समाचार

फागुन ८, २०७७ शनिबार

पोखरा : पोखरा महानगरपालिकाका १९ वटा वडाका करिब सवा चार लाख जनसङ्ख्याले वर्षौँदेखि उपभोग गर्दै आएको पिउने पानीलाई राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डअनुसार प्रशोधन गर्ने कामको हालसम्म एक तिहाइ प्रगति भएको खानेपानी संस्थानका अधिकारीहरूले जानकारी दिएका छन्।

नेपालमा शहरी क्षेत्रमा वितरण गरिने पानीलाई प्रशोधन गरेर वितरण गरिन लागेको यो नै सबैभन्दा ठूलो आयोजना भएको पोखरा खानेपानी सुधार आयोजनाका उपप्रमुख आशिष कार्कीको दाबी छ। पोखरामा आपूर्ति हुने पानीको मूल श्रोत मर्दी खोला हो र बर्खाको समयमा धाराबाट लेदो पानी आउने आम उपभोक्ताहरूको गुनासो रहँदै आएको छ।

पूर्ण प्रशोधन

गण्डकी प्रदेशको राजधानी पोखराको मुख्य शहरी क्षेत्रमा वितरण गरिँदै आएको खानेपानीलाई पूर्णरूपमा प्रशोधन गर्न जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको अनुदान सहयोगमा काम भइरहेको छ। दूषित पानीका कारण विकासोन्मुख देशहरूका स्वास्थ्यसेवा प्रदायक संस्थाहरूमा ठूलो चाप पर्ने गरेको छ।

टाइफाइड, झाडापखाला, आउँ, हैजा जस्ता कैयन् पानीजन्य रोग नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ जारी गरेको छ। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डलाई आधार मानेर खानेपानीमा हुने भौतिक, रासायनिक र सुक्ष्म जैविक तत्वको मात्रा र स्तर निर्धारण गरिएको छ।

पानी प्रशोधन कसरी गरिन्छ ?

मर्दी खोलाबाट २० इन्च र १६ इन्च क्षमताका २ वटा ठूला पाइपबाट ४ करोड ४० लाख लिटर पानी करिब १० किलोमिटर टाढा बिन्ध्यबासिनीस्थित ट्याङ्कीमा खसालेर सामान्य क्लोरिनेशन गरेर वितरण गरिँदै आएको थियो। अब भने पानीलाई पोखरा महानगरपालिका हेम्जामा निर्माण गरिएको ग्रिड च्याम्बरमा खसालिन्छ। यहाँ खोलाबाट पानीसँगै आएका ढुङ्गा, गिट्टी, रुखका हाँगाबिँगा तथा झारपात छानिन्छ। त्यसपछि सेडिमेन्टेशन ट्याङ्कमा पठाएर पानी थिग्राएर बालुवा सिल्ट र धमिलोपन हटाउने कार्य गरिने जानकारी सन्तोषकुमार दासले दिए ।

अनि पुरनचौरमा निर्माणाधीन पाँच तहको स्लो स्यान्ड फिल्ट्रेशन युनिटमा पानीलाई थप प्रशोधन गरिन्छ। मसिनो बालुवा, मोटो बालुवा, गिट्टी र अझ ठूलो गिट्टी गरी पाँचवटा तहमा पानी छानिएर छवटा पोखरीमा पानी राखिने बताइएको छ।

ती पोखरीमा पानीलाई क्लोरिनेशन गरी अर्को पोखरीमा पुर्‍याएपछि पानीको शुद्धीकरण प्रक्रिया पूरा हुन्छ। यसरी शुद्धीकरण गरिएको पानी वितरण प्रणाली भएर उपभोक्ताको घरघरको धारामा पुग्छ।

धाराबाट सिधै पानी पिउन सकिन्छ त ?

सामान्यतः शुद्धीकरणका यी प्रक्रिया पूरा गरेपछि विदेशका कतिपय मुलुकमाजस्तै पोखरामा पनि धाराको पानी सिधै पिउनयोग्य हुन्छ। तर यो आयोजनाको करिब ३ हजार किलोमिटर वितरण प्रणाली पुरानै छ। केबल १०० किलोमिटरमात्र पानी वितरणका लागि नयाँ पाइप विछ्याइने योजना छ।

पुराना पाइपमा हुनसक्ने चुहावटका साथै अन्य कारणहरूले गर्दा त्यस्ता पाइपबाट पठाइएका पानी सबै धाराहरूबाट सिधै पिउनयोग्य नहुन सक्ने खानेपानी संस्थानका अधिकारीहरू नै औंल्याउँछन्। यो आयोजनाबाट पूरापूर लाभ लिन वितरण प्रणालीमा व्यापक सुधारको खाँचो रहेको उनीहरूको भनाइ छ।

धाराबाट सिधै पिउनयोग्य पानी पाउनका लागि पानी आपूर्ति २४ सै घन्टा हुनुपर्ने र वितरण प्रणालीको पाइपमा हावा छिर्न नहुने कतिपय विज्ञहरूको मत छ। यो आयोजनाबाट पोखराको शहरी क्षेत्रमा हाल मर्दी खोलाबाट आपूर्ति हुँदै आएको ४ करोड ४० लाख लिटर पानीलाई मात्र प्रशोधन गर्ने योजना छ भने अन्य साना खानेपानी श्रोतहरूको खानेपानी संस्थानले आफ्नै श्रोतबाट प्रशोधन गर्ने योजना रहेको बताइएको छ। पोखरामा हाल खानेपानीको दैनिक माग करिब ७ करोड लिटर छ तर संस्थानले ५ करोड लिटरमात्र उपलब्ध गराउँदै आएको छ।

लक्ष्यमा पुग्न कोरोना भाइरस बाधक

सन् २०२१ को अगस्टमा सकिने गरी शुरू गरिएको यो आयोजनाको शुरूका दिनमा लक्ष्यअनुसार काम भएको भए पनि कोरोनाभाइरसको सङ्क्रमणका कारण लक्ष्य प्रभावित भएको छ। तैपनि थप ६ महिनामा काम समाप्त गरिने लक्ष्यकासाथ युद्धस्तरमा हाल काम भइरहेको जानकारी कार्कीले दिए।

हाज्मा एन्ड कर्पोरेशन जापानले ३ अरब ८५ करोड रुपैयाँको लागतमा सक्ने गरी यो आयोजना निर्माणको जिम्मा लिएको हो। खानेपानी संस्थान र नेपाल सरकारले ७३०० घरलाई धारा वितरण एवं अन्य संरचना निर्माणका लागि थप रु ४० करोड खर्च गर्दैछ।-बीबीसी