‘गाउँले ‘घर’ बन्ने तत्व गुमायो, भूकम्प अवसर थियो, जुन हामीले गुमायौँ’

पोखरा, १४ पुस ।

भूकम्पले जसरी मानिसको घरको संरचना नास्यो, त्यसपछि चलेको पुननिर्माणका कामले रैथाने गाउँले ‘घर’ बन्ने तत्व अनि घरसँगै मौलिक वास्तुकला गुमाउने अवस्था ल्यायो । वास्तु एवं ग्रामीणविज्ञ मिलन बगालेको अनुभवमा ३२ वटा जिल्लामा पुन निर्माणको महायज्ञ चलिराख्दा गाउँघर एक वा दुई कोठामा सीमित भएका छन् । बगाले हाल संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमद्वारा सञ्चालित नेपाल आवास पुनर्निर्माण परियोजनामा परामर्शदाता हुन् ।

‘हामीले विचार गरेनौँ हाम्रो जीवनशैली र घरको के अन्तर्सम्बन्ध हो, त्यो भित्र केके अटाउनुपर्थ्यो । कृषिमा आधारित जीवनशैलीमा हाम्रो जीवन कसरी रमाएर बस्थ्यो,’ बगालेले भने, ‘बनाउने नाममा हामीले सामाग्री, शैली र कलाको पाटोलाई गुमाएर कोठामा गुम्सियौँ ।’

आइएमई लिटरेचर फेस्टिभलको नवौँ संस्करणमा ‘के सम्पदा के बसोबास’अन्तर्गतको छलफलमा वास्तु एवम् ग्रामीण विकासविज्ञ बगालेसँगै सांस्कृतिक सम्पदा संरक्षक रवीन्द्र पुरीले परम्परागत शैलीको निमार्णको दिगोपन, विकासकामा नाममा भइरहेको डोजर विकास र जीवन शैलीसँगको सम्बन्धबारे छलफल गरे । जसले पछिल्लो समय आधुनिकताका नाममा पुरानो संस्कृतिलाई मानिसले कसरी छाड्दै आएको छ भन्नेबारेमा वक्ताहरूले आफ्नो मत राखे ।

बगालेले २०७२ सालको भूकम्पले घरहरूलाई बलियोसँग नबाँधिएको कुरा देखाएको बताए । ‘घरको संरचना मात्र भत्काएको, यसको वास्तुकला, इतिहास, आत्मा, कलाशैली भत्काएको होइन,’ उनले भने । ‘घरलाई एक ढिक्का बनाउनुपर्छ भनेर स्थापना गरिएको जुन मान्यता छ, इन्जिनियरिङले घरको चार सुरलाई बाँध्न सकेको भए मौलिक घरको वास्तुकलालाई गुमाउनु नपर्ने उनको भनाइ छ ।

यस्तै सांस्कृतिक सम्पदा संरक्षक रवीन्द्र पुरीले रैथाने संस्कृतिमा दिगोपना भएको कुरा उल्लेख गरे । भक्तपुरको झन्डै ३०० वर्ष पुरानो सांकृतिक धरोहर, ‘न्यातापोल’ यसको उदाहरण भएको उनले बताए ।

पुरीका अनुसार हरेक शताब्दीमा ठूलो भूकप्प भोग्ने नेपालमा न्यातापोलोले चार ओटा भूकम्प थेगिसकेको छ । ‘भूकम्पले संरचनाको जुन भागमा क्षति पुर्याएको छ, त्यो भागको मात्रै पुन निर्माण गरिनुपर्छ । पुननिर्माणमा पहिलेकै सामानलाई प्रयोग गर्दा काम पनि छिटो र सस्तो हुन्छ,’ पुरीले भने, ‘पाँच वर्ष बित्नै लाग्दा पनि संरचना बनिसकेका छैनन् अनि मौलिकता जोगाउन गाह्रो परिरहेको छ ।’

कार्यक्रममा डोजर विकासले पौराणिक बस्तीलाई ध्वस्त पार्न लागको अवस्थाबारे चर्चा भयो । ललितपुरको खोकनामा सात ओटा विभिन्न विकास आयोजना परेका छन् । जसले त्यहाँको इतिहास र कृषि जीवनलाई समाप्त पार्दै छ भनेर अभियन्ता यसको विरोधमा लागिरहेका छन् । सम्पदा संरक्षक रवीन्द्र पुरी विकासको नाममा सम्पदा मास्न नपाइने बताउँछन्, विकासले सम्पदा मास्छ भने त्यो विकासका गतिविधि अन्यत्र सारिनुपर्छ ।

‘सम्पदा मास्न पाइँदैन । अरु संरचना पुनः बनाउन सकिन्छ । तर सम्पदा फेरि बनाउन सकिन्न,’ पुरी भन्छन्, ‘किनकि मरेको व्यक्तिलाई व्यूताउन सकिँदैन । त्यसैले सम्पदा मासेर गरिएको विकास दीर्घकालीन हुँदैन ।’

उनले विकासका नाममा सम्पदा मास्ने काम दानवपन रहेको बताए । छलफलमा जीवनशैलीले ‘आर्किटेक्चर’ लाई प्रभाव पार्ने विषयमा पनि कुराकानी भए । संरक्षणकर्ता पुरीले भूकम्प अवसर भएर आएकोमा हामीले गुमाएको बताए ।

ग्रमीण विज्ञ बगालेले काठमाडौँ र पोखरा दुई सहरहरूलाई उदाहरण दिएर बस्ती कसरी ‘घार र भार’ भइराखेका छन् भन्ने प्रस्टाए । यी दुवै सहरहरू पानीमाथि बनेका भएपनि यी आफूमा कसरी संरचित छन् भनेर प्रस्ट पारे ।

‘पोख्रेलीहरूमा सरसफाइ र सम्पदा नमास्ने चेतना छ । पोख्रेली पहिला आँगन, पिँढीभित्र अनि कोठा सफा गर्छन्, काठमाडौंमा उल्टो छ,’ बगालेले भने, ‘तर पछिल्लो समय हामीले पोखरीमा दिनहुँ गह्रौं भारी थप्दै जाने हो भने त्यो भार हुन्छ ।’

भएका स्रोत संरक्षणको लागि बस्ती बसाइनु बगालेको भाषामा ‘घार’ हो भने जहाँ विकास निर्माणका क्रियाकलापपछि बस्ती बसेको छ भने त्यो ‘भार’ हुन्छ । ग्रामीण क्षेत्र जो आनुनिकताको नाममा कङ्क्रिट जंगलको स्वरुपमा देखिएका छन्, ती भार भएको र जो हराउँन लागेका बस्ती छन्, ‘घान्द्रुक’ यी घार हुन् ।

यस्ता सम्पदा अहिले खुम्चने प्रक्रियामा रहेको बगालेले बताए । अग्ला धरोहरले देशको सांस्कृतिक, आर्थिक अवस्थालाई चित्रण गर्ने भएकाले डाँडाको टुप्पोमा टावर बनाउनु भनेको डाँडालाई कुरुप बनाउनु भएको उनको धारणा छ । ‘रुखले जरा हेर्ने प्रयत्न गर्दा गलत तरिका भइरहेको छ । यसले विनाश ल्याउँछ,’ उनले भने ।

सम्पदा संरक्षक रवीन्द्र पुरीले भूकम्पपछि बन्न लागेका नौलाख घरमध्ये जति संरचना बनेका छन्, तीमध्ये एक प्रतिशत पनि मौलिक परम्परामा आधारित नभएको दाबी गरे । उनले भने, ‘एउटा मात्र घर मौलिक शैलीमा बनाइयो भने त्यो पर्यटकीय हब बन्छ । तर यो कुरालाई बेवास्ता गरिएको छ, जुन दुःखद् हो ।’

आइएमई लिटरेचर फेस्टिभलको नवौं संस्करणमा ‘के सम्पदा के बसोबास’ सत्र संस्कृति मासिँदा हाम्रो जीवनशैली कसरी अगाडि गइरहेको छ, मौलिक सम्पत्तिलाई बेवास्ता गर्दा दीर्घकालीन विकासमा कसरी नकारात्मक असर परिरहेको छ भन्नेबारेमा छलफल भयो । सत्रलाई प्राकृतिक र मानवनिर्मित सम्पदाको अभिलेखिकरणमा रुचि राख्ने वृत्तचित्र निर्माता आलोक तुलाधरले सहजीकरण गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close