फिचर

फागुन ११, २०७७ मंगलबार

पोखरा । फेवाताल संरक्षणमा तीन तहका सरकारको समन्वय हुनुपर्नेमा जोड दिइएको छ । सोमबार पोखराको रेडियो अन्नपूर्णको “द राउण्ड टेबल” छलफल कार्यक्रममा सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले हाल फेवातालको बाँध मर्मतको क्रममा महानगरसँगकोे समन्वय विना गण्डकी प्रदेश सरकारले काम गर्दा तालबाट माटो निकाल्ने लगायतका कार्य गर्न नसकिएको बताए । उनले पोखराको लेकसाइडदेखि घाँटीछिनासम्म एक बर्ष भित्रमा बाटो खनिएकोमा माटो व्यवस्थापन गरिने दाबी गरे ।

मेयर जिसीले आगामी बर्ष भञ्ज्याङसम्म बाटोको व्यवस्थापन गरी फेवातालमा आउने माटो रोक्नुपर्नेमा जोड दिए । अझै पनि फेवाताल संरक्षणमा प्रदेश र संघीय सरकारले उचित कदम चाल्न नसकेको उनको आरोप थियो । उनले फेवातालको मापदण्ड मिचेर बनाइएका भौतिक संरचना ढिलोचाँडो महानगरले भत्काउने चेतावनी दिदै फेवातालको पानीमुनि लालपूर्जा हुनेले उचित मूआब्जा पाउने स्पष्ट पारे ।

अध्ययन एवं प्रतिवेदनहरु एकरुपता छैन

फेवाताल सीमांकन नक्सांकन समितिका संयोजक पुण्य पौडेलले फेवातालको सीमांकनको काम सकिएसँगै नक्सांकनको काम सजिलैसँग गर्ने दाबी गरे । २०१० सालदेखि २०७२ सालसम्म भए गरेका फेवाताल सम्बन्धी अध्ययन एवं प्रतिवेदनहरु हेर्दा एकरुपता नभएको उनले बताए । 

उनले भने, “बर्षायाममा पानीले ढाकेको जमिन, निरन्तर रुपमा बग्ने भकुण्डे खोला सर्भेसमेत गरेका छौं ।” विश्वप्रकाश लामिछानेको प्रतिवेदनमा चार किल्लामा आफूहरु समेत सहमत भएको पौडेलले जनाए ।

वास्तविक फेवाताल कस्तो ?

पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख प्रा.डा. देवेन्द्र लामिछानेले करिब २५ सय वर्ष अघि फेवाताल निर्माण भएको दावी गर्दै त्यतिबेला फेवातालको लम्बाई करिब १० किलोमिटर भएको बताए । 

फिस्टेल लजबाट शुरु भएर पश्चिममा ठूलाखेत हुँदै हर्पणखोलाको पञ्चासे पहाडको फेदीसम्म फेवाताल फैलिएको उनको दावी छ । त्यसपछि क्रमशः विभिन्न चरणमा आएका बाढी पहिरोले फेवाताललाई पुर्दै जाँदा फेवातालको आकार अहिलेको अवस्थामा पुगेको उनले बताए । 

बाँध खोल्नुभन्दा अघि तालले ओगटेको क्षेत्रफल तालको वास्तविक क्षेत्रफल भएको  डा. लामिछानेको भनाइ छ । फेवातालको संरक्षणका लागि ताल भन्दा माथिल्लो भेगबाट आउने र खहरे खोलाले ल्याउने ढुंगा, माटोलाई नियन्त्रण गर्नुपर्ने उनको तर्क थियो ।

सीमांकन तथा नक्सांकनको काम ४५ प्रतिशत 

नापी कार्यालय कास्कीका प्रमुख इन्जिनियर खीमलाल गौतमले समितिको सहकार्यमा आफूहरुले फेवातालको सीमांकन तथा नक्सांकनको काम ४५ प्रतिशत सम्पन्न गरेको दाबी गरे । उनले भने, “ऐतिहासिक तथ्य, सर्भे र अग्रजको भनाइलाई आधार बनाएर हामीले फिल्ड सर्भे गर्दैछौं ।” फेवातालको बारेमा यस अघि भएका अध्ययनको आधारलाई पनि आफूहरुले अध्ययन तथा अवलोकन गरेको उनले बताए ।

विश्वप्रकाश लामिछानेको यस्तो दावी

पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले नौ हजार ९५५ रोपनी जग्गा पानीले ढाकेको जानकारी गराए । २०३४/०३५ सालतिर नापीले फिल्डमा नगई कागजीरुपमा केही व्यक्ति विशेषले दर्ता गरेको भेटिएको उनले बताए । 

१० हजार ६३ रोपनी जग्गामध्ये २१ सय १ रोपनी जग्गा विवादित भएको पाइएको उनले स्पष्ट पारे । १६ सय ९२ रोपनी जग्गा पानीमुनि भएकोले राज्यको ध्यान पुग्नुपर्छ भनेर आफूहरुले सुझाव दिइँदै आएको उनको भनाइ छ ।

सरोकारवालाको सुझाव

वरिष्ठ पर्यटन व्यवसायी हरि पौडेलले फेवातालको कारण पोखराको लेकसाइडमा मात्र करिब ५० हजार जनाले प्रत्यक्षरुपमा रोजगार प्राप्त गरेकोले फेवातालको संरक्षणका लागि अब योजना बनाएर काम गर्नुपर्ने बताए । 

वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले कुनै व्यक्तिले सरकारी जग्गा अधिग्रहण गरेमा कुनै पनि बेलामा बदर हुने कानूनी व्यवस्था रहेको बताए । कार्यक्रम संचालन रेडियो अन्नपूर्णकर्मी वासु मिश्रले गरेका थिए ।