समाचार

चैत २२, २०७७ आइतबार

पोखरा । पोखरामा मेयर साइकल दौड प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिकाले नयाँ वर्ष २०७८ को अवसरमा वैशाख १ गते प्रतियोगिता आयोजना गरेको हो । वातावरण जोगाऔं, स्वस्थ रहौं भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरिएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए ।

पोखरा महानगरपालिकाको कार्यालय न्यूरोडबाट साइकल दौड शुरु भइ पाँच किलोमिटर दूरी पार गरी लेकसाइडस्थित हलनचोकमा पुगेर समापन हुनेछ । पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउने तथा स्मार्ट सिटी पूर्वाधार निर्माण गर्दै लैजाने महानगरपालिकाको योजनालाई प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने मेयर जिसीको विश्वास छ ।

उनले साइकलको प्रवर्द्धनबाट वातावरण संरक्षणमा योगदान पुग्नुका साथै पर्यटन प्रवर्द्धन पनि हुने भएकाले प्रतियोगिता आयोजना गरिएको बताए । विकास र समृद्धि गर्दै वातावरण र पर्यावरण जोगाउन नसकिए विनास अवश्यंभावी रहेको भन्दै मेयर जिसीले यसलाई रोक्न साइकल प्रयोगलाई प्रेरित गर्दै लैजाने नीति पोखरा महानगरपालिकाले लिएको जानकारी दिए । साथै उनले वातावरण जोगाउन सबै जानगरिक उत्तरदायी बन्नुपर्नेमा जोड दिए ।

मयेर जिसीले महानगरपालिकाले तालदेखि तालसम्म ८४ किमि साइकल ट्र्याकको आवश्यक पूर्वाधार निर्माण गर्न लागेको र यो योजना अन्तर्गतका धेरै काम सम्पन्न भइसकेको बताए । 

प्रतियोगिता सम्पन्न गर्न पोखरा १३ का वडाध्यक्ष दर्शन लामालाई संयोजक तोकिएको छ । प्रतियोगिताका लागि तयारी तीव्र बनाइएको र अन्तिम चरणमा पुगेको संयोजक एवं वडाध्यक्ष लामाले जानकारी दिए । प्रतियोगिताका लागि कास्की जिल्ला साइक्लिङ संघ, साइकल सिटी पोखरा र राष्टिय तथा अन्तर्राष्टिय खेलाडी संघले सहकार्य गरेको उनले बताए । प्रतियोगिताका लागि देशभरका ७५३ वटै स्थानीय तहका प्रमुखलाई पत्राचार गरिएको र कम्तिमा ३०० प्रमुखहरु सहभागी हुने अपेक्षा गरिएको छ । 

राष्ट्रिय मेयर सम्मेलन पनि

स्थानीय तहहरुमा वातावरण मैत्री विकास प्रवर्द्धन गर्न छोटो दूरीको सवारी साधनको रुपमा साइकललाई प्रवर्द्धन बारे छलफल गर्न राष्ट्रिय मेयर सम्मेलन समेत राखिएको छ । समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार बनाउन आगामी दिनमा के कस्ता काम कसरी गर्न सकिन्छ भन्ने विषयमा सम्मेलनमा छलफल हुने पोखरा महानगरपालिकाका मेयर जिसीले जानकारी दिए । 

यसैगरी संघ तथा प्रदेशबाट के कस्ता सहयोग आवश्कता पर्दछ र अन्तरपालिका सम्बन्ध कसरी मजबूत बनाउन सकिन्छ भन्ने विषयमा छलफल, अनुभव आदान प्रदान र साझा दृष्टिकोण तयार गरिने उनले बताए ।