राजनीति

फागुन १६, २०७७ आइतबार

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले स्वर्गीय रविन्द्र अधिकारी सबै जनताको लोकप्रिय नेता भएको बताएका छन् । स्वर्गीय अधिकारीको दोश्रो वार्षिक स्मृति दिवसको अवसर पारि रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले हरिहर गुफा सन्यास आश्रममा आयोजित सहयोग सामाग्री वितरण कार्यक्रममा मन्त्री गुरुङले राजनीति गर्नु ठूलो कुरा नभई राजनीति गर्दै गर्दा जनताको मन जित्नु ठूलो कुरा भएको र त्यस्तो गुण स्वर्गीय रविन्द्र अधिकारीमा मात्र भएको बताए । 

मन्त्री गुरुङले सबैले राजनीतिमा लागेर चुनाव जितेर सांसद र मन्त्री हुँदैमा जनताको मन जित्न र जनताले चिन्न नसक्ने बताउँदै रविन्द्र अधिकारी जनताको मन जित्न सफल नेता समेत रहेको बताए । 
उनले तत्कालिन समयमा निर्दलीय निरंकुश व्यवस्था भएको समयमा राजनीतिमा होमिने क्रान्तिकारी निडर नेताको रुपमा रविन्द्र अधिकारीलाई आफूले चिन्ने गरेको बताए । 

मन्त्री गुरुङले तत्कालिन समयमा नेकपा माले हँुदाखेरि रविन्द्र अधिकारी मालेको विद्यार्थी संगठनमा आवद्ध भएर राजनीतिमा लागेको र सोही समयमा आफ्नो भेट रविन्द्र अधिकारीसंग भएको बताउदै विद्यार्थी राजनीतिबाट राजनीतिमा लागेका अधिकारी कहिल्यै पछाडि फर्किनु नपरेको बताए । 

निर्दलीय ब्यवस्था रहेको बेलामा राजनीति कसैले मन नपराउने गरेको र निरंकुश ब्यवस्था भएका कारण जेल जानुपर्ने शासकहरुले विभिन्न तवरको दुःख दिने र दुःख खेप्नुपर्ने त्यो वेला कम्युनिष्ट आन्दोलनमा लाग्ने र आकर्षित हुने ब्यक्ति मध्ये रविन्द्र अधिकारी भएको गुरुङको भनाइ थियो ।  

हरिहर गुफा सन्यास आश्रमका उपाध्यक्ष अर्जुन खत्रीले रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले प्रदान गरेको सहयोग सामाग्रीले आश्रममा रहेका वृद्धवृद्धा र विद्यार्थीहरुलाई राहत पुग्ने बताउँदै सहयोगप्रति आभार प्रकट गरे । 

रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराइले स्वर्गीय रविन्द्र अधिकारी पर्यटन मन्त्री हुँदा बखत हरिहर गुफामा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेको र सोही अनुरुप आफू पनि संघीय संसदमा पुगेपछि उक्त क्षेत्रमा सहयोग गर्दै आइरहेको र स्मृति दिवसको अवसरमा पनि सानो भए पनि सहयोग गर्न पाउँदा खुशी लागेको वताइन् । 

२०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका अधिकारीको स्मृति दिवसको अवसर पारी रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले पोखरा महानगरपालिका वडा नम्बर २० मा रहेको हरिहर गुफा सन्यास आश्रममा आश्रित बृद्धवृद्धा र विद्यार्थीहरुलाई लक्षित गरी सहयोग सामग्री प्रदान गरिएको हो ।