देश

चैत २४, २०७७ मंगलबार

काठमाडौँ। काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि उस्तै छ । वर्षा भएर प्रदूषण हटेको केही दिनमै सोमबारदेखि फेरि उपत्यकासहितका शहरहरूमा वायु प्रदूषण बढेको हो ।

वायु प्रदूषण नहट्दा काठमाडौँ उपत्यकासहित देशका विभिन्न शहरहरूमा तुवाँलो लागेको छ । घाम नलाग्दा र हावाको बेग नचल्दा प्रदूषित धुलोका कण तथा डढेलोले ल्याएको धुँवा उपत्यकाको वायु मण्डलमा थुप्रिएको वरिष्ठ मौसम विद् राज प्रधानाङ्ग बताउँछन् ।

देशका ७ सयभन्दा बढी स्थानमा लागेको डढेलो नियन्त्रणमा नआउँदा पनि समस्या देखिएको वातावरण विभागका अधिकारीहरू बताउँछन् । वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डट कमले मंगलबार बिहान ७ बजेसम्मको अपडेटमा काठमाडौँलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा राखेको छ । काठमाडौँपछि दोस्रो नम्बरमा बंगलादेशको ढाका छ ।

एआईक्यूका अनुसार काठमाडौँको वायु प्रदूषण ९एयर क्वालिटी इन्डेक्स-एक्यूआई० ३१० पुगेको छ । सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । एक्यूआई ३ सय भन्दा माथि पुग्नुलाई स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

वातावरण विभागको मापनमा बिहान ७ बजेको मापनमा भरतपुरको सबैभन्दा खराब ३२४, भक्तपुरको एआईक्यू २६९ र धादिङको २७५ छ । विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीका अनुसार सोमबारको तुलनामा प्रदूषण केही घटेको छ । तर आँखा पोल्नेलगायतका समस्या यथावत रहेकाले सकेसम्म घरभित्रै रहन उनले आह्वान गरेका छन् ।

 यो अवस्थामा सुधार नआएमा सवारी साधनमा जोरबिजोर, उद्योगधन्दा र विद्यालय बन्द गर्न सिफारिस गरिने उनले बताए । सोमबारदेखिको तुँवालोले काठमाडौँको भिजिबिलिटी पनि कम भएको छ ।

भिजिबिलिटी आज पनि १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भिजिबिलिटी कम हुँदा आन्तरिक हवाइ उडानसमेत प्रभावित हुँदै आएका छन् ।