मनोरञ्जन
माघ २६, २०७७ सोमबार
पोखरा : ललितपुरका सुमन लामा घिसिङ र दाङकी जेबिका रेउलेले सातौँ संस्करणको नेपाल गोल्डेन आइडलको उपाधि चुमेका छन् । पोखरामा भएको अन्तिम प्रतिस्पर्धामा सुमनले गायनतर्फको र जेबिकाले नृत्यतर्फको उपाधि चुमेका हुन् ।
प्रतियोगीतामा गायन तर्फ संखुवासभाका मदन लिम्बु फस्ट रनर्सअप र खोटाङका किस्मत चाम्लिङ राई सेकेन्ड रर्नसअप बने ।
नृत्यतर्फ कैलालीकी नेहारिका बोहोरा फस्ट रनरअप, बाँकेकी मनिषा परियार सेकेन्ड रनर्सअप र काठमाडौंकी आकृती पोखरेल थर्ड रर्नसअप घोषित भए ।
गायनतर्फका ४ जना र नृत्यतर्फका पाँच जना बीच अन्तिम प्रतिष्पर्धा भएको थियो । फाइनल पुग्नेमा गायनतर्फ काठमाडौँकी सुजिता योञ्जन र नृत्यतर्फ झापाकी स्वस्तिका काफ्ले समेत पुगेका थिए ।
प्रतियोगीताको निर्णायकमा गायक तथा संगीतकार रामभक्त जोजीजु, विनोद वानियाँ, गुरुङ फिल्मकी निर्देशक जसु गुरुङ, कोरियोग्रफर निरुता गुरुङ र छेटौं संस्करणको विजेता शेविका कोइराला थिए ।
विजेतलाई गण्डकी प्रदेशका सासंद राजीव गुरुङ (दीपक मनाङ्गे), जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बराल, गुरुङ फिल्मका कलाकार ताराबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरे । गायन तथा नृत्यमा गरी यो प्रतियोगीताका लागि देशका विभिन्न ११ स्थानमा अडिशन भएको थियो ।
अडिशनमा गायन र नृत्यतर्फ गरेर चार हजार सातसय जना सहभागी भएको गोल्डेन स्टार मल्टिमिडियाका निर्देशक सरन गुरुङले बताए ।