गण्डकीमा पर्वतीय खेलकूद महोत्सव हुने, १५ खेल समावेश

पोखरा, २१ पुस ।

गण्डकी प्रदेशमा आगामी फागुन २० गतेदेखि पर्वतीय खेलकूद महोत्सव आयोजना हुने भएको छ । माउन्टेन स्पोर्टस् फेडेरेशनको आयोजनामा परम्परागत तथा साहसिक पर्वतीय खेलकूदको माध्यमद्वारा दिगो पर्यटनको प्रवर्द्धनको लक्ष्यसहित आठौँ संस्करणको पर्वतीय खेलकूद महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

महोत्सवमा परम्परागत आर्चरी, ठेलो, रक क्लाइम्बिङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्री रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, ट्राइयाथलन, गल्फ, स्केट बोर्डिङलगायतका १५ खेल समावेश गरिएको छ ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्यसमेत रहेकी महोत्सवका संयोजक सुवर्ण श्रेष्ठका अनुसार चैत २० गतेसम्म सञ्चालन हुने महोत्सवमा ट्राइयाथलन र रिङ रेस्लिङमा अन्तर्राष्ट्रिय खेलाडीसमेत सहभागी हुनेछन् ।

यस्तै रिङ रेस्लिङमा जापान, मलेशिया, सिङ्गापुर, भारत, अमेरिकालगायत देशबाट खेलाडीले प्रतिस्पर्धा गर्ने र ट्राइयाथलनमा एशियाली मुलुकका खेलाडी सहभागी हुने बताइन्छ । महोत्सवमा एक हजार ५०० हाराहारीमा खेलाडी तथा ५०० अफिसियलको सहभागिता रहने आयोजकको दाबी छ ।

पोखरासहित मुस्ताङ, बागलुङ, तनहुँ, स्याङ्जा र लमजुङमा महोत्सवअन्तर्गतका खेल सञ्चालनका लागि प्रस्ताव गरिएको संयोजक श्रेष्ठले जानकारी दिइन् ।

महासङ्घका प्रदेश संयोजकसमेत रहेका गण्डकी प्रदेशसभाका सदस्य इन्द्रधारा विष्टले ‘माउन्टेन स्पोर्टस फेस्टिभल’ गण्डकी प्रदेशमा आयोजना गर्न प्रदेश सरकारसमेत निकै उत्साहित भएको बताए ।

महोत्सवका लागि सङ्घका प्रतिनिधि सम्मिलित १७ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । महोत्सव सम्पन्न गर्न एक करोड ८८ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

राखेपका सदस्य गोविन्द भट्टराईले गण्डकी प्रदेशमा आयोजना हुने महोत्सवले सुस्ताएको पर्यटन क्षेत्रलाई पुनःजागरण ल्याउन र खेल पर्यटनको विकासमा सहयोग पुग्ने दावी गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close