लिटरेचर फेस्टिभल पुस १४ र १५ मा

पोखरा, ४ पुस ।

यस पटकको नेपाल लिटरचेर फेस्टिभल भर्चूअलबाट आयोजना हुने भएको छ । कोरोना कहरका कारण फेस्टिभल भर्चूअल हुने भएको हो । फेस्टिभलका सबै शत्र सामाजिक सञ्जाल एवं फेस्टिभलको आधिकारिक यूट्युब च्यानलबाट लाइभ प्रशारण हुनेछन् । फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा रहनेछन् । फेस्टिभलको यो संस्करणमा १६ सेशन र ४० जनाभन्दा बढी वक्ता रहनेछन् ।

‘कोरोना महामारीमा फेस्टिभल गर्ने कि नगर्ने भन्ने अन्यौल थियो । सबै तिरबाट जसरी भए पनि निरन्तरता दिनैपर्छ भन्ने आवाज उठेपछि फेस्टिभल आयोजना गर्न लागिएको हो’, फेस्टिभलका निर्देशक अजित बरालले भने ।

भर्चूअलरूपमा हुने फेस्टिभल पोखरामा यही पुस १४ र १५ गते आयोजना हुँदैछ । पुस १३ गते फेस्टिभलको पूर्वसन्ध्यामा भने शुभारम्भ साँझ हुने आयोजकले जनाएको छ । आयोजक संस्था बुकवर्म फाउन्डेसनका अनुसार उक्त साँझमा प्रदीप रोदनसंग अमृत सुवेदीको मेहफिल कार्यक्रम हुनेछ ।

फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले पनि कोभिड-१९ को संक्रमणकालीन समयमा भौतिक रूपमा फेस्टिभल आयोजना गर्न आफूहरू असमर्थ भएको बताए । भर्चुअल रूपमै भए पनि फेस्टिभललाई निरन्तरता दिनुपर्छ भन्ने लागेर आफूहरू अघि बढेको उनको भनाइ छ ।

‘भौतिक रुपमा दर्शक एवम् श्रोताको उपस्थितिमा फेस्टिभल आयोजना गर्ने धोको थियो,’ उनले भने, ‘तर कोभिडको बढ्दो सङ्क्रमण र सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नुपरेकाले त्यो सम्भव भएन ।’

¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले साहित्यका माध्यमबाट पोखरालाई चिनाउनु फेस्टिभल र आफूहरुको प्रयास रहेको बताए । ‘पोखरा माछापुच्छ्रेले चिनिन्छ । फेवातालले चिनिन्छ,’ उनले भने, ‘अहिले आएर साहित्यले पनि चिनिन थालेको छ । फेस्टिभल र हाम्रो प्रयास पोखरालाई साहित्यका माध्यमबाट चिनाऔं भन्ने नै हो ।’

फेस्टिभल आयोजक संस्थाकी सदस्य अनीकर्माले भनिन्, ‘आइएमई नेपाल लिटरेचर फेस्टिभलसँग मेरो धेरै पुरानो नाता छ । म आबद्ध बुक क्लब, ह्वाट द बुक क्लबको स्थापनाको श्रेय पनि आइएमई नेपाल लिटरेचर फेस्टिभललाई नै जान्छ । किनकि यही एक मात्र साहित्यिक जमघटका कारण हामीले हालको समयमा पोखरेली युवाहरूमा पठन संस्कृति विकास गर्न सफल भएका छौं ।’

आइएमई नेपाल लिटरेचर फेस्टिभल जस्ता कार्यक्रमले युवाहरूलाई साहित्यप्रति जागरुक गराएको उनको भनाइ छ । ‘यसले एकै छानामुनि आफूलाई मनपर्ने साहित्यकार एवं कलाकार र विशिष्ट व्यक्तित्वसँग भेट गर्ने अवसर जुराउँछ,’ उनले भनिन्।

लिटरेचर फेस्टिभल नवौं संस्करणसम्म आइपुग्दा यसले ठूलो उचाइ हासिल गरिसकेको छ । फेस्टिभलले कला, साहित्यको मात्रै प्रवर्द्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close