गण्डकी

फागुन २४, २०७७ सोमबार

पोखरा । पोखराको फेवाताल संरक्षणमा तल्लो र माथिल्लो तटीय क्षेत्रबाटै दिगोरुपमा संरक्षण हुनुपर्नेमा जोड दिइएको छ । पोखराको रेडियो अन्नपूर्णको द राउण्ड टेबलमा सहभागीले फेवातालको दिगोरुपमा संरक्षण गर्न तल्लो र माथिल्लो तटीय क्षेत्रबाटै बृहत योजनाका साथ संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।

पृथ्वीनारायण क्याम्पसका पूर्वक्याम्पस प्रमुख प्रा.डा. देवेन्द्र लामिछानेले गरेको एक अध्ययन अनुसार बार्षिकरुपमा फेवातालमा एक लाख ४० हजार मेट्रिक्टन ढुंगा, गिटी, वालुवा, माटोसहितको लेदो वस्तु फेवातालमा मिसिंदै आएको बताए । उनले पछिल्लो समयमा फेवाताल अतिक्रमण हुँदै गएकोले त्यसको संरक्षणका लागि माथिल्लो भागबाटै नियन्त्रण गर्न तल्लो क्षेत्रमा रहेकाले केही सहयोग गर्नुपर्ने स्पष्ट पारे । 

वैज्ञानिक ढंगले फेवातालको सीमाङ्कन : पौडेल

फेवाताल सीमांकन, नक्साकन समितिका संयोजक पुण्यप्रसाद पौडेलले बर्खायाममा पानीले ढाकेको भागको आधारमा, भकुण्डे खोलाको आधारमा, ड्रोन सर्भे, लामिछानेसहितका आयोगका प्रतिवेदनको आधारमा ट्रोनोग्राफीको लगायतका आधारमा वैज्ञानिक ढंगले फेवातालको सीमाङ्कन गरिएको दाबी गरे । 

ताल भित्रको दुषित जग्गा भने अब पक्ता लगाउने गरी दोश्रो चरणमा काम गर्ने भन्दै पौडेलले भकुण्डे खोला भन्दा माथिल्लो भागसम्म लामिछाने आयोगले तालको जग्गा भनि उल्लेख गरेकोले केही विवादित जस्तो देखिएको जिकिर गरे ।

भकुण्डे खोला भन्दा माथि तालको जग्गा हो भन्ने आफूहरुसंग प्रमाण नभएकोले त्यसलाई तालको जग्गाको रुपमा समेट्न नसकेको संयोजक पौडेलको भनाइ छ । माथिल्लो तटीय जलाधार क्षेत्रको संरक्षण विना तालको संरक्षण नहुने उनले बताए । 

लामिछानेको चिन्ता

पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले हाल गठन भएको फेवाताल सिींमाकन, नक्साकन समितिले आफूहरुले निर्धारण गरेको चार किल्ला र पानी मुनिको जग्गा लगभग एउटै भए पनि क्षेत्रफल घटेकोमा चिन्ता प्रकट गरे ।

१२ हजार ८७४ रोपनी क्षेत्रफलको जग्गा हाल खुम्चिएर ११ हजार २५५ रोपनी जग्गा मात्र फेवातालको हो भनि सीमाङ्कन हुनु गलत भएको उनको प्रतिक्रिया छ । अब दुषित र सिंसार जग्गा वज्ञानिक ढंगले छुट्टाउनुपर्ने उनको भनाइ छ । 

एक हजार ६९२ रोपनी जग्गा तालको पानीमुनि भएको लामिछानेले जनाए । तालभित्र पर्ने केही जग्गामा हाल घर तथा भवनका संरचना बनेकोले पानीको सतहले तालको आकार लिन्छ भन्नु गलत सावित हुने उनको तर्क छ ।

अब फेवातालको वहस गर्नुपर्दैन : गौतम

समितिका सदस्य सचिव एवं नापी कार्यालय कास्कीका प्रमुख इन्जिनियर खिमलाल गौतमले यसपटक धेरै ढंगले फेवातालको सीमाङ्कनका बारेमा अध्ययन अनुसन्धान गरेको आधारमा राजपत्रमा प्रकाशित भएकोले अब फेतावालको सीमाङकनको बारेमा धेरै बहस गर्नुपर्ने अवस्था नरहेको बताए । 

‘उनले भने, ‘यसअघि पनि विभिन्न आयोग, समितिहरु बने तर त्यसलाई सरकारले मान्यता दिन सकेन तर यसपटक बनेको समितिले दिएको रिपोर्टलाई सरकारले मान्यता दिएर राजपत्रमा पहिलो पटक प्रकाशन गरेकोले अब त्यसलाई मान्नुको विकल्प छैन । यसमा धेरै छलफल गर्न आवश्यक देख्दिन मैले ।’

तालको जग्गा निष्पक्ष ढंगले खोज्नुपर्छ: भट्टराई

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले फेवातालको दिगो संरक्षणमा माथिल्लो र तल्लो भेगका स्थानीयले के कस्तो रणनीतिक कार्य गर्ने त्यसको स्पष्ट नीति आएमा त्यसको कार्यान्वयन गर्न आफूहरु तयार रहेको बताए । 

फेवातालको सीमाङ्कन पनि हाल केही विवादित भएकोले अब हुने दुषित जग्गा पहिचानसहित तालको वास्तविक जग्गा खोजी अभियानमा निष्पक्ष ढंगबाट गर्न उनले आग्रह गरे । समितिमा पर्यटन व्यवसायी एवं स्थानिीयहरुकोसमेत सहभागिता गराएको भए थप प्रभावकारी र विश्वसनीय हुने भट्टराइको भनाइ थियो । 

तालका किनारामा रहेका स्थानीय एवं पर्यटन व्यवसायीहरु त्रासमै रहेकोले तालको निश्चित मापदण्ड कति हो (३०, ३५, ६५ मिटर) त्यसको एकिन गरेर बैंकिङ कारोवारको बाटो खुला बनाउनु पर्नेमा अध्यक्ष भट्टराईले जोड दिए । 

ताल किनारामा धेरै समयदेखि घर जग्गा रोक्का भएकोेले आत्म हत्या समेत हुन सक्ने घटना हुन सक्ने उनले चेतावनी दिए । फेवातालको माथिल्लो माग पखौंदी क्षेत्रमा धमाधम रातरात तालको सिंसार क्षेत्र पूरेर होटल तथा रेष्टुरेण्टसहितका भौतिक संरचना निर्माण भएको भट्टराईले दावी गरे ।

फेवातालको सीमांकन उपयुक्त : सापकोटा

भूगर्भविद सोमनाथ सापकोटाले लामिछाने र पौडेलको संयोजकत्वमा गठन भएको समितिले ल्याएको फेवातालको सीमाङक्न ठिकै भएको बताए । पछिल्लो समितिले नयाँ प्रविधि प्रयोग गर्दा केही फरक हुनु स्वभाविक भएको उनको भनाइ थियो । फेवाताललाई अंकमाल गरेर ताल संरक्षण र त्यसबाट उच्चतम फाइदा लिनुपर्ने भीगर्भविद सापकोटाको सुझाव छ । 

हर्पन खोलाले डुंगा गिटी र माटोसहित लेदो वस्तु बगाएर ल्याउने हुँदा अघाएको अजिङ्गर जसरी नागवेली ढंगले हिंडेको उनले दाबी गरे । पोखरामा सेफ्टी ट्याङ्कीको अधिकांश फोहोरजन्य वस्तु तालमा पुग्ने हुँदा सेफ्टी ट्यांकीको फोहोर नयाँ ढंगले बायो ग्याँससहितका नयाँ प्रविधिमा प्रयोग गर्नुपर्ने उनले बताए । 

फेवातालको तल्लो भागमा मात्र संरक्षण गर्नुले तालको दिगोरुपमा संरक्षण नहुने दाबी गर्दै उनले तालको माथिल्लो भागसम्म एकीकृत योजना हुनु पर्ने बताए । कार्यक्रमको संचालन रेडियो अन्नपूर्णकर्मी वासु मिश्रले गरेका थिए ।