सम्पादकीय

पुस १७, २०७७ शुक्रबार

-हरि पन्त

पोखराको सबैभन्दा पूरानो तथा उद्योगी व्यवसायीको छाता संस्था पोखरा उद्योग वाणिज्य संघमा यस पटक पनि दुई पक्षबीच भिडन्त हुने निश्चित भएको छ । कोरोना कहरका बीचमा चुनावी प्रतिस्पर्धा नभइ सर्वसम्मत नेतृत्व चयन हुने चर्चा चले पनि दुई वटा पक्षले प्यानल नै घोषणा गरेर चुनावी मैदानमा उत्रिएपछि भिडन्त हुने सुनिश्चित भएको हो । एक पक्षको नेतृत्व वर्तमान वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले गरेका छन् भने र अर्को पक्षको नेतृत्व वर्तमान उपाध्यक्ष विन्दु कोइराला सुवेदीले गरेकी छन् । नारायण कोइरालाको प्यानललाई समावेशी समूह र विन्दु कोइराला सुवेदीको प्यानललाई स्वतन्त्र समूहको नाम दिइएको छ ।

विगतको विरासतलाई हेर्दा पोखरा उद्योग वाणिज्य संघप्रति पोखराका उद्योगी व्यवसायीको मात्र होइन पोखरेली समुदायको पनि ठूलो आशा र भरोषा छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि गरिएको आन्दोलन, पोखरामा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस स्थापनाका लागि गरिएको पहल, पोखरा सभागृह हल निर्माण र पोखराका फुटपाथ व्यवसाय व्यवस्थापन गर्ने जस्ता महत्वपूर्ण सवालमा पोखरा उद्योग वाणिज्य संघले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । साथै पोखराका हुने हरेक महत्वपूर्ण विकास निर्माणका सवालमा पोखरा उद्योग वाणिज्य संघले आफूलाई दरिलोरुपमा उभ्याउँदै आएको छ । तर पछिल्ला वर्षहरुमा संघको नेतृत्व चयन गर्दा राजनीतिक भिडन्त नै हुन थालेपछि संघले उद्योगी व्यवसायी र पोखरेली समुदायको विश्वास गुमाउन थालेको छ । यसले उद्योगी व्यवसायीमा निराशा मात्र छाएको छैन, पोखरेली समुदायले उद्योग वाणिज्य संघ नै नभएको अनुभूति गर्न थालेका छन् । यतिमात्र होइन संघ आर्थिक रुपले समेत पूर्णरुपमा थला पर्दै गएको छ ।



यस्तो अवस्थामा यहि पुस २५ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । यसका लागि पोखरामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । चुनावका लागि उम्मेदवारहरु मैदान उत्रिइसकेका छन् । कोरोना कहरका कारण उनीहरु घरदैलो अभियान सञ्चालन गर्न भने सकेका छैनन । उनीहरुले आन्तरिक भेटघाट र छलफललाई तीव्रता दिएका छन् । उम्मेदवारलाई चुनावी रन्को लागे पनि उद्योगी व्यवसायी भने निराश छन् । दुई पक्षीय भिडन्तले संघको भविष्य झनै बिग्रंदै गएको र उद्योगी व्यवसायीको समस्याप्रति संघ उदासिन बन्दै गएकोमा उनीहरु चिन्तित छन् । संघका पूर्वअध्यक्षहरु पनि पछिल्ला वर्षमा भएका राजनीतिक भिडन्तप्रति खुशी छैनन् । यही अवस्थालाई मध्यनजर गर्दै यस पटक पूर्वअध्यक्षहरुले सर्वसम्मत नेतृत्व चयन गर्न धेरै प्रयास गरे । तर सफल हुन सकेनन् । त्यसपछि पूर्वअध्यक्षहरु संघको नेतृत्व चयनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ भन्न थालेका छन् ।

यता, संघका आकांक्षी उम्मेदवारहरुले भने विषम परिस्थितिमा संघलाई गतिशील बनाएर लैजाने दावी गरेका छन् । आफूहरु लामो समयदेखि संघको विभिन्न पदमा रहेर काम गरिसकेकाले उद्योगी व्यवसायीका साथै पोखराको समस्याबारे पूर्ण जानकार रहेको भन्दै उनीहरुले सो समस्यामा दृढतापूर्वक लाग्ने स्पष्ट पारेका छन् । पोखराका उद्योगी व्यवसायीसंग भएका समस्याहरुको लिष्ट तयार गरेर समस्या समाधानमा लाग्ने र आर्थिक रुपले थला पर्दै गएको संघलाई समेत माथि उकास्न आफूले प्रयन्न गर्ने उम्मेदवारहरुको प्रतिवद्धता छ । उनीहरुको प्रतिवद्धताले कति काम गर्छ त्यो भने हेर्न बाँकी छ ।

अन्त्यमा कुनै समय निकै दवदवा रहेको पोखरा उद्योग वाणिज्य संघको छवि पछिल्लो समयमा धुमिल हुँदै गइरहेको छ । पछिल्ला वर्षहरुमा राजनीतिक रुपले नै चुनावी भिडन्त हुने र पछि जे काम गर्दा पनि राजनीतिक आस्थाकै आधारमा हुन थालेपछि उद्योगी व्यवसायीका साथै पोखरेलीको पनि आशा र विश्वास संघले गुमाउँदै गएको छ । यसैलाई मध्यनजर गर्दै आशन्न चुनावबाट उद्योगी व्यवसायीको गुनासो संवोधन गर्ने र पोखरेलीलाई पुनः आशा र भरोषा दिलाउने नेतृत्व चयन हुन आवश्यक छ । यसका लागि संघका मतदाता उद्योगी व्यवसायीले पनि सोच्न जरुरी देखिन्छ ।