समाचार

चैत ४, २०७७ बुधबार

पोखरा । पोखरामा संगीत संघर्ष गरिरहेका सुनिल गायकको नयाँ गीत “कहिले भईन” को म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार पोखरामा एक कार्यक्रमका बिच भिडियो सार्वजनिक गरिएको हो । प्रेम कथामा आधारित गीतको म्युजिक भिडियोमा रोहन असिफ र जानकी थापाको अभिनय छ ।  

सारङ्गी म्युजिक स्टुडियोको प्रस्तुति र सुनिलकै शब्द संगीतमा बनेको म्युजिक भिडियोको छायाँकन पोखराको काहुँडाँडा र लेकसाइडमा गरिएको हो । म्युजिक भिडियोका निर्देशक नेत्र गुरुङ हुन् । प्रेम कथामा आधारित म्युजिक भिडियोमा रोहनलाई एक संगीतकर्मीको भूमिकामा प्रस्तुत गरिएको छ । जानकीले भने रोहनकी प्रेमिकाको भूमिकाको रुपमा रहेकी छन् ।

संगीतमा उदाउँदै गरेका रोहनलाई एउटा म्युजिक कम्पनीबाट अनुबन्धित भएको खबर आउँछ । त्यही खुशी लिएर रोहन जानकीलाई भेट्न पुग्छन् । जहाँबाट म्युजिक भिडियोलाई उठान गरिएको छ । म्युजिक भिडियोको कन्सेप्ट समेत नेत्रकै हो ।

रोहनले जानकीलाई समय उपलब्ध गराउन नसकेर टुटेको प्रेमिल कथालाई म्युजिक भिडियोमा देखाउन खोजिएको हुन्छ । गीतको अडियोलाई राम्रो बनाउने काम साहिल गायकले गरेका छन् । पोखराको नमस्ते रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको म्युजिक भिडियोमा सहायक निर्देशनको भूमिकामा सविन गायक छन् ।

पब्लीसिटी डिजाइनरसँगै म्युजिक भिडियोका कलाकारसमेत रहेका सविनले छायाँकनको पाटोमा समेत नेत्रलाई सघाएका छन् । भिडियोमा फोटोग्राफरको रुपमा परिचित पुकार पुनको अभिनय पनि छ ।

म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा गायक तथा संगीतकार विनोद बानियाँले पोखराबाट पछिल्लो समयमा आशा लाग्दा गीतहरु सार्वजनिक भएको बताए । 

“केही समय अगाडि पोखरामा टीम अभावका कारण काम गर्न मुस्किल पथ्र्यो, अहिले पनि उक्त समस्या कताकता भेटिन्छ । तर पहिलेको तुलनामा भन्दा कम छ । सीमित बजेटमा पनि पोखराबाट राम्रो म्युजिक भिडियो निर्माण गर्न सकिन्छ भन्ने उदाहरणका पात्र निर्देशक नेत्र गुरुङ हुनुहुन्छ”, उनले भने ।

निर्देशक नेत्र गुरुङले म्युजिक भिडियोलाई छायाँकन गर्न दुई दिन समय लगाएको बताए । पोखराबाट पनि राम्रो म्युजिक भिडियो छायाँकन गर्न सकिन्छ भन्ने उद्देश्य स्वरुप आफू निरन्तर लागिपरेको उनले बताए । म्युजिक भिडियोको दुनियाँमा पोखरा विस्तारै उठ्दै गएको तर्क उनले गरे ।

मोडल रोहन अशिफले काठमाडौंले पोखरालाई सँधै हेपाहा प्रवृत्ति देखाउने गरेको बताए । उनले अब पोखरामा बसेर संगीतकर्म गरिरहेकाहरु एकजुट हुने बेला आएको बताए । म्युजिक भिडियोमा आफूले अभिनय गर्न पाउँदा खुशी लागेको र आफूले सक्दो राम्रो गर्ने प्रयत्न गरेको स्पष्ट पारे । 

सुनिल गायकले आगामी समयमा पनि गीतसंगीत पस्कँदै जाने प्रतिबद्धता जनाए । यसअघि “तिम्रो अभाव, सम्बन्ध, के खाई देको छु र, कति माया” जस्ता गीत सार्वजनिक गरेका सुनिल छिट्टै माया तिम्रै हुनी, मुटु भरि माया गीत लिएर आउँदैछन् । जानकी थापाले भने यसअघि म जुन बनि दिन्छु र तिमीलाई पर्खी बसे गीतमा अभिनय गरेकी थिइन् । 

भिडियोमा पनि हेरौं