महारानीको राजनीति

पुस १४, २०७७ मंगलबार

पोखरा, १४ पुस ।

मदन पुरस्कार पाउनुअघि लेखक चन्द्रप्रकाश बानियाँ साहित्यका पाठकमाझ गुमनामसरह थिए । कहिल्यै कुनै पुरस्कार नपाएका उनले ‘महारानी’ उपन्यासबाट एकै पटक नेपाली साहित्यको सबैभन्दा ठूलो पुरस्कार मदन पुरस्कार पाए । लेखक स्वयंलाई चकित पार्ने यो पुरस्कार उनी हाल बस्दै आएको सहर पोखराका लागि पनि ‘सप्र्राइज’ भयो । म्याग्दीमा जन्मेका चन्द्रप्रकाशकै शब्दमा उनले मदन पुरस्कार जितेको खबर ‘पोखराका लागि हर्ष न विस्मात्’ सरह भयो ।

आइएमई नेपाल लिटरेचर फेस्टिभलको पहिलो दिनको सुरुआती सत्रमा लेखक चन्द्रप्रकाशले मदन पुरस्कारपछि पोखराको प्रतिक्रियाबारे बताए । पत्रकार राजकुमार बानियाँसँगको अन्तर्संवादमा उनले भने, ‘मदन पुरस्कार पुरस्कार पाएपछि विभिन्न संस्थाले छलफल आयोजना गर्नुभयो । त्यसबाहेक पोखराले अझै पनि मलाई चिन्दैन, गुमनाम नै छु ।’

उनले ‘महारानी’ को चर्चा आफ्ना लागि अनपेक्षित भएको समेत बताए । ‘पुरस्कृत होला भन्ने कल्पनै थिएन,’ उनले भने । म्याग्दी, पुलाको भीरमुनि जन्मेका चन्द्रप्रकाशले महारानी उपन्यास म्याग्दीको ऐतिहासिक सन्दर्भमा पर्वत राज्यलाई आधार बनाएर लेखेका छन् । उनको पारिवारिक पृष्ठभूमिका कारण पर्वत राज्यका ऐतिहासिक दस्तावेज, लोककथा, किंवदन्तीलगायत सामग्रीमा उनको पहुँच थियो ।

उनले भने, ‘पर्वत राज्यको इतिहास लेखनमा ती सामग्री उपयोग गरी इतिहास लेख्नुपर्छ भन्ने लागेर मैले कोसिस गरेँ ।’ इतिहासका सामग्री संकलन गरेपछि पनि केही कथाहरु भन्न बाँकी रहेको महशुस गरेपछि कथामार्फत इतिहास भन्न उपन्यास लेखेको उनले बताए । ‘भावी पुस्ताले पढ्न पाउनुपर्छ भन्ने पनि हो,’ उनले थपे ।

बानियाँद्वयबीचको प्रश्नोत्तरमा महारानी उपन्यासको ऐतिहासिकता र सामयिकताबारे चर्चा भयो । ‘म्याग्दीको सन्दर्भमा महारानीको पूजास्थल छ । देवी भनेर चिनिन्छ । भगवती भनेर पूजा गर्छन् तर उनी देवी वा भगवती नभएर रानी थिइन् । त्यही जानकारी दिन यो किताब लेखिएको हो,’ चन्द्रप्रकाशले भने ।

इतिहासकै घटना, इतिहासकै पात्र र ऐतिहासिक तथ्य प्रयोग गरिएकोले यो किताब इतिहासको नजिक भएको उनले दाबी गरे । लेखकलाई सरल, प्रचार नचाहने व्यक्तित्व भन्दै चिनाएका राजकुमार बानियाँले उपन्यासका कमिकमजोरी औल्याउन भने छाडेनन् । उनले सोधे, ‘नाम महारानी, तर घनश्याम पात्रमार्फत राजाकै महिमामण्डन गरिएको छ नि ?’

इतिहासका बारेमा लेख्दा वर्तमानमा उभिएर लेखिने भएको भन्दै चन्द्रप्रकाशले भने, ‘उपन्यासका राजा घनश्यामलाई उदार, न्यायप्रेमी र प्रतापी देखाउनुमा मेरो राजनीतिक आदर्श र आमआकांक्षा पनि जोडिएको छ ।’

राजा घनश्याम र अन्य केही पात्रको चरित्र निर्माणमा केही समीक्षक र पाठकले आलोचना गरेको उनले स्विकारे । तर उपन्यासमा लेखकको सोच जोडिनु स्वाभाभिक भन्दै ऐतिहासिक तथ्य तोडमरोड नगरिएको उनले बताए ।

‘तर उपन्यासमा अरु पात्रको चित्रणले महारानीको महारानीको भूमिकालाई कमजोर बनाएको जस्तो लाग्दैन ।’
लेखक चन्द्रप्रकाश २०४८ मा सांसद बनेका सक्रिय राजनीतिज्ञ पनि हुन् । तर ब्रेन ट्युमर भएपछि उनी राजनीतिमा निस्क्रिय र लेखनमा सक्रिय बन्दै गए । यही क्रममा मनग्गे पुस्तक पढेको बताए ।

‘म चमत्कारमा विश्वास गर्दिनँ । २५ वर्षदेखि क्यान्सर बोकेर मस्तिष्कमा पनि बाँचिरहेको छु । मलाई उपचार गर्ने डाक्टर नै क्यान्सरबाट बिते, म जीवित छु,’ उनले भने । प्रस्तोता बानियाँले वक्ता बानियाँलाई जिस्काएझैं गरी सोधे, ‘राजनीति छाड्नुपरेकोमा पश्चात्ताप छ कि ?’

‘मन्त्री भएको भए गाली खाइन्थ्यो होला, सराप्थे होलान् । लेखक बनेर धेरथोर प्रतिष्ठा आर्जन गरियोे, मलाई कुनै पश्चात्ताप छैन,’ उनले भने, ‘लेखनको बाटोमा हिँडेर प्रसन्न छु ।’

नेपालमा मदन पुरस्कार पाए लेखकको परिचय, पहिचान र पुस्तक बिक्रीमा ठूलै असर पारेको देखिन्छ । ‘महारानी’को हकमा पनि यस्तै नै भयो । यसले गुमनाम लेखकलाई परिचय दियो । पुस्तकको चर्चासँगै बिक्रीमा पनि सकारात्मक प्रभाव पार्यो।

यही कुरा जोड्दै प्रस्तोता बानियाँले सोधे, ‘महारानीले मदन पुरस्कार पाएपछि यसको बिक्रीबाट तपाईं कति अर्थ आर्जन गर्नुभयो त ?’

लेखकले भने, ‘पुरस्कारबाट पाएको नगदबाहेक नढाँटीभन्दा लेखकस्वबाट एक छाक भात पनि खाएको छैन ।’
आर्थिक रुपमा नाफा नभए पनि धेरैले महारानीलाई सिनेमा वा टेलिसिरियल बनाउने भनेर प्रस्ताव राखिरहेको पनि उनले जानकारी दिए। राम्रो निर्माता पाए सिनेमा बनाउने अनुमति दिने उनले बताए । भने, ‘अहिले टुंगोमा पुगिया छैन । त्यसो भयो भने मेरी महारानीलाई अझै धेरैले चिन्लान् । म पनि धेरैमाझ चिनिन्छु होला ।’