कति बढ्यो सगरमाथाको उचाई ?

काठमाडौं, २३ मंसिर ।
नेपाल र चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर भएको मङ्गलवार घोषणा गरेका छन्। नयाँ उचाइ यसअघि नेपालले मानिआएको उचाइभन्दा ८६ सेन्टिमिटरले बढी छ। चीनले भने यसअघि सगरमाथाको उचाइ ८,८४४ मिटर रहेको बताउँदै आएको थियो।
नेपाल र चीनले मङ्गलवार संयुक्त रूपमा आयोजित कार्यक्रममा नयाँ उचाइको घोषणा गरेका हुन्। नेपाल र चीनका सर्भे अधिकारीले छुट्टाछुट्टै गरेको सर्वेक्षणको संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय नेपालको मन्त्रिपरिषद्को मंसिर १० गतेको बैठकले गरेको थियो।
नेपालले सगरमाथाको उचाइ नापेको यो पहिलो पटक हो। सगरमाथापछिको सबैभन्दा अग्लो हिमाल केटुको उचाइ ८,६११ मिटर रहेको छ जुन पाकिस्तान-चीन सिमामा पर्दछ। बेइजिङ र काठमाण्डूमा एकसाथ कार्यक्रम गरेर उचाइ सार्वजनिक गरिएको हो।
नेपालका तर्फबाट उक्त समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल, परराष्ट्र मन्त्रालय तथा नापी विभागका उच्च अधिकारीहरू सहभागी थिए।
बेइजिङमा आयोजित समारोहमा चिनियाँ विदेशमन्त्री वाङ यीसहित त्यहाँको नापी हेर्ने निकायका उच्च अधिकारीहरू समारोहमा उपस्थित थिए।
उक्त विशेष समारोहमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी जिनपीङले सफलतापूर्वक उचाइ मापन गरिएको भन्दै बधाइ सन्देश साटासाट गरेको कुरा उक्त समारोहमा जानकारी गराइएको थियो।
राष्ट्रपति भण्डारी सन्देश वाचन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले सगरमाथाको हिउँ सहितको नयाँ उचाइ सार्वजनिक गरेका थिए । भण्डारीले यसलाई ऐतिहासिक उपलब्धि भन्दै चीन र नेपाल दुवै सरकारलाई बधाई दिएकी थिइन्।
चिनियाँ विदेशमन्त्री वाङ यीले दुइ देशको सगरमाथा नेपाल र चीनबीचको दीर्घकालीन मित्रताको सङ्केत भएको भन्दै विश्वको सर्वोच्च शिखरले दुई देशको सीमाको भूमिका निर्वाह गरिरहेको पनि उल्लेख गरेका थिए। नापी विभागका महानिर्देशक प्रकाश जोशीले नेपालले अपनाएको उचाइ मापन र सर्वेक्षण विधिबारे कार्यक्रममा प्रस्तुति दिएका थिए।