फिचर

चैत २, २०७७ सोमबार

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसंगै हवाई उडान संचालनका लागि तत्काल पहल गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । पोखरास्थित रेडियो अन्नपूर्णले आयोजना गरेको सरोकारवालाहरुसंगको छलफलमा  वक्ताहरुले विमानस्थल निर्माण भएसंगै त्यसलाई संचालनका लागि अन्तर्राष्ट्रिय हवाई उडान गर्न तत्काल पहल गर्नुपर्नेमा जोड दिएका हुन् ।

पोखरा विमानस्थल निर्माण कार्य हालसम्म करिब ६६ प्रतिशत निर्माण कार्य सम्पन्न भएसंगै केही बाधा अड्चन आएकाले त्यसलाई सरोकार निकायले समयमै समस्या समाधान गर्न आग्रह गरेका छन् ।

७२ प्रतिशत काम सम्पन्न

पोखरा विमानस्थल कार्यन्वयन इकाई परामर्श समितिका इन्जिनियर यामबहादुर भण्डारीले पोखरा विमानस्थल निर्माणको कार्य अन्तर्गत भौतिक प्रगति ७२ प्रतिशत सम्पन्न भएको जानकारी दिए । 

उनले तोकिएको समय सीमाभित्र योजनाको निर्माण कार्य सक्ने गरी निर्माण कार्य अघि बढेको बताए । हाल दैनिक तीनसय चाइनिज र चारसय नेपाली कामदार योजनामा लागिपरेको ई. भण्डारीले स्पष्ट पारे । 

पोखरामा ल्याण्डफिल्ड साइडको व्यवस्थापन, इन्धन डिपो स्थापना, रिट्टेपानी डाँडा कटान, विमानस्थलमा बर्खायाममा आउने भलपानी व्यवस्थापन गर्न, थप केही जग्गा अधिग्रहण गर्नुपर्ने लगायतका केही समस्या रहेको भण्डारीले बताए । पोखराबाट अन्तर्राष्ट्रिय स्तरकै हवाई उडान हुने हुँदा अब पोखरा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको नाम जोडिराख्नु नपर्ने उनको भनाइ थियो । 

वाइडवडी (ठूलो जहाज) ल्याउन धावन मार्ग भएर मात्र नहुने भन्दै इन्जिनियर भण्डारीले अन्य भौतिक पूर्वाधार र चारैतर्फ थप जग्गा आवश्यक पर्ने स्पष्ट पारे ।  

अझै पनि आशंका

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले देश संघीयतामा गएसंगै अझै पनि केन्द्रिकृत सोंचले गर्दा यसको मारमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि पर्न सक्ने आशंका गरे । विमानस्थल निर्माण कार्य सम्पन्न भए पनि यसले अन्तर्राष्ट्रिय हवाई उडानमा केही समस्या आउन सक्ने भएकोेले त्यसको सामना गर्न सरोकारवाला पक्ष र मिडिया बढी चनाखो हुनु पर्नेमा उनले जोड दिए ।

पोखरा विमानस्थल निर्माण भएसंगै अब छिमेकी मुलुक चाइना र भारत लगायतका देशका केही शहरबाट सिधा हवाई सेवा पोखरासम्म जोड्दा पोखरा क्षेत्रलाई धेरै फाइदा हुने भण्डारीले दावी गरे । एभरेष्ट क्षेत्र भन्दा पोखरा अन्नपूर्ण क्षेत्रमा बढी पर्यटक आउने हुँदा पोखरा क्षेत्रमा अन्तर्राष्ट्रिय हवाई उडान भएसंगै यसले उडान चलायमान गराउन सक्ने उनले बताए । ८० प्रतिशत जसो नेपालमा विदेशी पर्यटकहरु नेपाल भ्रमणमा आउने हुँदा हवाई उडानलाई नै बढी व्यवस्थित र विश्व बजारमा प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ थियो । 

उनका अनुसार सिंगापुरमा पर्यटकको बसाई अवधि तीन दिनको हो, नेपालमा पर्यटकको बसाई अवधि १२ दिन मानिन्छ । सिंगापुरमा एक करोड पर्यंटक आउनु र नेपालमा २५ लाख पर्यटक आउनु नेपालमा २५ लाख पर्यटक आउनुले बढी फाइदा लिन सकिन्छ ।

पोखरा विमानस्थल निर्माणका एक अभियान्ता विश्वशंकर पालिखेले पोखरा विमानस्थल निर्माण कम्पनीले नेपाल सरकारलाई विमानस्थल निर्माण कार्य सम्पन्नता भएको हस्तान्तरण गर्ने दिन नजिकिदै गर्दा विमानस्थल संचालन हुनेमा केही आशंका रहेको बताए । 

समयसीमा भित्र चाइना कम्पनीले विमानस्थल निर्माण कार्य सकेपनि पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्नका लागि हालसम्म खासै पहल नभएकोेले केही ढिलाई हुन सक्ने उनले बताए । 
उनले भने, “अझै पनि केन्द्रिकृत सोचले गर्दा पोखरा विमानस्थलले प्रथामिकता नपाउने होकि भन्ने हाम्रो चिन्त्ता हो । नियतवस पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई असफल बनाउने कार्यमा केही शक्ति लागेका होलान्, हवाई उडानका लागि जुनरुपमा गर्नु पर्ने गृहकार्य क्यान र नेपाल सरकारले खासै गरेको पाइएको छैन ।”

केन्द्रिकृत साेंचको उपज पोखराको क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको नामाङ्करण भएको अभियान्ता पालिखेको भनाइ छ । तीन हजार मिटरको धावन मार्ग हुने अपेक्षा गरेकोमा दुई हजार पाँच सय मिटरको मात्र बनेकोमा उनको चिन्ता छ 

पालिखेले पोखराको वरिपरी डाँडा काँडा भए पनि तीन हजार मिटरको रनवे भएमा अन्तर्राष्ट्रिय हवाई उडान हुन सक्ने दाबी गरे । नेपाल आउने सिमरा र नेपालगञ्जको मात्र हवाई मार्ग भएकोले हवाई ट्राफिक जाम हुने हँुदा भारतसंगको सहकार्यमा हवाई उडान गर्दा समन्वय गर्नुपर्ने अवस्था रहेको पालिखेको भनाइ छ । राष्ट्रिय गौरवको योजना अनुरुप अन्तर्राष्ट्रिय हवाई उडान गर्ने विषयमा पोखरा विमानस्थलको बिषयमा समेत गम्भीर हुन उनले आग्रह गरे ।

निजी क्षेत्र सहकार्य गर्न तयार

पोखराका पर्यटन व्यवसायी वासु त्रिपाठीले पोखरा विमानस्थल निर्माण भएसंगै सरकारले विमानस्थल संचालन गरेसंगै त्यसलाई दिगोरुपमा लैजान निजी क्षेत्रले सहकार्य गर्न तयार रहेको बताए । पोखरामा करिब १० लाख पर्यटक भित्रिएको अवस्थामा, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालन भएको खण्डमा पोखरामा वार्षिक २५ लाख पर्यटक भित्र्याउन सकिने उनले दाबी गरे । 

२४ सय दुई जना अनशनमा बसेर सिंहदरवारसम्म घेर्न पुगेका पोखरेलीले पोखरा विमानस्थल संचालनमा कुनै ढिलाई गरेमा पुनः अर्को धक्का दिने गरी आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनी दिए । 

उनले भने, “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि कुनै प्रकारको दवाव आवश्यक परे लाखौं मान्छेको धक्का दिन हामी तयार छौं ।” जग्गा अधिग्रहण गर्ने विषयमा पटकपटक स्थानीयलाई दुःख दिनु भन्दा आवश्यकताको आधारमा उचित मापदण्ड दिएर मात्र उनीहरुलाई व्यवस्थापन गर्नु पर्ने त्रिपाठीको भनाइ छ । कार्यक्रम संचालन वासुदेव मिश्रले गरेका थिए ।