फिचर

पुस १६, २०७७ बिहिबार

-यमुना भण्डारी
काठमाडौं, १६ पुस।


अपराधी छुटाउने प्रचण्डलाई कारबाही, श्रीमान् मार्नेलाई कारबाही, छोरा जेल हाल्नेलाई कारबाही, न्याय मार्नेलाई कारबाही प्रचण्ड बाबुरामलाई हत्कडी । यी हुन्, न्यायका लागि वर्षौदेखि संघर्षरत गोरखा फुजेलकी गंगामाया अधिकारीको १२औँ अनसनका माग । उनले १२औँ पल्ट अनसन थालेको १० दिन भयो । नौ वर्षदेखि अन्न छोडेकी गंगामायाले अहिले पानी र औषधि खान छोडेकी छन् । वीर अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न थालिएपछि घरि यता घरि उता सारिए पनि अहिले नजिकैको ट्रमा सेन्टरको ७औँ तलामा गंगामाया अनसनरत छिन् ।

२०६९ साल माघ २२ मा पहिलोपल्ट गंगामाया आफ्ना पति नन्दप्रसाद अधिकारीसँग अनशन बसेकी थिइन । १२औँ पल्ट अनसन बस्दासम्म पनि उनले न न्याय पाएकी छिन् बरु सात वर्षअघि निधन भएका श्रीमानको दाहसंस्कार समेत गर्न पाएकी छैनन् । श्रीमानको शव अहिले पनि त्रिवि शिक्षण अस्पतालको शवघरको वाकसमा छ । कान्छा छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै न्यायको लडाईं लडेको वर्षौं बित्यो । तर, हत्या आरोपीलाई राज्यपक्षबाट सजाय भएन । किटानी दिएका १३ जनामध्ये १२ जनालाई चितवन जिल्ला अदालतले सफाई दिइसकेको छ ।

पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अनसन बसेको स्मरण गर्दै गंगामायाले भनिन्, 'अहिले प्रधानमन्त्री रहेका केपी ओलीले दुई पल्ट सरकार चलाए । तर, उनले केही गर्न सकेनन् । ओलीलाई आफुले प्रचण्डलाई हत्कडी लगाउन सक्छौ कि सक्दैनौँ ? भनेर सोधेको प्रश्न पनि कसैले बालुवाटार नपुर्याइदिएको गुनासो उनले गरेकी छन् । उनले भनिन्, ‘म केपी ओलीलाई सोध्छुँ, प्रचण्डलाई हत्कडी लगाउन सक्नु हुन्छ कि हुन्न ओलीज्यू ?’

न्याय पर्खिरहेकी उनलाई साथ दिनेहरु घट्दै गएका छन् । सत्तामा बस्नेहरु आफ्नो टाउकोमा गाल नपरोस् भनेर ज्यान बचाइदिने उपाय मात्रै गरिरहेका छन् । गंगामाया भन्छिन्, 'अस्पतालमा राखेका छन् । औषधि दिएका छन् । गाल बचाउन मलाई यहाँ राखेका छन् । न्याय कसले दिलाउने खोई ? अहिले मानव अधिकारकर्मीहरुले पनि बेवास्ता गर्न थालेका छन् । पहिले बोकेर हिँड्ने मानव अधिकारकर्मीहरुले त फर्केर समेत आएका छैनन् ।'

औषधिको कष्ट

डाक्टरले औषधि खान भनेका छन् । तर, उनले औषधि लिन मानेकी छैनन् । राज्यले दिने औषधि समेत उनले सहज रुपमा पाउँदिनन् । आँखामा राख्ने एउटा ड्रप लिन वीर अस्पतालका निर्देशकको तोक चाहिन्छ । वीरका निर्देशक डा. केदार प्रसाद सेन्चुरी साह्रै अफ्ठ्यारा । उनले औषधि दिनुपरे मुटु झिकेरै दिनुपरे जस्तो गर्छन् । गंगामायालाई सजिलै औषधि दिँदैनन्, उनी । यो कुरा गंगामायालाई औषधि दिने स्वास्थ्यकर्मीले समेत स्वीकारिन् ।

ती स्वास्थ्यकर्मीका अनुसार डा। सेन्चुरीले हत्तपत्त तोक लगाइदिँदैनन् । कहिले त घण्टौँ कुराउँछन्, अनि रित्तो हात फर्काउँछन् । धन्न वीर अस्पतालभित्र स्वयंसेवी संस्था संजीवनी सेवा संघ भएर गंगामायाले जसोतसो औषधि पाउँछिन् । विगत चार पाँच वर्षदेखि संजीवनीले गंगामायालाई आवश्यक औषधि र खानेकुरा दिइरहेको छ भने कहिले कहाँ त गंगामायालाई कुर्न पठाएका महिला प्रहरीले किनेर ल्याउँछन् ।

अस्पतालको फार्मेसीबाट दिइनु पर्ने औषधि संजीवनीले दिनुपरेपछि के गति होला रु र, गंगामायालाई गरेको व्यवहारबारे डाक्टर सेन्चुरीलाई सोध्दा झर्किन्छन् । उनी अरुको कुरा सुन्नै चाहँदैनन् । यस्तो व्यवहारले थकित गंगामायाले अब मर्नु परोस्, तर औषधि माग्दिन भनेकी छन् । उनी भन्छिन्, “घाँडो भएर किन बस्नु ?”

व्यथामाथि व्यथा

नौ वर्षदेखि अन्न चिन्न छोडेको शरीर कस्तो होला रु सोझै अनुमान लगाउन सकिन्छ । त्यसैमाथि गंगामायाले नौ, दश थरी औषधि लिइरहनु परेको छ । अनसन बसेको दिनदेखि औषधि छुटेपछि हात मुठ्ठी पार्न मिलिरहेको छैन भने खुट्टा सुन्निएर दायाँ बाँया सार्न सकिन्न । पहिले पहिले जाडोमा दिउँसो घाम ताप्ने गरेकोमा अहिले गंगामाया भित्रै थन्किएकी छन् । उनलाई राखिएको कोठाको सिलिङमा एसी जोडिएको छ तर, चल्दैन ।

पुरानै हिटरले एकछिन् न्यानो पार्छिन्, उनी । भेट्ने मान्छे आउँदा ३० मिनेट जति पनि उनी अढेस लगाएर बस्न सक्दिनन् । उनी नसाको मात्रै दुई थरी औषधि खान्छिन् । क्याल्सियम, मुटुको रगत पातलो पार्ने औषधि, ग्याष्ट्रिक, पिसाबको, वाथको र मुखमा घाउ आउँदा खाने औषधिले उनलाई छोडेका छैनन् । आँखाको समेत दुई थरी औषधि उनलाई चाहिन्छ ।

जेठो छोराको चिन्ता

जेठो छोरा नुरप्रसाद अधिकारी २६ महिना १६ दिन जेल परेर निस्किएको खबर मात्रै पाएकी छन्, उनले । भेट्न पाएकी छैनन् । उनलाई चिन्ता छ, छोरालाई जेलबाट निकालेर सडकमा छोडिदिए भनेर । नुरप्रसाद पाँच पल्टसम्म जेल परिसके । पछिल्लो समय उनलाई अदालतको अवहेलना र ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । आफ्नो छोरालाई झुठा मुद्दा लगाएको भन्दै गंगामाया निकै दुःखी छिन् ।

कोरोनामा बेवास्ता

कोरोना महामारीका बेला भेटघाट गर्न मिलेन । तर, गंगामायालाई अस्पतालका केही कर्मचारी र कुरुवा बाहेक कसैले सोधेनन् । सरकारमा बस्नेले त झन् स्वरै निकालेनन् भने मानव अधिकारकर्मीले पनि कोरोना महामारीमा के भयो ? कसो भयो भनी सोधेनन् । वीर अस्पताल कोरोनाका विरामीले भरिँदा गंगामायालाई मेडिकल वार्डतिर सारियो । जोखिमकैबीच फेरि ट्रमा सेन्टर सारियो । अब फेरि गाह्रो हुँदा आइसीयुका लागि वीरमै लैजानु पर्छ । गंगामायालाई ट्रमामा राखिए पनि ट्रमाले कुनै पनि सुविधा दिन मानेन । खाली क्याविन मात्रै दिएको छ, सबै थोक वीरबाटै लैजानुपर्छ ।

न्यायको आशा मर्दै

यसअघि राष्ट्र संघको नेपालस्थित कार्यालय पुगेपछि नेपालका न्यायालयले आफ्नो पीडा नसुने पनि अन्तर्राष्ट्रिय निकायले न्यायका लागि पहल गरिदेला भन्ने आश जागेको थियो, गंगामायालाई । अहिले त्यो झिनो आशा पनि मर्दै गएको देखिन्छ । उनी राष्ट्रसंघले केही गर्ला कि भनेको त्यतिबेला लिएको फाइलको कुनै प्रतिक्रिया नआएकाले झिनो आश मात्रै बाँकी रहेको बताउँछिन् ।

विकास बस्नेतले लिएको फाइलबारे कुनै जानकारी नआएको उनले बताइन् । जिल्ला अदालत चितवनले गरेको सफाइको फैसलाविरुद्ध सरकारले पुनरावलोकन हाल्नु पर्ने थियो । तर, अहिलेसम्म कुनै पहल नभएको गंगामायाले जानकारी दिइन् । किटानी जाहेरी परेका मध्ये १२ जनाले सफाई पाउँदा युरोपमा लुकेर बसेका रुद्र आचार्यको मुद्दा मुल्तवीमा छ ।

२०६१ साल जेठ २४ गते चितवन मामाघर गएका बेला गंगामायाका कान्छा छोरा कृष्णप्रसादको तत्कालीन विद्रोही माओवादीका कार्यकर्ताले हत्या गरेका थिए । हत्यारालाई कारबाहीको माग गर्दै अनसन बसेका नन्दप्रसाद अधिकारीको २०७१ असोजमा निधन भएको थियो भने गंगामाया अहिले पनि न्यायका लागि संघर्षरत छिन् ।