गण्डकी

फागुन १६, २०७७ आइतबार

पोखरा । पोखरा महानगरपालिकाले साविक लेखनाथस्थित तालहरुको सीमांकन, नक्सांकन तथा मापदण्डबारे विज्ञ एवं सरोकारवालासहित छलफल भएको छ । यस सम्बन्धमा अध्ययन गरी सिफारिस गर्न दुई महिना अघि समिति गठन भएको र सो समितिले छलफल अघि बढाएको हो । 

पोखरा महानगरपालिकाले फेवातालको संरक्षणका लागि सिल्ट्रेसन ड्याम निर्माण गर्नुको साथै नापी कार्यालय कास्की प्राविधिक सहयोगमा फेवातालको सीमांकन तथा नक्सांकन प्रतिवेदन तयार पारी नेपाल सरकार समक्ष पेश गरिसकेको छ । 

फेवातालको जस्तै साविक लेखनाथस्थित तालहरुको मापदण्ड सम्बन्धमा पोखरा महानगरपालिका वडा नं. २६ देखि ३१ सम्मका नागरिकले संरक्षणका लागि  आवाज उठाउँदै आएका थिए । सोही बमोजिम पोखरा महानगरले ताल संरक्षण तथा मापदण्ड सम्बन्धमा अध्ययनका लागि समिति नै बनाएर अध्ययन कार्य अघि बढाएको थियो ।

कार्यक्रमका सांसद खगराज अधिकारीले पोखरा महानगरपालिकाको शान बनेका तालहरुको संरक्षण आजको आवश्यकता भएकोले बताए । उनले ताल संरक्षणका लागि एकीकृत ताल संरक्षण आयोजना निर्माण गरि अघि बढाउनुका साथै जनतालाई असहज नहुने गरि मापदण्ड निर्धारण गरि अघि बढाउनुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका संयोजक डा. सोमनाथ सापकोटाले हालको अवस्था एव अध्ययनको प्रगति, बेगनास तालको अवस्थाबारे नापी कार्यालय कास्कीका प्रमुख खिमलाल गौतम, रुपा तालको अवस्था र रुपा एकीकृत परियोजनाका बारेमा आयोजना प्रमुख ई. तुलसी भट्टराइले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम संचालन पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश कुमार बरालले गरेका थिए ।
    
तालहरुको सीमाकंन तथा नक्सांकन तथा मापदण्ड सम्बन्धी अध्ययन गरि सिफारिस गर्न बनेको समितिले समितिले अध्ययनका लागि तीन महिनाको समय प्राप्त गरेको र अध्ययन एवं सुझाव संकलनको कार्य द्रुतरुपमा अघि बढाइएको समितिका सदस्यसचिव अशोक कुमार सुनारले जानकारी दिए । 

समितिमा नापी कार्यालय कास्कीका प्रमुख खिमलाल गौतम, गण्डकी ताल विकास प्राधिकरणका कार्यकारी प्रमुख डा. अनुप गुरुङ, मालपोत कार्यालय लेखनाथको प्रमुख हरि भुजेल, पोखरा महानगरपालिकाको इन्जिनियर जगन्नाथ कोइराला सदस्य छन् ।

बेगनास ताल पोखरा आउने पर्यटकको लागि एउटा लोकप्रिय गन्तवयको रूपमा रहेको छ । यस तालको पानीलाई सिंचाईका लागि प्रयोग गर्ने गरिन्छ र तालको केही हिस्सामा माछापालन गरेर सो क्षेत्रको उपयोग गर्ने गरिएको छ । बेगनास तालको कैयौं क्षेत्रमा दलदल रहेको हुनाले सो क्षेत्रमा हाल धानको खेती गर्ने गरिन्छ । बेगनासताल पोखरा शहरको एक प्रमुख पर्यटकीय आकर्षणको गन्तव्य हो ।

फेवातालपछि सबैभन्दा धेरै पयर्टक आउने तालको रुपमा रहेको बेगनास ताल, कास्कीको पूर्वी आकर्षक बनेको रुपाताल क्षेत्र, मुहार फेर्दै गरेको दिपांगताल, खास्टे, न्यूरेनी, गुदे, मैदी तालहरु पोखरा महानगरका थप गहना हुन् । तर यिनै तालहरुको संरक्षणका लागि दीर्घकालिन योजना नबनेको सम्बन्धमा बेलाबेला आवाज उठ्दै आइरहेको छ ।