सम्पादकीय

फागुन ६, २०७७ बिहिबार

फागुन ७ प्रजातन्त्र दिवस । यो दिवस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरंकुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते मनाइन्छ । प्रजातन्त्र दिवस मनाउन थालिएको सात दशक पुगेको छ । प्रजातन्त्र स्थापना भएपछि पनि मुलुकमा पटक पटक प्रजातन्त्रमाथि धावा बोल्ने काम भइनै रहे । तर निरंकुश बन्न चाहने शासकको सपना भने धेरै समय कहिल्यै टिकेन । २०७ सालदेखि ०६२/६३ को जनआन्दोलनसम्म आउँदा प्रजातन्त्रकै जीत हुदै आएको छ । निरंकुशताका विरुद्व नेपाली जनताले शानदार ढंगवाट प्रतिरोध गर्दैै आए । फलतः आज हामी प्रगतिशील मानिएको राजनैतिक राज्य व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं । आजको ऐतिहासिक दिनलाई नेपालमा नयाँ युगको शुरुवात भएको दिनका रुपमा हामीले सम्झने गरेका छौं । नयाँ युगतर्फको यात्रा आरम्भ भएको आजको दिनलाई पछिल्ला केहि वर्ष नेपालका शासकले कम महत्व दिन थालेको अनुभूति गरिएको छ । 

प्रजातन्त्र, पूर्ण प्रजातन्त्र, लोकतन्त्र, या गणतन्त्र जे भने पनि नेपालमा नागरिकलाई दास ठान्ने शासकीय चरित्र एवं व्यवस्था विघटन भएको आजको दिनको ऐतिहासिकतालाई कसैले खारेज गर्न सक्दैन । प्रजातन्त्र दिवस मनाउँदै गर्दा हामीले निर्मम रुपमा समिक्षा भने गर्नैपर्ने भएको छ । प्रजातन्त्रजस्तो सुन्दर व्यवस्था जहाँ नागरिक आफुलाई लागेका कुरा निर्धक्क बोल्न पाउँछन्, आफ्ना शासक आफैले चुन्न पाउँछन्, चित्त नबुझ्दा विरोध गर्न पाउँछन् । प्रजातन्त्रमा फरक मतको सम्मान गरिन्छ भन्ने मान्यता छ । फरक मतको सम्मान गर्दै अगाडि बढने राजनैतिक व्यवस्था हो, प्रजातन्त्र । तर आज वाक स्वतन्त्रताबाहेक आम नागरिकका लागि प्रजातन्त्र किन फलदायी हुन सकेन ? प्रजातन्त्रमा दर्जनौं दल खुले, प्रजातन्त्रका लागि जेलनेल खाएकाहरु नेता, सांसद, मन्त्री र प्रधानमन्त्री भए तर जनताको जीवनस्तरमा तात्विक रुपमा परिवर्तन आउन सकेन । आज राजनीति शास्त्रका विद्यार्थीले गम्भिर रुपमा समिक्षा गर्नुपर्ने विषय यो हो । 

जनताका लागि प्रजातन्त्र किन आएन ? अभिव्यक्ति स्वतन्त्रता प्रजातन्त्रको एउटा अंश होला तर त्यो नै पूर्ण होइन । सवै नागरिकको चुलो बल्ने परिस्थिति किन बनेन ? हिजोको उत्पीडित वर्गको हातमा सत्ता किन अझै पुगेन ? आज वर्तमान राज्य व्यवस्थाकै खारेजीको माग किन भइरहेको छ ? सत्ता सधै किन हुने खानेकै कब्जामा छ ? हुँदा खानेको जीवन किन जहाँको त्यही रहेको छ ? प्रजातन्त्र दिवस मनाउँदै गर्दा मनन् गर्नुपर्ने सवाल हुन यी । जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन आउन सकेन भने यो या त्यो बहानामा दाहिने या देव्रे अतिवादले  प्रजातन्त्रमाथि हमला गर्ने जोखिम रहिरन्छ, रहिरहेको छ । प्रजातन्त्रलाई नाम मात्रको होइन, जनताको जीवनस्तरमा गुणस्तरीयता प्रदान गर्ने कामको व्यवस्थाका रुपमा विकास गर्न नेपालका राजनैतिक दलहरु चुकेकै हुन् । जनताबाट निर्वाचित संविधानसभाले बनाएको ‘नेपालको संविधान’ ले नेपाली जनतालाई पहिलो पटक सार्वभौम बनायो । लोकतान्त्रिक तथा प्रगतिशील चरित्र भएको वर्तमान संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति, सामाजिक न्याय, आर्थिक समृद्धि एवं राष्ट्रियतालाई अझ सबल र सुदृढ गर्ने महत्वपूर्ण अभिभारा बोकेको छ ।

संविधानले शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता जस्ता मौलिक हकलाई सुनिश्चित गरेको छ । मुलुक राजनीतिक खिंचातानीले समस्याग्रस्त भएको छ । यो समस्याबाट पार पाउन पुनः राजनीति सहमति, सहकार्य र एकताको आवश्यकता देखिएको छ । विभिन्न कालखण्डका संघर्षबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धि यतिबेला धमाधम संस्थागत गर्दै जानुपर्नेमा राजनीतिक कलह र एकले अर्कालाई दोषी देखाएर मात्र प्रजातन्त्र सबल एवं सुदृढ हुँदैन । प्रजातन्त्र संसारको सबैभन्दा उत्कृष्ट व्यवस्था भएको तर नेपालमा प्रजातन्त्र आएको सात दशकसम्ममा आइपुग्दा पनि विकास र समृद्धिको बाटामा नेपाल अझै पछि नै रह्यो । प्रजातान्त्रिक अभ्यासअन्तर्गत विभिन्न घटना एवं परिघटनाबाट मुलुकले धेरै क्षति व्यहोरिसकेका अवस्थामा राजनीतिक अस्थिरता पुनरावृत्ति भइरहँदा देशको समृद्धिमा बाधा पुग्छ । दिवसीय अवसरमा प्रजातन्त्रको महिमा गाउने मात्र भन्दा पनि प्रजातन्त्रको मर्मलाई आत्मसात् गर्ने सद्बुद्वि शासकमा पलाओस्, प्रजातन्त्र दिवसको शुभकामना ।