नेकपाका गण्डकीमा कित्ताकाट, कुन नेता कता ?

पोखरा, २९ पुस ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनसंगै राजनीतिक तनाव जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय लिएसंगै नृकपा विभाजित अवस्थामा पुगेको हो । योसंगै देशभर संसद विघटनको पक्ष र विपक्षमा आन्दोलन भइरहेको छ ।

नेकपाका दुवै समूह देशभर अलगअलग संगठन विस्तारमा लागिसकेका छन् । पार्टी संस्थापनको पक्षको लडाईँमा रहेका नेकपाको दुवै समूहले जिल्लाजिल्लामा भेला प्रशिक्षणहरू गरिरहेका छन् । दुवै समूहले पार्टीको आन्तरिक भेला प्रशिक्षण राखे पनि खुला कार्यक्रम गरेका छन् र बहुमत कार्यकर्ता देखाउने प्रयासमा छन् ।

गण्डकी प्रदेशका हरेक जिल्लामा भएका भेला प्रशिक्षणमा अगुवा कार्यकर्ताको स्पष्ट कित्ताकाट भए पनि तल्लो तहका कार्यकर्ता भने दुवै समूहको भेलामा उपस्थित भएका देखिएका छन् । पार्टीको प्रदेशदेखि जिल्ला कमिटीमा अहिलेसम्म प्रचण्ड नेपाल समूहको नेतृत्व पंक्तिमा पल्लाभारी देखिएको छ ।

गण्डकी प्रदेश सरकारमा ओली समूहको बहुमत

गण्डकी प्रदेश सरकारमा नेकपा ओली समूह बलियो छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित पाँच जना मन्त्री ओली समूहमा छन् । प्रदेशको आर्थिक मामिलामन्त्री किरण गुरुङ, पर्यटनमन्त्री विकास लम्साल, सामाजिक विकासमन्त्री नरदेवी पुन र भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत ओली समूहमा छन् ।

गण्डकीका दुई जना मन्त्री मात्रै प्रचण्ड-नेपाल समूहमा रहेका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगर मात्रै प्रचण्ड-नेपाल समूहमा छन् । गण्डकी प्रदेशका ६० सांसदमध्ये नेकपाका ४० सदस्य छन् । तीमध्ये १३ जनाबाहेक सबै ओली समूहमा लागेका छन् ।

जिल्लाका नेतृत्व को कता ?

गण्डकीको जिल्लाका नेतृत्वदायी भूमिकामा रहेका नेताहरूमध्ये बहुमत ओली समूहमा छन् । ओली समूहमा पर्वत अध्यक्ष पदम गिरी, स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैरे, तनहुँ अध्यक्ष केदार सिग्देल (विघटित प्रतिनिधिसभा सदस्य), नवलपरासी पूर्व अध्यक्ष रोशनबहादुर गाहा छन् ।

यता, प्रचण्ड-नेपाल समूहमा गोरखा अध्यक्ष लेखबहादुर मगर, बाग्लुङ अध्यक्ष ईन्द्रलाल सापकोटा र सचिव ज्ञामनाथ गैरे, नवलपरासीपूर्व सचिव मित्रशरण शर्मा, तनहुँका सचिव राजेन्द्र केशरी न्यौपाने र स्याङजाका सचिव मीनबहादुर गुरुङ छन् ।

यसैगरी पूर्वमन्त्री एवं केन्द्रीय सदस्य खगराज अधिकारी, कृषि तथा पशुपंछी विकासमन्त्री रहेकी स्याङ्जाकी पद्माकुमारी अर्याल, जगतबहादुर विश्वकर्मा, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, स्वर्गीय नेता रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई, पूर्वसभासद् सीता गिरी, राष्ट्रियसभा अध्यक्षसमेत रहेका पर्वतका गणेश तिमिल्सिना ओली समूहमा छन् । यस्तै, कांग्रेसबाट नेकपा प्रवेश गरेका प्रेमबहादुर तुलाचन र स्याङ्जाका नारायण मरासिनी पनि ओली समूहमै लागेको बताइएको छ ।

नेकपा प्रवक्तासमेत रहेका गोरखाका नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे, स्थायी कमिटी सदस्य देव गुरुङ, स्थायी कमिटी सदस्य रहेका बाग्लुङका दवेन्द्र पौडेल, गण्डकी प्रदेश सह-इन्चार्ज यशोदा सुवेदी गुरुङ, मुस्ताङकी श्रीमाया थकाली, कास्कीका श्रीनाथ बराल, तुलबहादुर गुरुङ, शारदाप्रसाद सुवेदी, चूणामणि जंगली प्रचण्ड-नेपाल समूहमा छन् ।

यस्तै, केन्द्रीय सदस्यहरू तनहुँका प्रतापलाल श्रेष्ठ, विद्या ढकाल, रेखा बस्याल, गोरखाका विश्वेश्वर कट्टेल, विकल श्रेष्ठ, खीमलाल देवकोटा, नवलपरासीका रवीन्द्र अधिकारी, कृष्ण पौडेल, किशन शर्मा गैरे, पर्वतका मोती पौडेल, उदय सुवेदी, भक्त कुँवर, गणेश शर्मा पौडेल प्रचण्ड-नेपाल समूहमा छन् ।

केन्द्रीय सदस्यहरू पिएल श्रेष्ठ, आशा कोइराला, केन्द्रीय लेखा आयोग सदस्य विद्या ढकाल, शंकरनारायण श्रेष्ठ, विघटित प्रतिनिधिसभाका सदस्य कलिला खान लगायतका नेताहरू पनि प्रचण्ड-नेपाल समूहमा छन् ।

बाग्लुङमा प्रचण्ड-नेपाल, नवलपुरमा ओली समूह बलियो

बाग्लुङ जिल्लामा नेकपा प्रचण्ड-नेपाल समूह बलियो देखिएको छ । जिल्ला इन्चार्ज बलावती शर्मा प्रचण्ड–नेपाल समूहमा र सह–इन्चार्ज मनकुमारी केसी ओली समूहमा छन् ।

सात कार्यालय सदस्यमध्ये जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटा, सचिव ज्ञामनाथ गैरे, कार्यालय सदस्य लालबहादुर थापा, बिष्णु भुसाल, फमलाल न्यूरे, चन्द्र बुढा प्रचण्ड-नेपाल समूहमा र अर्का कार्यालय सदस्य कृष्ण पाठक ओली समूहमा छन् ।

यता, नवलपुर क्षेत्र नम्बर २ बाट निर्वाचित तिलबहादुर महत क्षेत्री तथा प्रदेश सांसद रोशनबहादुर गाहा, जनकलाल श्रेष्ठ र प्रदेश समानुपातिककी लक्ष्मी सुनार ओली समूहमा छन् ।

स्थानीय तहमा निर्वाचित भएकामध्ये कावासोती नगरपालिका मेयर चन्द्रकुमारी पुन र उपमेयर प्रेमशंकर मर्दनीया तथा देवचुली नगरपालिकाकी उपमेयर पार्वता तिवारी र हुप्सेकोट गाउँपालिकाकी उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल ओली समूहमा लागेका छन् ।

नवलपुरको गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल मात्रै नेकपा प्रचण्ड-नेपाल समूहमा छन् । माधव नेपाल समूहका सक्रिय नेता विष्णु भूसाल पछिल्लो समय कित्ता बदलेर ओलीतिरै लागेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close