समाचार

फागुन १४, २०७७ शुक्रबार

हरि पन्त

पोखरा । देशकै प्रमुख पर्यटकीय नगरी पोखरामा रहेका सम्पदाहरुलाई संरक्षण, संवद्र्धन र प्रचारप्रसारमा वेवास्ता गरिंदा लोप हुने अवस्थामा पुगेका छन् ।  पोखरा महानगरपालिका वडा नं. १४, हवेलीमार्गस्थित मान्द्रेढुंगा यसको ज्वलन्त उदाहरण हो । 

करिब साढे तीन आना जग्गामा फैलिएको मान्द्रेढुंगा ऐतिहासिक ढुंगा हो । धान सुकाउने मान्द्रोको आकृतिमा फैलिएर रहेको उक्त ढुंगा पहिला विशाल फाँटको बीचमा रहेको थियो । यसअघि जहाँबाट पनि उक्त ढुंगोलाई सजिलै देख्न सकिन्थ्यो । तर अहिले उक्त ढुंगो वस्ती विस्तारका साथै मानवीय अतिक्रमणको चपेटामा परेको छ । 

कृषकहरुले धान सुकाउने, फाँटमा काम गर्दा बसेर खाजा खाने र आराम गर्ने स्थलको रुपमा यो ढुंगा प्रयोग गर्ने गर्दथे । पहिले भर्याङ लगाएर ढुंगोमा चढ्नु पर्दथ्यो भने अहिले माटोले पुरिंदै गएर ढुंगो कता छ भनेर खोज्नुपर्ने अवस्था आएको छ । 

किंवदन्ति अनुसार यस ढुंगो भगवान शिवले ठेलो हान्दा उछिट्टिएर त्यस ठाउँमा आएर बसेको हो । यस ढुंगालाई नागदेवताको रुपमा पनि पुजिंदै आएको छ । ऐतिहासिक मान्द्रेढुंगो विस्तारै लोप हुने अवस्थामा पुगेपछि स्थानीय चिन्तित छन् । यसको संरक्षण, संवद्र्धन र प्रचारप्रसारका लागि कतैबाट पनि पहल नभएको उनीहरुको गुनासो छ । 

अहिले ढुंगोको प्रचार प्रचारका लागि स्थानीय जुट्न थालेका छन् । ढुंगाकै नामबाट टोल विकास संस्था, महिला समूह, सहकारी लगायतका संघसंस्था खुलेका छन् । साथै ढुंगो संरक्षण र टोल विकासका लागि मान्द्रेढुंगा टोल विकास संस्थाले भवन निर्माणको काम पनि अघि बढाएको छ । 

पोखराको मुख्य बजार अमरसिंहचोकबाट मात्र एक किलोमिटरको दूरीमा उक्त ढुंगो रहेको छ । संस्कृतिविद केदारनाथ पौडेल पर्यटकीय सम्भावना बोकेको भएर पनि सम्बन्धित निकायले वेवास्ता गर्दा ढुंगो अझै लोप हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्छन् । ढुंगोलाई फुटाउन, स्थान परिवर्तन गर्न पनि नहुने उनको भनाइ छ ।

स्थानीय जगतप्रसाद सुवेदीका अनुसार पहिला बालकदेखि वृद्धसम्मका लागि अति उपयुक्त मान्द्रे ढुंगो कुनै समय निकै परिचित थियो । अहिले ढुंगो कहाँ छ र कस्तो अवस्थामा छ भनेर खोज्नुपर्ने अवस्थामा पुगेको उनी बताउँछन् । 

स्थानीय युवा किरण अधिकारीका अनुसार ढुंगाको संरक्षणका लागि कतैबाट पनि पहल नभएपछि यतिबेला युवाहरु अग्रसर भएका छन् । ढुंगामाथि पार्क र बालबाटिका लगायतका संरचना निर्माण गरि ढुंगाको संरक्षण गर्न युवाहरु जुटेको उनले बताए ।

यता, पोखरा महानगरपालिकाले भने मान्द्रेढुंगाको संरक्षणका लागि अब ध्यान दिने जनाएको छ । महानगरमा मेयर मानबहादुर जिसीले मान्द्रेढुंगा मात्र होइन पोखरामा रहेर लोप हुने अवस्थामा पुगेका सबै सम्पदाको संरक्षण गर्न प्रतिवद्ध रहेको बताए । आफ्नो क्षेत्रको सम्पदा संरक्षणका लागि सोही ठाउँका स्थानीय ग्रसर हुन आवश्यक रहेको भन्दै उनले आवश्यक सहयोग गर्न महानगरपालिका तयार रहेको स्पष्ट पारे । 

भिडियोमा हेरौं मान्द्रेढुंगा