समाचार

चैत २१, २०७७ शनिबार

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले, धादिङ-पोखरा सम्पर्क मञ्चले नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना आदान-प्रदान एवं भित्तेपात्रो विमोचन कार्यक्रम आयोजना गर्यो । नेकपा एमालेका केन्द्रीय सदस्य एवं बागमती प्रदेश कमिटीका सचिव खेमप्रसाद लोहनीले भित्तेपात्रो विमोचन गरे । उक्त अवसरमा प्रतिनिधिसभा सांसदसमेत रहेका लोहनीले देशको विकास र समृद्धिमा एमाले सरकारले धेरै राम्रो काम गरेको बताए । 

उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सबै समस्यालाई चिर्दै अघि बढिरहेको भन्दै प्रधानमन्त्रीलाई रोक्न कसैले नसक्ने ठोकूवा गरे । नेता लोहनीले पार्टीमा अनेकन समस्या भएको भन्दै समस्यालाई चिर्दै अघि बढ्नुपर्ने र एमालेलाई देशकै शक्तिशाली पार्टीको रुपमा उभ्याउनुपर्नेमा जोड दिए । 

एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले पार्टीमा वर्षौं नेतृत्व गरेकाहरुले प्रधानमन्त्री ओली एक कार्यकाल अध्यक्ष बन्दा कोकोहोलो मच्चाउनु विडम्वना भएको बताए । उनले पार्टीमा अनेक वखेडा झिक्नेहरुमा वुर्जूवा र सामन्तवादी चिन्तन हावी भएको भन्दै त्यसलाई चिरेर अघि बढ्नुनै अहिलेको उत्तम विकल्प भएको बताए । 

मञ्चका अध्यक्ष वीरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले धादिङका सचिवालय सदस्य रामहरि अधिकारी, सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेम सिलवाल, नेकपा माओवादी केन्द्र, धादिङ-पोखरा जनसम्पर्क मञ्चका सहसंयोजक ईश्वर श्रेष्ठ, धादिङ-पोखरा सम्पर्क समाजका अध्यक्ष गोकर्ण लम्साल, मञ्चका निवर्तमान अध्यक्ष वेनी पाठक, संस्थापक अध्यक्ष कृष्णबहादुर लम्साल, उपाध्यक्ष अर्जुन खतिवडा, क्यालेण्डर प्रकाशन समिति संयोजक शम्भु अधिकारी र सचिव योगप्रसाद सापकोटा नवराजले बोलेका थिए ।

उक्त अवसरमा धादिङ-पोखरा सम्पर्क समाजका नवनिर्वाचित अध्यक्ष गोकर्ण लम्सालसहित पदाधिकारी एवं सदस्यहरुलाई सम्मान एवं बधाई ज्ञापन गरिएको थियो । साथै अनेरास्ववियूको केन्द्रीय सदस्यमा चयन भएकोमा अञ्जली लम्साललाई पनि सम्मान एवं बधाई ज्ञापन गरिएको थियो । 

 मञ्चको क्यालेण्डर प्रकाशन समितिमा शम्भु अधिकारी संयाजक, सरोज कुँवर र जगदीश खनाल सदस्य रहेका छन् ।

कार्यक्रमका केही तस्वीरहरु