माघेसंक्रान्ति पर्व : यस्ता छन् दुई महत्व

पोखरा, १ माघ ।

प्रत्येक वर्षको माघ १ गतेलाई हामी माघेसंक्रान्ति वा मकर संक्रान्तिको रुपमा मनाउने गरिन्छ । । यो प्रचलन परापूर्व कालदेखि चल्दै आएको छ । नयाँ पुस्तामा निरन्तर हस्तान्तरण भइ जुन आज पर्यन्त मनाउने गरिन्छ ।

तर धेरैलाई यो पर्व हामी किन मनाउँदै आइरहेका छौं ? भनेर धेरैलाई जानकारी नहुन सक्छ । यो पर्व हिन्दू धर्मावलम्वीहरुको महत्वपूर्ण पर्वमध्येको एक हो । यसकारण यसलाई सांस्कृतिकरुपमा निकै श्रद्धा र उत्साहपूर्वक मनाइने गरिन्छ ।

मकर संक्रान्तिलाई संक्रमणकालीन चरण मानिन्छ, जब सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् । मकर संक्रान्ति आफैलाई आत्मप्रकाशित गर्ने एउटा प्रतिकका साथै यसलाई कृतज्ञता प्रकट गर्ने दिवसको रुपमा पनि मनाइन्छ ।

धर्म, संस्कृति, रीतिरिवाज र चाडपर्वले धनी नेपाल र नेपालीहरूको एक महत्वपूर्ण पर्व हो माघे संक्रान्ति । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष पनि मान्ने गर्छन्, मगरसमुदायले मुख्य रुपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्या खपनि भनिन्छ ।

नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने बाहुन, क्षेत्री, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर र थारू लगायतका सबै जनजातीले माघे संक्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।

मंकर संक्रान्तिको ज्योतिष सम्बन्धी र पौराणिक महत्व यस्तो छ :

ज्योतिष सम्बन्धी महत्व

मकर संक्रान्तिको महत्व यसको नामभित्र नै लुकेको छ । मकरको अर्थ हो मकर राशि र संक्रान्तिको अर्थ हो संक्रमण । यो दिन सूर्य एउटा राशिदेखि अर्को राशिमा प्रवेश गर्ने गर्दछन् । १२ महिना १२ राशिका लागि हो । सूर्यको सबै संक्रमणमध्ये यो संक्रमणलाई महत्वपूर्ण मानिन्छ ।

यो संक्रमणमा सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने गर्दछन् । यो दिनलाई पवित्र मानिन्छ र यहि दिनबाट ६ महिनाको उत्तरायणको प्रारम्भ हुने गर्दछ । मकर सक्रान्तिपछि चिसो कम हुने र विस्तारै गर्मी सुरु हुने मान्यता छ ।

पौराणिक महत्व

पुराणमा उल्लेख भएअनुसार यस दिन भगवान सूर्य आफ्ना छोरा शनिको घरमा आउने गर्दछन् । पिता र पुत्र बीच कुरा नमिल्ने भए पनि मतभेदका बीच पिता सूर्य पुत्र शनिको घरमा आउने गर्दछन् र त्यहाँ एक महिना बस्दछन् । मकर संक्रान्तिको दिनदेखि देवताहरुको दिन प्रारम्भ हुन्छ । यो दिनलाई मलमास समाप्तिको प्रतिकको रुपमा पनि लिइन्छ ।

मकर संक्रान्तिको दिनमा भगवान विष्णुले नकारात्मक शक्तिहरुलाई नष्ट गरेको मानिन्छ । भगवान विष्णुले नकारात्मक शक्तिहरुको टाउकोलाई मन्दार पर्वतको मुनी गाडेका थिए । यो दिन नकारात्मक शक्तिहरुको समाप्ति र नयाँ नैतिक जीवनको प्रारम्भको दिन हो ।

महाभारतमा भीष्म पितामहलाई ईच्छा मृत्युको वरदान प्राप्त भएको थियो र उनले मकर संक्रान्तिको दिनमा नै आफ्नो प्राण त्याग्ने निर्णय गरेको थिए । उनी मकर संक्रान्तिको दिनसम्म वाणहरुको शैयामा सुतिरहेका थिए ।

उनको आत्माले शरीरलाई यहि दिनमा नै छोडेको थियो । जो मानिसहरुको मृत्यु उत्तरायणको दौरान हुन्छ उनीहरुले मुक्ति पाउने अर्थात उनीहरु स्थानान्तरण गमनको चक्रबाट मुक्त हुने मान्यता छ । यहि कारण हिन्दू धर्मालम्वीहरुले यस पर्वलाई ठूलो महत्व दिएर हर्सोल्लासका साथ मनाउने गर्दछन् ।

यसैगरी हिजोआज पनि माघे सक्रान्ति देशविदेश जतासुकै मनाउने प्रचलन बढ्दै गएकोछ । खिचडी लगायत तिलका लड्डु, चाकु, तारुल र सेलरोटी जस्ता विभिन्न परिकारको साथमा माघे सक्रान्तिको रमझम गर्ने गरेको पाइन्छ । जाडोयाममा पर्ने यो चाडमा शरीरलाई न्यानो राख्न सहयोग पुर्याउने खाद्य सामाग्रीहरू को प्रयोग गरिनु स्वास्थ्यको हिसावले पनि लाभदायक देखिन्छ ।

शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घीउ चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नियन्त्रणमा पनि भूमिका खेल्छ ।

जाडोयाममा तिलको तेल घस्नाले, तिलयुक्त परिकार खानाले पौष्टिक तत्वको वृद्धि हुन्छ भन्ने वैज्ञानिक मान्यता छ । तसर्थ यस्ता पर्वले धार्मिक सास्कृतिक सद्भाव बढाउने, सामाजिक रीतिरिवाजको जगेर्ना गर्ने लगायत आपसी भाइचारा कायम राख्न पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

विशेषता

माघे संक्रान्तिको मुख्य विशेषता हो स्नान । यस दिन बिहानै उठेर पवित्र जलासय गएर स्नान गर्ने चलन छ । स्नान गर्नका निमित्त सम्भव भए गङ्गा, नभए तीर्थ, नदी वा जलासशयको प्रयोग गर्नु भन्ने शास्त्रीय मान्यता छ ।

यो पर्व नेपाल भरका विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, राम्धी, तिलोत्तमा तथा सेतीवेणी लगायतका नदी र घाटमा स्नान, दान,श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ ।

स्नानसंगै दानको पनि उत्तिकै महत्व छ यो पर्वमा । भनिएको पनि छ : ‘माघे मासि महादेव यो दद्यात् घृतकम्बलम् । स भुंकत्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति ।’

मकर संक्रान्ति का दिन घीउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ । मौसम अनुसार यो समय जाडो हुनाले यसलाई सामाजिक सद्भावको आधारमा पनि पुष्टि गर्न सकिन्छ । यो शास्त्रीय मान्यता हो ।

अझ यो पर्वमा तिलको विशेष महत्व रहेको छ । जसले यो समयमा ६ प्रकार बाट तिलको उपयोग गर्छ, त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने शास्त्रीय मान्यता छ ।

जस्तै : तिलले स्नान गर्नु, तिल हवन गर्नु,तिलको तेल घस्नु, पितृलाई तिल युक्त जल अर्पण गर्नु, तिल दान गर्नु र तिलयुक्त्त परिकार खुवाउनु खानु भन्ने छ ।

प्राकृतिक रूपले मात्र नभएर धार्मिक दृष्टिकोण पनिबाट महत्वपूर्ण दिन हो यो । यस दिन सूर्य दक्षिणायणबाट उत्तरायण हुने हुँदा दिनहरू लामा र रात हरू बिस्तारै छोटिदै जान्छन् । उत्तरायण सुरु भएपछि विभिन्न धार्मिक कार्य सुरु हुन्छन् ।

विवाह, ब्रतबन्ध, वास्तु, व्रतप्रारम्भ र व्रत उद्यापन लगायत ठूलाठूला यज्ञयज्ञादि पनि यति बेला नै सम्पन्न हुन्छन् । सूर्य उत्तरायण भएको बेला हुने मानिसको मृत्युलाई समेत उत्तम मानिन्छ ।

त्यसैले नै होला मृत्यु शैयामा रहेको अवस्थामा पनि भीष्मले आफ्नो मृत्युका लागि सूर्य उत्तरायण हुने समय पर्खिएको कुरा महाभारतमा समेत उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close