विचार/व्यक्तित्व

चैत २, २०७७ सोमबार

 -दलबहादुर गुरुङ

शिवरात्रिको अघिल्लो साँझ कुलचन्द्र पुरीले संसार त्यागेको खबर स्थानीय साथी कृष्ण पाण्डेयबाट पाएँ । मृत्यु हुनु एकदिन अघि एम्स् कलेज,बुटवलका क्याम्पस प्रमुख दीपक सर,कुलचन्द्र पुरीका ज्वाइँ विष्णु पाण्डेय र म बैतरणी तारेको केही समयपछि उनकै घर तिनाउको झुम्सा बजार पुगेका थियौं । कुलचन्द्र सरले सुत्दै हामीहरुलाई टीका लगाइ दिए । चिन्न त चिने उनले तर बोल्न भने सकेनन् । उनका भाइ रोहितले घरि उठाउने र घर सुताउने गरी रहेका थिए । कुलचन्द्र दाइको अनुहार चिन्नै गाह्रो थियो । शरीर गलेको थियो ।

नाटकको निर्देशन : कुलचन्द्र सरको जन्मघर पाल्पा मदन पोखरा हो । शिक्षक सेवाको सिलसिलामा उनी दोभानतिर आएपछि यतै स्थायी रुपमा बस्न थाले । दोभानका विभिन्न विद्यालयहरुमा शिक्षक भए । उनी शिक्षकमात्र थिएनन् । नाम चलेका कलाकार समेत थिए । विद्यालयको वार्षिकोत्सवमा हुने सांस्कृतिक कार्यक्रमहरुमा कुलचन्द्र सर,हुकुम सर र बालकृष्ण सरहरु नाच्ने,लाम्पुछ्रे गीत गाउने र प्रहसन एवम् नाटकमा निर्देशन तथा भूमिका निर्वाह गर्थे ।

एउटा वार्षिकोत्सवमा कुलचन्द्र सरले दोभान माविमा मैले लेखेको नाटकमा निर्देशक गरेका थिए । त्यसमा उनी मास्टरको भूमिका समेत थिए । विद्यार्थीलाई टाउकोमा लठ्ठीले हान्ने सामान्य अभिनय थियो तर दाइले टुटुल्को उठ्ने गरी लौरोले हानेको उनकै सम्धी पर्ने टीकारामले आजपनि बिर्सिएका छैनन् । यो सम्झिदा कुलचन्द्र दाइको अनुहार आजपनि उस्तै मस्तिष्कमा नाचिरहेको छ ।

कुलचन्द्र सर हेडमास्टर हुँदाः मैले दोभान मावि पढाउँदा कुलचन्द्र दाइले तिलोत्तमा माविमा पढाउँथे । पछि उनी हेडमास्टर भए । धेरैले उनको हेडमास्टरी काललाई स्वर्णकालको रुपमा परिभाषित गरेको पनि सुनिन्छ । २०६० देखि २०६३ सालसम्म म उनकै घर झुम्सामा क्लिनिक गरेर बसेको थिएँ । दाइका चार छोरी र एउटा छोरा थिए । नैना मेडमले सरलाई साथ दिएकी थिइन् । मेडमले किराना पसल र सरले हेडमास्टरी गर्दै जीवनको यात्रा अघि बढाइ रहेका थिए ।

सखारै स्कूल पुग्ने र राति घर फर्किने उनको दैनिकी थियो । अति नै मिहिनेती हेडमास्टर कुलचन्द्र दाइले आफ्नो घर व्यवहारभन्दा पनि स्कूलको व्यवस्थापनमा समय धेरै लगाउँथे । स्कूल भनेपछि हुरुक्क हुने उनलाई शैक्षिक उन्नयनका निम्ति चिन्ता र चासो थियो । उनकै पालामा तिलोत्तमा माविले तिलोत्तमा नामक मुखपत्र पहिलो पटक प्रकाशन गरेको थियो । विद्यालयको शैक्षिकस्तर उकासिएको थियो । शैक्षिक मापदण्डमा विद्यालय उकालो लागेको थियो । प्राविसम्म स्थायी स्वीकृति प्राप्त विद्यालयले माध्यमिक तहसम्मको अध्यापन गराउँदै आएको थियो । नीजि स्रोतका शिक्षकहरुलाई धान्नु पर्ने बाध्यकारी अवस्थाले उनको थाप्लोमा बोझ बनाएको थियो।

तैपनि उनी खुसी थिए । आवश्यकता अनुसार मज्जाले हाँस्थे । सबैसँग सहकार्य,समन्वय र सहयात्रा गर्ने उनको गतिलो व्यवहारले नै विद्यालय र विद्यार्थीले शैक्षिक फड्को मारेका थिए । कुलचन्द्र पुरी र तिलोत्तमा मावि पर्यावाची जस्तै थिए । गरे हुँदो रहेछ भन्ने सन्देश कुलचन्द्र दाइले दिएकै हुन् । कुलचन्द्र दाइको पठन सीप तगडा थियो । उनका विषयमा विद्यार्थी सतप्रतिशत् उत्तीर्ण भएका परिणामहरु छन् । कैयौंपटक उनी पुरस्कृत समेत भएका छन् । दक्ष,योग्य र तालिम प्राप्त उनी नमूना शिक्षक थिए ।

बाल संरक्षण तथा सम्वद्र्धनमा हामीसँगैः लोकतन्त्र प्राप्तिपछि अर्थात् २०६३ पछि हामीहरु गाउँ बाल संरक्षण तथा सम्वद्र्धनको अभियानमा निरन्तर लागि रहेका थियौं । उनी बाल संरक्षण उपसमितिका अध्यक्ष र म सचिव थिएँ । बाल हक,अधिकार,उनीहरुका रहर चाहना,उनीहरुका विविध क्षमताहरुका बारेमा खोज,अध्ययन एवम् अनुसन्धान गर्ने काममा हामीहरु निरन्तर रुपमा लागिरहेका थियांैं । बालप्रतिभाहरुलाई पहिचान गर्ने र उनीहरुका प्रतिभालाई सबैका बीच पुराउने खालका कार्यक्रमहरुको आयोजना गर्दै आएका थियौं ।

बालविवाह नियन्त्रण,सचेतीकरण र रोकथामका उपायहरुका सन्दर्भमा व्यापक कार्यक्रमहरु स्कूलहरुमा गरेको आज जस्तै लाग्छ । प्रहसन, नाटकहरु प्रदर्शन गरेका थियौं । हामीले हाम्रा बालबालिकाहरुलाई नाटकमा अभिनय गराएका थियौं । सडक नाटक देखाउन बुटवल बजार पनि पुगेका थियौं । हामीले बालबालिकालाई केन्द्रबिन्दू मानेर कार्यक्रमहरुको आयोजना गरेका थियौं । राजेन्द्र लक्ष्मी दिदी,मेहरसिंह,हरिबहादुर सारु,विष्णु जीसी,मीना आचार्यहरुसँगै हातेमालो गरेको कहाँ बिर्सिन सकिन्छ र ? ती सबै कार्यक्रमहरुको नेतृत्व कुलचन्द्र दाइले गर्दा हामीहरु सहयोगी थियौं ।

दाइभाइ जस्तै हामी दुई : लोकतन्त्र आइसकेपछि म बुटवलतिर सरें । त्यतिबेला कुलचन्द्र दाजुका परिवारसँग बिदा हुनु पर्दा पीडा भएको थियो । रगतका नाताले भन्दापनि सामाजिक कर्तव्यका नाताले हामी दाजुभाइ जस्तै थियौं । समय समयमा हामीहरुबीच भेट भइरहन्थ्यो । कुराकानी चियापानी भइरहन्थ्यो । कुलचन्द्र दाइ र मैले पछिल्लो समयमा चुरे सम्बन्धी तयार पारिएको नाटकमा काम गरेका थियौं । तत्कालीन दोभान गाविसको पर्यटन प्रवद्र्धनमा हामी सक्रिय थियौं । स्याङ्जाको सिरुबारी घुम्न गएको हिजो जस्तै लाग्छ । रमाईला गफ गरिन्थ्यो । घुम्न रुचाउने र अभिनयमा उत्तिकै चासो भएको दाइले क्यारिकेचर समेत मज्जाको गर्थे ।

उनकै घरमा मैले क्लिनिक थापेको थिएँ । प्राय: भेट हुँदा शैक्षिक कुरा हुन्थ्यो । म आफू पनि शिक्षक भएको हुँदा जानेको आइडिया दिने गर्थे । कहिलेकाँही दाइ छटपटिन्थे कारण उनको पित्तथैलीमा पथ्थरी परेको थियो । बेलाबेला त्यो पथ्थरीले दु:ख दिन्थ्यो । मैले पटक पटक त्यो पथ्थरीको अप्रेसन गर्न अनुरोध गर्थे तर दाइले घरि स्कूलमा समय नमिलेको,फुर्सद नभएको र कहिलेकाँही रकमको समस्या देखाउने गर्थे । ती सबै कुरा तपसीलका कुरा थिए । खास कुरा त उनलाई अप्रेसन गर्न डर लागेको हुनु पर्छ भन्ने मेरो अनुमान थियो ।

मैले धेरै पटक दाइलाई यो समस्याले जटिलता ल्याउँछ । दुखाई कम गर्ने औषधिले क्षणिक आराम गराए पनि कालान्तरमा यसले समस्या थप्ने कुरा गरिरहँदा उनले मेरा यस्ता कुरालाई कानमा बतास लगाइ दिने गर्थे । जोक्समा उडाइदिन्थे घरिघरि त । आज त्यही समस्याले उनलाई हामीबाट चुँडेर लग्यो । आज दाइ हामीसँग छैनन् । पीडाबोध भइरहेको छ । शिवरात्रिको अघिल्लो रात उनको पार्थिव शरीर हेर्न पुगें । मलामी जान समेत भ्याइन् । कारण शिवरात्रि नै थियो । सिद्धबाबा मन्दिरको जिम्मेवारीको कारण साथीहरुसँग जान नपाउने अनुरोध गरेको थिएँ ।

समितिका साथीहरुसँग छलफल गरेर आवश्यक केही साथीहरु मन्दिरतिर लाग्ने र केही साथीहरु राम्दीघाटतिर जाने अघिल्लो रात नै छलफल गरेका थियौं । मास्टर कवितामा मुख्य भूमिका गराउने मनीष र मेरो रहर यस्तै यस्तै भो । जीवनभरिको घिड्किसो हुने भो । कुलचन्द्र दाइ ! जीवन सबैका यस्तै हुन् । एकदिन अवश्य तपाइँकै बाटो लाग्नै पर्छ । बाँचुञ्जेल तेरो र मेरो हो । तपाइँप्रति श्रद्धासुमन र परिवारजनप्रति समवेदना प्रकट गर्दछु ।