फिचर

चैत १३, २०७७ शुक्रबार

पोखरा । पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको शुक्रबार राति निधन भएको हो ।

मष्तिषघात भई अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए ।

मस्तिष्कघातका कारण उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।  स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि जोशीको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

उनको निधनसँगै कांग्रेसका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिएका छन् । सभापति शेरबहादुर देउवाले उनको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् । वि.सं. २०२० साल पुस २४ गते जन्मिएका स्वर्गीय जोशीका श्रीमती र एक छोरी छन् ।

गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट जोशी वामगठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसँग पराजित भएका थिए । पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भने जोशी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

२०३६ सालको विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाएका जोशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बनेका थिए ।

२०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसकातर्फबाट काठमाडौं महानगरपालिकाकाे उप मेयरमा निर्वाचित भएका जाेशी प्रचण्ड नेतृत्वको माओवादी-कांग्रेस गठबन्धन सरकारमा उद्योग मन्त्री बनेका थिए । स्वर्गीय जोशी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत थिए ।