समाचार

फागुन १३, २०७७ बिहिबार

पोखरा । इन्डोनेसियामा कोरोना भाइरस विरुद्धको खोप शिक्षकहरूलाई लगाउन थालिएको छ । राष्ट्रपति जोको विडोडोले बुधबारदेखि विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई खोप लगाउन थालिएको बताए । ‘उनले भने’ ‘देशका ३३ प्रान्तमा खोप अभियान सुरु गरिएको छ । यो क्रम केही समय चलिरहने  छ ।’

देशभरी झण्डै ५० लाख शिक्षक तथा विद्यालय कर्मचारीहरू रहेकाले उनीहरूलाई आगामी जुलाईसम्ममा खोप लगाएर सकिने सरकारी अधिकारीहरूको अनुमान छ । ‘राष्ट्रपति विडोडोले भने’ ‘शिक्षक तथा विद्यालयका कर्मचारीहरूले लाखौँ विद्यार्थीहरूसँग प्रत्यक्ष संसर्गमा रहेर काम गर्नुपर्ने भएकाले उनीहरूलाई प्राथमिकताको सूचीमा राखेर खोप लगाउन थालिएको हो ।’

इन्डोनेसियामा आमरूपमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान गत जनवरी १३ तारिखदेखि सुरु भएको हो । इन्डोनेसियामा अहिले दुई करोड ८० लाख चिनियाँ खोप रहेको र त्यो लगाउने क्रम चलिरहेको अधिकारीहरूले जनाएका छन् । -रासस