बनाउने उद्देश्य रहेको बताए ।

प्रदेश सरकारको ७५ र स्थानीयको २५ प्रतिशतमा सोलार जडान गरिएको हो । भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजित भएको ६८ लाख ६१ हजार लागतमा मुस्ताङको चार सय घरधुरीमा सोलार जडान गरिएको हो । गत आर्थिक वर्षमानै सोलार जडान सम्पन्न गर्ने लक्ष्य प्रदेश सरकारको भएता पनि कोरोनाका कारण ढिलाई भएको मन्त्री बस्नेतले बताए ।

भौतिक पूर्वाधार मन्त्रालय जलश्रोत तथा उर्जा महाशाखा प्रमुख हरिदत्त पौडेलले राष्ट्रिय प्रशारण लाईन पुर्याएरमात्र सौर्य उर्जा जडान गर्ने सरकारको लक्ष्य भएपनि सम्भव नभएपछि सौर्य उर्जा जडान गरिएको बताए ।

पौडेलका अनुसार प्रदेश भरीका एक हजार १०५ घरधुरीमा सोलार बत्ती जडान गर्ने काम भइरहेको र यसका लागि दुइ करोड रुपैयाँ विनियोजन गरिएको छ । अहिलेसम्म प्रशारण लाइन नपुगेको मनाङ, म्यादी र गोरखाको हिमाली क्षेत्रमा सोलार बत्ति जडान गरिने प्रदेश सरकारको लक्ष्य छ ।

प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले प्रदेश सरकार गठनसंगै आफ्नो क्षेत्रमा विकासका लहरहरु छाएको बताए । प्रदेश सरकार र आफ्नो निर्वाचन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कृषि, पर्यटन र पुरातात्विक सम्पदाहरुको संरक्षणका कामहरु भइरहेको र आगामी दिनमा पनि विकासका काममा नै आफू लागिपर्ने प्रतिवद्धता जनाए ।

जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामो गुरुङले विकासको काममा कसैले पनि आफ्नो अर्काको राजनीतिक आक्षेप नलगाइकन एकजुट भएर लाग्नुपर्ने बताइन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले सोलार जडान गरे पनि त्यसको संरक्षण गर्नुपर्नेमा समेत जोड दिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close